पोखरामा अन्तर्राष्ट्रिय बलून महोत्सव हुँदै
आउँदो साता पोखरामा बीवाईडी इन्टरन्याशनल बलून महोत्सव हुने भएको छ।
पोखरा पर्यटन काउन्सिलसँगको सहआयोजनामा बलून नेपाल प्रालिको आयोजनामा पोखराको पामे क्षेत्रमा पुस ९ गतेदेखि नौदिने महोत्सव हुन लागेको हो। महोत्सवमा दुई दर्जन बलून पोखराको आकाशमा उड्नेछन्।
अन्तर्राष्ट्रिय बलून महोत्सवमा नेपालसँगै अमेरिका, स्पेन, लिथुआनिया, थाइल्यान्ड, भियतनाम लगायत विभिन्न देशको प्रतिनिधित्व हुने आयोजक सबिन महर्जनले बताए। ४० मिनेटको उडानमा बेलूनबाट हिमशृंखलाको अवलोकन गर्न सकिनेछ।
महोत्सव अवधिभर पोखरेली सांगीतिक ब्यान्डसँगै दीपक बज्राचार्य एन्ड टीम, राजु लामा एन्ड मंगोलियन हर्ट, एलिना चौहान, कुमा सागर एन्ड ख्वपः ब्यान्डको सांगीतिक प्रस्तुति रहनेछ।
नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली संघ (एनआरएनए), पोखरा महानगरपालिका र पोखरा पर्यटन बोर्डको सहयोगमा क्यारिज्म्याटिक डिजिटल सोलुशनले महोत्सवको व्यवस्थापन गर्नेछ।
२०७२ सालमा स्थापना भएको बलून नेपालले २०७४ सालदेखि पोखरामा व्यावसायिक बलून उडान सञ्चालन गर्दै आएको छ।