नेपाल र भारतको खेल वर्षाले अनिर्णीत, ‘सुपर-४’ मा बाङ्लादेश र श्रीलंकासँग प्रतिस्पर्धा
एसीसी महिला यू-१९ एशिया कपमा भारतसँगको खेल वर्षाले अनिर्णीत बनेको छ भने नेपालले ‘सुपर-४’ मा बाङ्लादेश र श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भएको छ।
मलेशियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभलमा पहिले ब्याटिङ गरेको नेपालले नौ विकेटको क्षतिमा ९४ रन बनाएको थियो। नेपालका लागि पूजा महतोले २५ र अलिशा यादवले २० रन बनाए। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।
भारतका लागि पूर्णिका सिसोदियाले चार, अनन्दिता किशोर मिथिला बीले एक-एक विकेट लिए।
नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा भारतले राम्रो शुरूआत गरेको थियो। भारतले ३.१ ओभरमा २८ रन बटुल्दा पानी परेको थियो। त्यसपछि खेल हुन सकेन।
समूह ‘ए’ मा एक-एक खेल जितेका नेपाल र भारत ‘सुपर-४’ मा पुगेका हुन्। पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिएको छ। त्यस्तै, समूह ‘बी’ बाट बाङ्लादेश र श्रीलंका ‘सुपर-४’ मा पुगेका छन्।
अब ‘सुपर-४’ मा नेपालले पुस ४ गते बिहान ११ः४५ बजे श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, दोस्रो खेलमा पुस ५ गते बिहान ११ः४५ बजे बाङ्लादेशसँग प्रतिस्पर्धा गर्नेछ।