ढल्न लागेको जाजरकोटे इतिहास
कुनै वेलाको शक्तिशाली राज्य रहेको जाजरकोटको प्राचीन दरबार, त्यससँग जोडिएका कला–संस्कृति, पुरातात्त्विक सामग्री र धार्मिक स्थल मासिने सँघारमा छन्।
कुनै वेला जाजरकोट छुट्टै राज्य थियो। सिन्जा राज्यसँग छुट्टिएर ६२६ वर्षअघि अर्थात् विसं १४५५ मा जगतीसिंह मेदिनी वर्माले जगतीपुर (हाल भेरी नगरपालिका–११)लाई राजधानी बनाई जाजरकोट राज्य बसालेका थिए। उनका पनाति बादशाहले विसं १७५० मा राजधानी खलंगा सारे। विसं १८५२ मा राजा इन्द्रनारायण शाहले त्यहीं पाँच नाल सहितको दरबार बनाए जुन अहिले जाजरकोट दरबार नामले प्रसिद्ध छ।

जाजरकोट दरबारमा बसेर सात राजाले शासन गरे। यही दरबारबाट राणा प्रधानमन्त्री जंगबहादुरका दुई छोरी जगती र दीर्घकुमारीको विसं १९२६ सालमा जाजरकोटका २०औं राजा नरेन्द्रविक्रम शाहसँग विवाह भयो। यो दरबारमा ऐतिहासिक काष्ठकला देख्न सकिन्छ। २५० वर्षभन्दा पुराना इँटा, झ्यालढोका, शयन–शृंगार कक्षदेखि होमहोमादि गर्ने स्थान अहिले पनि छन्।
यो त्यही दरबार हो, जहाँबाट पृथ्वीनारायण शाहको राज्यविस्तार अभियानमा सघाउन जाजरकोटे सेना खटिन्थ्यो। जाजरकोटे राजा हरि शाह र पृथ्वीनारायणबीच विसं १८११ मा भारतको मणिकर्णिका घाटमा एकअर्कालाई सघाउने धर्मसन्धि भएको थियो। समलि वंशावली अनुसार ब्रिटिश सरकारले जंगबहादुरलाई बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता दिंदा त्यसलाई कार्यान्वयन गर्न जुद्धोदल शाहको कमान्डमा ५०० सैनिक यही दरबारबाट गएका थिए। यस्तो ऐतिहासिक विरासत र मौलिकता बोकेको दरबारको अब भने घिटिघिटी मात्र बाँकी छ।
स्थानीयका दलिनमा सिउरिइएका ऐतिहासिक हातहतियार। उनीहरूका अनुसार यी हतियार जाजरकोट राज्यका तर्फबाट युद्धमा प्रयोग भएका थिए।
गत वर्षको भूकम्पपछि जाजरकोट र रुकुम पश्चिमका पुराना संरचना टेकाको भरमा छन्। तर जाजरकोट दरबार यो भूकम्पअघिदेखि नै जीर्ण हालतमा थियो। पश्चिम नेपालका ऐतिहासिक बाइसे राज्य अन्तर्गतको एउटा शक्तिशाली राज्य सञ्चालन भएको दरबार नष्ट हुँदै जाँदा सरोकारवाला पक्ष मूकदर्शक जस्तै बनिरहेका छन्। जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले केही वर्षयता जीर्णोद्धार र व्यवस्थापनका लागि पहल गरिरहे पनि प्रभावकारी छैन। “तीनै तहका सरकार, पुरातत्त्व विभाग, सांसद सबैलाई गुहार्दा पनि त्रिपाल बाहेक केही पाइएन। त्यही त्रिपालले ढाकेर राख्ने काम मात्र भइरहेको छ,” प्रतिष्ठानका अध्यक्ष जनक केसी भन्छन्।
केसीले २०८० सालको भूकम्पअघि नै दरबार जीर्णाेद्धार गर्न, संग्रहालय बनाई कर्णाली प्रदेशको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सुझाउँदै आएका थिए। उनी यो प्रस्ताव बोकेर जिल्ला समन्वय समिति, स्थानीय तहदेखि प्रदेश मन्त्रालयका ढोकाढोका चहारे। मन्त्रीहरूका घरघरै पुगे। हुँदैन कसैले भनेनन्, तर काम पनि गरिदिएनन्। “यही अवस्था रहे दरबार र त्यहाँ रहेका वस्तु मासिंदै जान्छन्, कलात्मकता ढल्छ। दरबारसँग जोडिएका धार्मिक आस्था र चाडबाड पनि मासिन्छन्,” उनी भन्छन्।
ऐतिहासिक वस्तु गुम्ने जोखिम
भेरी नगरपालिका-४ की ८४ वर्षीया सीता भण्डारीको घरमा उति वेला राजदरबार र लडाइँमा प्रयोग भएका तरबार, पाला, पेटारो, कन्तुरो लगायत सामग्री छन्। राजाको सवारी व्यवस्थापनका लागि बनाइएका पालका डन्डी, जगतीपुरदेखि जाजरकोटसम्म खड्ग देउता सार्दा प्रयोग भएको पाला, राजपरिवारका लुगा-पैसा राख्ने सरसामान पनि सुरक्षित राखेकी छन्।
