एशिया कपमा नेपाली युवा टोलीको विजयी शुरूआत
एसीसी महिला यू-१९ एशिया कप टी-२० क्रिकेट प्रतियोगितामा नेपाली युवा टोलीले पाकिस्तानलाई हराउँदै विजयी शुरूआत गरेको छ।
मलेशियाको क्वालालम्पुरमा सोमबार भएको खेलमा नेपालले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो। पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले चार विकेटको क्षतिमा १८.२ ओभरमा पूरा गरेको छ।
नेपालका लागि पूजा महतोले ४४, सोनी पाख्रिनले १३, सीमा केसीले १२ र साना प्रवीनले १० रन बनाए। पाकिस्तानका लागि फतिमा खान र क्वारातुलैनले एक-एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको पाकिस्तानले पाँच विकेटको क्षतिमा १०४ रन बनाएको थियो। पाकिस्तानका लागि कोमल खानले ३८, महाम अनिजले २९, रविल फरहानले १३ र जुफिसान अय्याजले १२ रन बनाए। नेपालका लागि पूजा महतोले दुई, रचना चौधरी, रिया शर्मा र सीमा केसीले एक-एक विकेट लिए।
यो जितसँगै नेपालले दुई अंक जोडेको छ। प्रतियोगिताको अर्को खेलमा नेपालले मंगलबार भारतसँग प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगितामा नेपालसँगै भारत र पाकिस्तान समूह ‘ए’ मा छन् भने श्रीलंका, बाङ्लादेश र मलेशिया समूह ‘बी’ मा छन्।