एमालेलाई मीनबहादुर गुरुङले दिएको जग्गा विरुद्धको रिट खारेज
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले नेकपा (एमाले)लाई दान दिएको जग्गा विरुद्धको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।
सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले रिट खारेज गरेको एमालेका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता ललितबहादुर बस्नेतले बताए। “सर्वोच्च अदालतले रिट खारेज गरेको छ, हक हस्तान्तरणको बाटो खुलेको छ,” बस्नेतले भने।
भाटभटेनीका सञ्चालक गुरुङले कीर्तिपुरस्थित मैत्रीनगरको १० रोपनी १४ आना जग्गा एमालेलाई भवन निर्माणका लागि दिएका थिए। एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भवन शिलान्यास गरेका थिए।
यस विरुद्ध अधिवक्ता ज्ञानबहादुर बस्नेत लगायतले कात्तिक ७ गते सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमा हकभोग हस्तान्तरण नहुने गरी अन्तरिम आदेश माग गरिएको थियो। त्यसमाथि सुनुवाइ गर्दै सर्वोच्चले रिट खारेजको आदेश दिएको हो।
गुरुङ बालुवाटारको ललिता निवासको सरकारी जग्गा अपचलनमा विशेष अदालतद्वारा दोषी ठहर भएका व्यक्ति हुन्। यस मुद्दामा गुरुङ लगायतले सर्वोच्चमा पुनरावेदन दिएका छन्, जुन विचाराधीन छ।
यसका साथै ललिता निवास प्रकरणमा जिल्ला अदालतमा सरकारी लिखत कीर्ते मुद्दामा उनी धरौटीमा छुटेका हुन्। यो मुद्दा समेत फैसला हुन बाँकी छ।