स्थानीय सीता भण्डारीको घरमा राखिएका ऐतिहासिक सामग्री।
उनका बुबा टीकाप्रसाद भण्डारी दरबारका डिट्ठा थिए। जाजरकोटका अन्तिम राजा प्रकाशविक्रम शाहको पालामा २०१९ सालसम्म काम गरेका उनी २०३६ सालमा बिते। त्यसपछि यत्तिका वर्षसम्म दरबारिया सामग्री जोगाएकी सीतालाई आफ्नो सेखापछि पनि ती जोगिइरहून् भन्ने लाग्छ। “दरबारमा दिऊँ भने जतन हुने स्थिति छैन। अरूलाई दिऊँ भने मासिदेलान्। दरबार बनेर राम्रो रेखदेख हुने भए यी सामग्री दिने थिएँ,” उनी भन्छिन्।
अर्को एक स्थानीय परिवारसँग तत्कालीन जाजरकोट राज्यमा मात्र चल्ने गरी प्रचलनमा ल्याइएको पुरानो तामाको सिक्का भेटिएको छ। एक रुपैयाँ दरको यो सिक्का राजा नरेन्द्रविक्रम शाहका पालामा प्रचलनमा ल्याइएको हुन सक्ने प्रतिष्ठानका अध्यक्ष केसी बताउँछन्। उनका अनुसार यस्ता धेरै ऐतिहासिक वस्तु, राजाका वंशावली र लिखत तत्कालीन राजपरिवारका आफन्तसँग छन्।
स्थानीयको घरमा भेटिएको तत्कालीन जाजरकोट राज्यमा प्रचलित सिक्का।
दरबारको संरक्षण र सुरक्षाको प्रत्याभूति भए ती वस्तु उपलब्ध गराउने उनीहरूले बताउँदै आएका छन्। तर दरबारको संरक्षण र व्यवस्थापन धेरै खर्चिलो हुने भन्दै सरोकारवाला निकाय पन्छिरहेका छन्। कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको योजना तथा अनुगमन महाशाखाका नीरज श्रेष्ठ दरबारको व्यवस्थापनमा करोडौं खर्च हुने भएकाले यस वर्ष पनि बजेट नपरेको बताउँछन्। “प्रदेशले प्राथमिकतामा राखे बनाउनै नसकिने भने होइन,” उनी भन्छन्।
संघीय सरकारले १० वर्षअघि सूचीकृत गरेका मुलुकका १०० वटा प्रमुख पर्यटकीय गन्तव्यमा जाजरकोट दरबार पनि पर्छ। काठमाडौंस्थित पुरातत्त्व विभागले पनि यसलाई पुरातात्त्विक महत्त्वको सम्पदामा गणना गरी कुनै पनि उत्खनन वा तोडमोड नगर्न निर्देशन गरेको छ। विभागले यसको मर्मतसम्भारमा बजेट अभावलाई कारण देखाउँदै आएको छ।
इतिहास जोगाउने प्रयास
२६ वर्षपछि गत बडादशैंमा जाजरकोट दरबारले पुरानो परम्परा फेरि शुरू गरेको छ। स्थानीयले तत्कालीन जाजरकोट राज्यको अघिल्लो राजधानी जगतीपुरदेखि पछिल्लो राजधानी खलंगासम्म खड्ग देउता सहित फूलपाती भित्र्याए। यसको नेतृत्व प्रतिष्ठानले गर्यो। दशैंको सप्तमीमा खड्ग देउता भित्र्याउने यहाँको पुरानो चलन हो। स्थानीय श्रुति परम्परा अनुसार बादशाहले राजधानी जगतीपुरबाट खलंगा सारेदेखि नै त्यहाँबाट फूलपाती ल्याउने प्रचलन बसाइएको हो जुन दशवर्षे सशस्त्र द्वन्द्वकालमा रोकिएको थियो। “यस वर्ष भने परम्परालाई निरन्तरता दियौं। यसले जाजरकोटवासीलाई संस्कृतिसँग जोडिदिएको छ,” केसी भन्छन्।

असोज २४ गते बिहान ६ बजे जाजरकोट दरबारका तर्फबाट खलंगावासी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा कर्मचारीहरूको टोली स्थानीय बाजा र सेना–प्रहरीका ब्यान्ड सहित जगतीपुर पुगी खड्ग देउता ल्याएको थियो। फूलपाती भित्र्याउने साइत बिहान ७ बजेर ११ मिनेटमा दरबारभित्र पूजापाठ, होम आदि गरिएको थियो। तर थोरै हलचलले पनि लड्ने जोखिम रहेकाले दरबारमा आगामी दिन होम गर्न सकिने स्थिति नरहेको स्थानीय बताउँछन्। “अब दरबारभित्र छिर्न सकिंदैन। धेरै भासिइसकेको छ। कति वेला दबिहाल्ला जस्तो ठाउँमा पूजा गर्न सकिंदैन,” सीता भन्छिन्।
के के गर्ने संरक्षण?
