रुकुम मैकोट, जहाँ कुस्ती खेलाएर बलियालाई मई दिइन्छ
मैकोटमा अहिले पनि छोरालाई बिजौता र छोरीलाई चेप्ना लगाइदिइन्छ। श्रीपेच जस्तो यो टोपी लगाउने परम्पराले विगतमा यो छुट्टै राज्य रहेको देखाउँछ।
रुकुम मैकोट
आँखा नि राम्रै हो मन पर्ने ओठ।
फिल्म खुस्माका यी दुई हरफमा नायक धीरज मगरलाई तीन कुरा खूब मन परेका छन्– नायिका उपासनासिंह ठकुरीका आँखा र ओठ अनि मैकोट। मगर वेशभूषामा सजिएर उनीहरू नाचेको गीत यूट्यूबको ग्लोबल ट्रेन्डिङमा अघिल्लो पंक्तिमा आउँदा दूरदराजको थलो मैकोट पनि एकपटक विश्वभरका नेपालीमाझ चिनियो। नाचगानको माहोलमा अझै पनि मैकोट गुन्जिरहेकै छ।
फिल्महरू झूटा पनि हुन सक्छन्। सर्जकले विद्रूपतामै सुन्दरता देखिदिन सक्छ। तर यो गीतका सर्जक झूटा छैनन्। उनलाई मैकोट यसकारण मन परेको छ कि यो छ नै मनमोहक। प्राकृतिक सौन्दर्य मात्र मैकोटको सम्पूर्णता होइन। यसको सांस्कृतिक र ऐतिहासिक सौन्दर्य पनि उत्तिकै छ।
नेपालको पश्चिम क्षेत्र रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–२ मा पर्छ, मैकोट। यहाँका प्रमुख बासिन्दा घर्ती मगर, पुन मगर, बुढा मगर, रोका मगर आदि हुन्। आदिवासीहरू अदृश्य शक्तिको प्रतीक मानेर वरपरका डाँडा, तालतलैया, थुम्का लगायतको पूजा गर्छन्।
मैकोटमा मस्टा पनि छन्। पुन मगर पुजारी रहने यी मस्टा चाहिं मगरका मात्र नभई सबै जातजातिका साझा शक्तिपीठ हुन्। यिनलाई हाँसेगोरे भेडाका साँड चढाइन्छन्। मैकोट मगरहरूका लागि ऐतिहासिक थलो हो। मैकोटबाट पूर्वतिर फैलिएका मगरहरूको इतिहास प्रायः यही ठाउँसँग जोडिन्छ। म्याग्दी, पर्वतका पुन मगरको कुलपूजाका क्रममा झाँक्रीको ओखामा उनीहरूका पुर्खा मैकोटबाट आएको भनिंदै आएको छ। गुल्मी–बाग्लुङतिर बसोबास गर्नेहरू पनि मैकोटलाई उद्गम थलो मान्छन्।
उति वेला दरकोई भनिने ठाउँलाई मइकोई हुँदै क्रमशः मैकोट भन्न थालिएको रहेछ। मंसीर १ गते मइकोईमा लाग्ने मेलामा वरपरका बलिया व्यक्ति कुस्ती खेल्न आउँथे। जसले सबैलाई जित्थ्यो, उसलाई मई (पदक) दिने गरिएको र त्यही मई शब्दबाट पछि मैकोट भन्न थालिएको बूढापाका बताउँछन्।
मैकोटको डाँडामा मस्टा थान छ। यहाँ पूजा गरे बालीनाली सप्रने र मनले चिताएको पुग्ने विश्वास गरिन्छ। यही मस्टा थानलाई पछि कोटको रूप दिएर मैकोट भन्न थालिएको अनुमान हुन्छ। त्यहाँ अझै पनि छोराछोरी जन्मिएपछि छेवर नगर्दासम्म छोरालाई बिजौता (बिजौटा) र छोरीलाई चेप्ना लगाइदिइन्छ। यो भनेको श्रीपेच जस्तो टोपी हो। यसको अर्थ त्यहाँ कुनै वेला राजाको शासन थियो। त्यही राजखानदानको अवशेषका रूपमा बिजौता र चेप्नाहरू जनजीवनमा जीवित छन्।
