पुर्खाको खोजीमा नयाँ पुस्ता
नयाँ पुस्ताले पछ्याइरहेको पुर्खा, पहिचान र संस्कृतिको खोजीलाई कला, तस्वीर, भिडिओका माध्यमबाट प्रदर्शनीमा राखिएको छ।
३२ वर्षअघि सन्डुप दोर्जे लामाले घर छोडे। हुम्लाको लाङ्दु गाउँमा विद्यालय थिएन। भेडा पालेर जीविकोपार्जन गर्ने आमाबुबाले आफू जस्तै भेडाको पछि लाग्न नपरोस् भनेर सन्डुपलाई काठमाडौं पढ्न पठाए।
मामासँगै बौद्धमा बसेर अध्ययन गर्न थाले। पढ्दै, हुर्किंदै गर्दा काठमाडौंकै रहनसहनसँग नजीक भए। दशैंतिहारमा घर त फर्किन्थे, तर चार-पाँच वर्षमा।
उनी काठमाडौंवासी बढी, हुम्लावासी कम भए। हरेक पटक गाउँ जाँदा उनलाई सबै चिज फरक लाग्थ्यो। “बाआमा पनि टाढाका हुन् जस्तो लाग्थ्यो,” ३९ वर्षीय सन्डुप सम्झिन्छन्।
गाउँमा आमाबुबा र आफन्तको भाषा, बोलीचाली र हाउभाउ फरक थियो। उनी भने फरर नेपाली बोल्थे। अंग्रेजी पनि आउँथ्यो। तर मातृभाषा आउँदैनथ्यो।
बौद्धमा स्कूल पढ्दै गर्दा साथीहरूले उनलाई तामाङ भन्थे। आफन्तजन भेट्दा लामा भन्थे। स्कूल पढ्दा मात्रै होइन, पछि पनि आफू लामा हुँ कि अरू भन्ने अलमल हुन्थ्यो।
२०७१ सालतिर उनी गाउँ गए। गाउँ र आसपासको क्षेत्रमा यात्रा गरे। “मैले आफू तामाङ नभएर न्हिन्बा समुदायको भएको थाहा पाएँ,” उनी खुशी हुँदै सुनाउँछन्।
परिवारको परम्परा खोज्न थाले। पेशा खोज्न थाले। थातथलो खोज्न थाले। “भेडा पाल्नु, गोठाला लाग्नु, भेडाको ऊन कातेर राडीपाखी बुन्नु पुर्ख्यौली पेशा रहेछ,” उनी भन्छन्।
हुम्ला विकट छ। काठमाडौंबाट सडकमार्ग भएर पुग्न साता दिन नै लाग्छ। हवाईमार्गबाट छिटै पुगिन्छ, तर महँगो छ। एक पटक घर जाँदा ५० हजार रुपैयाँ सकिने गरेको उनी सुनाउँछन्।
भौगोलिक विकटताले काठमाडौं बसेका सन्डुपको गाउँसँगको सम्बन्ध बलियो बन्न सकेन। गाउँका नयाँ पुस्ताको अवस्था त्यस्तै छ। “कोही जुम्ला, कोही नेपालगन्ज त धेरै काठमाडौं बसाइँ सरिसके,” उनी भन्छन्, “गाउँमा महिला र बूढाबूढी मात्रै छन्।”
उनका बुबा लामा हुन्। लामा भएको घरमा पूूजा गरिरहनुपर्छ। त्यसैले घर छाड्न मान्दैनन्। उनी पाहुना जस्तै गाउँ आउजाउ त गर्छन्, तर पहिचानको संकट भएको अनुभूति हुन्छ।
आफ्नो पहिचान खोज्ने क्रममा उनले तस्वीर खिचे। अहिले तिनै तस्वीर काठमाडौंको नेपाल कला परिषद्मा राखिएका छन्। जहाँ उनको पहिचानको खोजीको यात्रा अनुभूत गर्न सकिन्छ।
फोटो सर्कल नेपालको आयोजनामा उनी जस्तै नौ जनाले विकास र समृद्धि तथा त्यसको सांस्कृतिक सम्बन्ध देखाउन तस्वीर, भिडिओ, एनिमेशनको सहारा लिएका छन्। उनीहरूले पुर्खा, संस्कार र पहिचानको खोजी गर्ने प्रयत्न गरेका छन्।
पहिचानको खोजीमै रहेकामध्ये एक हुन्, प्रियंका तुलाचन। काठमाडौंको धुम्बाराहीमा बस्दै आएकी २७ वर्षीया प्रियंकाले थकालीभन्दा साथीहरूले ‘थकाली भान्छाघर’ भनेर जिस्क्याउँथे। उनी भने थकाली रहनसहन र संस्कृतिबारे बेखबर थिइन्।
यसको कारण हो, बसाइँसराइ। मुस्ताङको कुन्जो गाउँबाट बाजे पूर्णप्रसाद तुलाचन म्याग्दीको तातोपानी बसाइँ सरे। उनका बुबा आत्म तुलाचन तातोपानीबाट पोखरा हुँदै काठमाडौं पुगे। उनी काठमाडौंमै हुर्किइन्। “तातोपानीमा जन्मिएँ। बालखैमा पोखरा पुगें, कक्षा ५ सम्म त्यहीं पढें। त्यसपछि काठमाडौंमै लेखपढ भयो,” प्रियंका भन्छिन्, “पोखराबाट पाँच घण्टा लाग्ने तातोपानी पनि कहिले जाने मौका जुरेन।”