जाजरकोट दरबार भनिने मूल भवन सेतो दरबारका नामले चिनिन्छ। छेउमै अर्को भग्नावशेष छ जसलाई रातो दरबार भनिन्थ्यो। यो पनि विसं १८२५ भन्दा अघि नै बनेको हो। अहिले यी दुवै दरबार अन्तिम श्वास फेरिरहे जस्तो स्थितिमा छन्। नेपाली भाषाको उद्गम थलो सिन्जाबाट छुट्टिएर बनेको राज्यको शासन सञ्चालनको केन्द्र भएकाले यो दरबारले अध्ययनका अनेक आयाम आफूभित्र लुकाइरहेको हुन सक्छ।
जाजरकोट राज्यका तर्फबाट युद्धमा प्रयोग भएको तरबार देखाउँदै संरक्षणकर्मी जनक केसी।
स्थानीय बूढापाकाका अनुसार दरबार परिसरमा पहिला रानीहरूले नुहाउने पोखरी थियो जसलाई रानीपोखरी भनिन्थ्यो। त्यो अहिले पुरिएको अवस्थामा छ। पोखरी उत्खनन गरिए पुरातात्त्विक वस्तु भेटिन सक्छन्। जगतीसिंह मेदिनी वर्माले बनाएको वायुघट्ट पनि संरक्षणको पर्खाइमा छ। यो घट्टका केही अवशेष मात्र छन्। भेरी नगरपालिका–११, जगतीपुरको बाहुनगाउँस्थित पीपलको रूखमुनि रहेको वायुघट्ट उति वेलाको विकास र सिर्जनाको नमूना हो। यो घट्टलाई ६००/७०० वर्ष पुरानो ढुंगे पर्खालले घेरिएको छ, जुन सदरमुकाम खलंगादेखि १२ किलोमिटरको दूरीमा छ।
यस्तै, भेरी नगरपालिकामा रहेको, जाजरकोटे राजाहरूसँग सम्बद्ध शिवालय लडिसकेको छ। १८७ वर्षअघि जाजरकोटे राजाले बनाउन लगाएका धर्मशालामा तीन वटा कलात्मक मन्दिर थिए। तिनैमध्येको एउटा क्षतिग्रस्त भएको हो। यी मन्दिरमध्ये शिवेश्वर १८९३ सालमा दीपनारायण शाहले, दपदुर्गेश्वर १९३३ सालमा जंगबहादुर शाहले र महामुक्तेश्वर १९४४ सालमा अमरबहादुर शाहले बनाउन लगाएका हुन्।
जाजरकोट सदरमुकाम खलंगा र पृष्ठभूमिमा सिस्ने हिमाल। तस्वीर स्रोत : जनक केसी
यसरी जाजरकोटमा रहेका ऐतिहासिक कला, सिर्जना र संस्कृति समग्र पश्चिम नेपालको ऐतिहासिक अध्ययनमा महत्त्वपूर्ण टेको बन्न सक्ने देखिन्छ। चौधौं–पन्ध्रौं शताब्दीमा बनेका विकासका संरचनाहरू जोगिंदा नयाँ पुस्ताले पनि तिनको अध्ययन गर्न सक्ने ढोका खुलिरहन्छ। तर संघीय राजधानीमा नभएकैले यी सम्पदा परित्यक्त बनिरहेको संरक्षणकर्मीहरूको बुझाइ छ। “राजधानीमा मन्दिर र मूर्तिमा सानो चोट लाग्दा पनि राष्ट्रिय मुद्दा बन्छ, तर कर्णालीलाई साँच्चैको सुदूर मानिंदो रहेछ,” संरक्षणकर्मी जनक केसी भन्छन्, “किनकि यत्तिका वर्षदेखि यो मुद्दा उठाउँदा पनि कसैले सहयोग गरेको छैन।”