साँझमा भारतले बिजुली आयात गर्न नदिएपछि औद्योगिक क्षेत्रमा लोडशेडिङ
खोलामा पानीको प्रवाह घटेर विद्युत् उत्पादन घटेसँगै नेपाल विद्युत् प्राधिकरणले साँझमा उद्योगहरूमा लोडशेडिङ गर्ने भएको छ।
देशको सबैभन्दा ठूलो ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट उत्पादन शुरू नभएसम्म बढी विद्युत् माग हुने साँझको समय (पिक आवर)मा औद्योगिक क्षेत्रमा लोडशेडिङ गरिने प्राधिकरणले जनाएको छ।
हिउँद याम शुरू भएसँगै खोला तथा नदीमा पानी घट्दा देशभित्रका नदीप्रवाही जलविद्युत् आयोजनाहरूको उत्पादन क्षमता एकतिहाइमा सीमित बनेको छ। तर पिक समयमा भारतले नेपाललाई बिजुली आयात गर्न रोक लगाएको छ । यसले गर्दा औद्योगिक क्षेत्रको विद्युत् केही मात्रामा कटौती गर्नुपर्ने भएको प्राधिकरणले जनाएको छ।
चिसोका कारण अहिले विद्युत्को माग बढ्ने तर नेपालको विद्युत् प्रणालीमा सबैभन्दा बढी हिस्सा रहेका जलविद्युत् आयोजनाको उत्पादन घटेको छ। हिउँद यामको विद्युत् माग र आपूर्ति व्यवस्थापन गर्न यो समयमा भारतबाट विद्युत् आयात गर्नुपर्दछ। तर भारतले साँझको समयमा नेपालमा विद्युत् आयात गर्न दिएको छैन।
यस वर्ष सञ्चालनमा रहेका जलविद्युत् आयोजनामध्ये माथिल्लो तामाकोशीबाट उत्पादन बन्द हुँदा हिउँद यामको पिक समयको विद्युत् व्यवस्थापनमा समस्या भइरहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन्। कार्यकारी निर्देशक घिसिङले पिक समयमा औद्योगिक बाहेक अन्य ग्राहकका लागि लोडशेडिङ गर्नुपर्ने अवस्था भने नरहेको दाबी गरेका छन्।
असोज ११ र १२ गतेको अविरल वर्षाका कारण माथिल्लो तामाकोशीको संरचनामा क्षति पुगेको थियो। आगामी पुस १० गतेभित्र विद्युत् उत्पादन शुरू गर्ने र त्यसको १५ दिनभित्र पिक समयमा चलाउने गरी माथिल्लो तामाकोशीको मर्मतसम्भार भइरहेको जनाइएको छ। विद्युत् माग कम हुने समयमा पानी जम्मा गरी आयोजनालाई पिक समयका चार घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई आगामी चैत २ गतेसम्म ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइन मार्फत ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी प्रसारण लाइनबाट ५४ मेगावाट गरी दैनिक ६५४ मेगावाटसम्म विद्युत् आयात अनुमति दिएको छ।
तर पिक समय साँझ ५ देखि रातको ९ बजेसम्म भारतले नेपाललाई विद्युत् आयात गर्न दिएको छैन। यसले गर्दा साँझको समयमा बिजुलीको अभाव सिर्जना भएको छ। त्यसपछि ३ चैत २०८१–१६ असार २०८२ (१६ मार्च–३० जून २०२५) सम्म सोलार आवर अर्थात् बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्र आयात गर्न पाउने स्वीकृति दिइएको छ। चैतपछि पनि साँझमा बिजुली अभाव कायमै रहने सम्भावना छ। नेपालमा वर्षा याम शुरू भएपछि मात्रै जलविद्युत् आयोजना पूर्ण क्षमतामा उत्पादन शुरू गर्छन्।
कार्यकारी निर्देशक घिसिङले माथिल्लो तामाकोशी पनि बन्द रहेको र पिक समयका चार घण्टा भारतबाट विद्युत् आयात गर्न समेत नपाउँदा औद्योगिक क्षेत्रमा केही समय लोडशेडिङ गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताएका छन् ।
घिसिङले भने, “पिक समयमा आयात अनुमति पाएका छैनौं, माथिल्लो तामाकोशी सञ्चालनमा रहेको भए दिउँसो बढी आयात गरी तामाकोशीको जलाशयमा पानी जम्मा गरी पिक समयमा चलाउन सकिन्थ्यो, माथिल्लो तामाकोशीको मर्मत तीव्र गतिमा भइरहेको छ, आयोजना नआएसम्म औद्योगिक क्षेत्रमा पिक समयमा विद्युत् केही कटौती गर्नुपर्ने अवस्था छ।”
गत शुक्रबार बिहान साढे बजेतिर ढल्केबर–नवलपुर १३२ केभी प्रसारण लाइनको तार (कन्डक्टर) चुँडिंदा ढल्केबर पश्चिमका बारा र पर्सा औद्योगिक करिडोरमा विद्युत आपूर्ति प्रभावित भएको थियो। उक्त लाइनको मर्मत गरी सोमबार दिउँसोबाट सञ्चालनमा ल्याइएपछि विद्युत् आपूर्ति नियमित भएको छ।