गुणस्तरीय शिक्षाका लागि ललितपुरमा यही साता अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ।
रातो बंगला फाउन्डेशनको आयोजनामा पुस ५ देखि ७ गतेसम्म अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको हो। सोमबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिइएको छ।
पत्रकार सम्मेलनमा बोल्दै शिक्षा मन्त्रालयका उपसचिव रामप्रसाद शर्माले प्रतिस्पर्धी शिक्षा दिएर अन्य विद्यार्थी बाहिरिने क्रम रोक्न सकिने बताए। त्यस्तै, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले कोभिड–१९ पछि कक्षाकोठामा मात्रै नभई बाहिर पनि विद्यार्थीलाई सिकाउनुपर्ने आवश्यकता देखाएको बताए। सम्मेलनले बालबालिकाको सिकाइ कसरी राम्रो पार्न सकिन्छ भन्ने विषयमा मन्थन हुने उनले बताए।
फाउन्डेशनकी अध्यक्ष शान्ता दीक्षितले सम्मेलनमा बदलिंदो परिस्थितिले ल्याएका अवसर र चुनौती, शिक्षालाई कसरी अर्थपूर्ण बनाउने भन्ने विषयमा छलफल हुने बताइन्। “किताबी ज्ञानले मात्रै अहिलेको शिक्षा पूर्ण हुन सक्दैन, जीवनोपयोगी सीप चाहिन्छ,” दीक्षितले भनिन्।
सम्मेलनले शिक्षाको गुणस्तरका विषयमा छलफल गरी विद्यमान कमीकमजोरीको निवारण गर्दै कक्षामा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न, नेपालको भावी शिक्षा प्रणालीमा सकारात्मक मोड दिन र शिक्षा क्षेत्रको मार्गदर्शन तथा गुणस्तर अभिवृद्धिका लागि महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको उनको भनाइ थियो।
अन्तर्राष्ट्रिय सम्मेलनबारे जानकारी दिंदै फाउन्डेशनकी कार्यकारी निर्देशक एलिना सुब्बाले शैक्षिक नेतृत्व र सुशासन, समावेशीकरण र सामाजिक भावनात्मक विकास, जलवायु परिवर्तन र शिक्षा, प्रविधि र नवप्रवर्तन, पूर्व प्राथमिक शिक्षा, पढाइ र सिकाइ गरी ६ वटा विषयवस्तुमा छलफल हुने बताइन्। सम्मेलनमा ४० वटा कार्यशाला, १२ वटा कार्यपत्र प्रस्तुतिसँगै अनुभव आदानप्रदान गरिने भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगै सरकारी तथा गैरसरकारी संघसंस्थासँगको सहकार्यमा सम्मेलन आयोजना हुन लागेको हो। यो अन्तर्राष्ट्रिय सम्मेलनको तेस्रो संस्करण हो। यसअघि सन् २०१३ र २०१९ मा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना भएका थिए।