काठमाडौं विश्वविद्यालयमा फाइन आर्ट अध्ययन गर्दै गर्दा उनको मनमा प्रश्न आइरह्यो- म को हुँ? त्यसपछि पुर्ख्यौली थलोको खोजीमा हिंडेको उनी बताउँछिन्। २०७८ सालमा हजुरबुबासँगै कुन्जो गाउँ पुगिन्। गत वर्ष दोहोर्याएर गाउँ घुमेकी उनी तातोपानी पनि पुगेर फर्किइन्। “मलाई मेरो संस्कृति र पहिचानबारे थाहा पाउनु थियो। त्यसैले तातोपानी र कुन्जो घुम्न निस्कें,” उनी भन्छिन्।
यस यात्रामा उनले हजुरबुबासँग पुर्खाबारे जिज्ञासा राखिन्। के खान्थे, के लाउँथे, कस्तो संस्कृति थियो, अघिल्लो पुस्ता कहाँबाट आयो? भनी सोधपुछ गरिन्।
यही खोजका क्रममा उनलाई याद आयो, स्कूलमा साथीहरूले भनेको थकाली भान्साघर। त्यसैलाई उनले आफ्नो पहिचान गराउने माध्यम बनाएकी छन्। उनले खिचेका जरिंगोको साग, आलंखु, कोइरा (मूलाको धजारा), झ्वाइँखट्टे, टाप्रा (फापरको साग सुकाएर पिसेको) र कर्कलाको दालका परिकारका तस्वीर र भिडिओ प्रदर्शनीमा राखिएका छन्।
राष्ट्रिय जनगणना, २०७८ अनुसार थकालीको जनसंख्या ११ हजार ७४१ अर्थात् ०.०४ प्रतिशत छ। संख्यामा थोरै भए पनि संस्कृतिको पक्षमा धनी भएको उनी सुनाउँछिन्। “हाम्रो जनसंख्या कम छ, तैपनि सांस्कृतिक रूपमा धनी छौं,” कलाकार प्रियंका भन्छिन्, “भोलिको पुस्तालाई आफ्नो पहिचान हस्तान्तरण गर्न पहिचानको खोजीमा लागेकी हुँ।”
देशका विभिन्न भागबाट काठमाडौं आएका नयाँ पुस्ताका कलाकारले मात्रै होइन, काठमाडौंमै जन्मेहुर्केका युवाले पनि आफूलाई पहिचान र पुर्ख्यौली पेशासँग जोड्न खोजेका छन्। आफ्नो कला र संस्कृतिका माध्यमबाट पहिचान बनाउन खोजेका छन्। यस्तै अर्का कलाकार हुन्, ३० वर्षीय अमन शाही।
काठमाडौं महानगरपालिका-१२, पचलीमार्गस्थित टेकुमा जन्मेहुर्केका अमन नायः समुदायका हुन्। बाल्यकाल पचली भैरवको वरिपरि बित्यो। त्यही बाल्यकाल र नायः समुदायको पहिचान र संस्कृतिलाई उनले तस्वीर र भिडिओ मार्फत बाहिर ल्याउने कोशिश गरेका छन्।
प्रदर्शनीमा उनको पहिलो तस्वीर पास्नीको वेला पचली भैरवको मन्दिरमा खिचेको तस्वीर छ। “यही फोटोले म को हुँ र मेरो पृष्ठभूमि के हो भनेर देखाइरहेको छ,” अमन भन्छन्।
३० वर्षीय अमनलाई नेवार समुदायभित्र पनि तल्लो जात भनेर गरिने विभेदले कलातिर तानेको हो। “स्कूलमा पढ्दा कसाई भनेर विभेद हुन्थ्यो। किन यस्तो भनेको थाहा थिएन,” उनी भन्छन्, “कथित तल्लो जात भनेर पो होच्याउँदा रहेछन्।”
उनको समुदायले बजाउने नायः खिं बाजा सिक्न खोज्दा अमनको परिवारले असहमति जनायो। यसको कारण थियो, तल्लो जातले बजाउने बाजा भएकाले हेयका रूपमा हेरिनु। “मलाई मेरै परिवारले नायः खिंको साटो धिमे बाजा सिक भन्यो,” उनी सम्झिन्छन्।
काठमाडौं उपत्यकाका सबैजसो जात्रामा नायः खिं बाजा बजाइन्छ। अन्य समुदायका व्यक्ति भने यो बाजा बजाउन हिचकिचाउँछन्। “मैले यही बजाउन सिकें, यही बजाइरहेको छु,” उनी भन्छन्। अमनका तस्वीरमा उनको समुदायको कला र संस्कृति देख्न सकिन्छ।
त्यस्तै, कलाकार दीपा श्रेष्ठको ‘उड्ने सपना’, समग्र शाहको ‘देवताहरूको पालादेखि यी नदीहरूमा हाम्रा डुंगाहरू छन्’, सारा टुनिच कोइचुको ‘जंगलको आत्मा’ र अमित मचामसीको ‘अब उस्तै रहेन’ शीर्षकमा प्रस्तुति छ।
किशोर महर्जनको ‘एकादेशमा एउटा रूख थियो’, सञ्जय अधिकारी र श्रीना नेपालको ‘नेपालको नागरिक विरुद्ध गोदावरी मार्बल इन्डस्ट्रिज प्रालि’ प्रदर्शनीमा राखिएका छन्।
विकासले निम्त्याएको विनाशलाई केन्द्रमा राखेर प्रदर्शनीको आयोजना गरिएको फोटो सर्कल नेपालका प्रेस संयोजक सन्देश घिमिरे बताउँछन्। “कला, संस्कृति र पहिचान मासिएर हुने विकासलाई चुनौती दिन भिडिओ, फोटो र कला मार्फत सजग गराउन खोजेका छौं,” घिमिरे भन्छन्। मंसीर २८ मा शुरू भएको प्रदर्शनी पुस ७ गतेसम्म अवलोकन गर्न सकिनेछ।