मैकोट विगतको धर्मशाला पनि हो जहाँ विभिन्न गाउँठाउँबाट मानिसहरू व्यापार/व्यवसाय गर्न आउँथे। केही दशकअघिसम्म पनि यहाँ भोटबाट चौंरीलाई बोकाएर नुन ल्याइन्थ्यो। मैकोटेहरूले व्यापार गर्न आएकाहरूसँग यो नाकामा पाँच पैसा कर उठाउने गरेका रहेछन्।
स्थानीयका अनुसार मैकोटले जुम्ला, डोल्पा, ढोर र खम्पाहरूसँग लडाइँ गरेका अवशेष अझै भेटिन्छन्। जुम्ली, भोटे र खम्पाहरूसँग त १०० वर्षभन्दा बढी लडाइँ चलेको थियो। यस अर्थमा मैकोट एउटा राज्य नै थियो जसले आफ्नो भूभागको सुरक्षार्थ विभिन्न समयमा युद्ध लडिरह्यो।
रुकुम राज्यको स्थापना विसं १४६१ मा भएको थियो। यसका चार किल्ला पूर्वमा पर्वत, पश्चिममा गोताम र जाजरकोट, उत्तरमा जुम्मा र जाजरकोट तथा दक्षिणमा बाँफी र मुसीकोट राज्य थिए। डा. बमबहादुर अधिकारीको नेपालको सरल इतिहास पुस्तकमा उल्लेख भए अनुसार उति वेला रुकुममा आठ हजार घरधुरी थिए जसको करबाट १० हजार आम्दानी हुने गर्थ्यो।
मैकोट मगरबहुल गाउँ हो। यहाँको जनसंख्या ७७३ रहेको राष्ट्रिय जनगणना, २०७८ मा उल्लेख छ। नेपालका त्रिशूली-गण्डकीदेखि पश्चिम, कर्णाली नदीदेखि पूर्व र दक्षिणमा भारतको गंगा नदीदेखि उत्तरी क्षेत्रका प्रत्येक नदीनाला, मैदान, पहाड-पर्वत र खोला-खोल्साका नामले यस क्षेत्रमा मगरहरूको प्राचीनतम अस्तित्व रहेको देखाउँछन्। यस भूभागका नाम प्रायः सबै मगर भाषामा रहेको एमएस थापा मगरद्वारा लिखित प्राचीन मगर र अक्खा लिपि पुस्तकमा उल्लेख छ।
नेपालमा बसोबास गर्ने आदिवासीमध्ये संख्यामा पहिलो मगर नै हो। आदिवासीसँग आफ्नै खालका रीतिथिति, चाडपर्व, भाषा, संस्कृति, वेशभूषा हुन्छन्। मगर कर्णाली क्षेत्रको बाइसी र गण्डक क्षेत्रको चौबीसी राज्यमा शासन गरेको जाति हो। यी राज्य घटबढ भइरहने हुँदा नेपालको भूभागमा ५० देखि ६० वटासम्ममा छरिएर रहेको नेपालको सरल इतिहास पुस्तकमा जनाइएको छ।
लडाइँमा बढीजसो सैनिकको मृत्यु हुन्छ। धेरै लडाइँ भइरहने हुँदा मैकोटका बासिन्दा पनि विभिन्न समयमा पूर्वतिर बसाइँ सरे। कोही धेरै आक्रमणका कारण नचारु भएर त्यहाँबाट निस्किए। कोही अन्न लिन जाँदा देखेको राम्रो उब्जनी हुने ठाउँतिर सरे। कोही शिकार खेल्न गएर सपरिवार उतै बसे।
त्यसैले नै आज म्याग्दी, पर्वत र बाग्लुङमा बसोबास गर्ने सुत पुन, पहरे पुन, दुध पुन र थाने पुन मगरको उत्पतिको कथा पश्चिमको सुत्पहरे घर्ती मगरसँग मिल्दोजुल्दो रहेको केशरजंग बराल मगरको पुस्तक पाल्पा, तनहुँ र स्याङ्जाका मगरहरूको संस्कृतिमा उल्लेख छ। म्याग्दी, पर्वतमा करबाकेलीका सन्तान रामचन र कुलचनलाई कुल मानेर हाँसेगोरेका साँड चढाइन्छन्। यहाँ झाँक्रीको ओखामा मैतेधामी र माछापुरनबारे भन्ने गरिन्छ। रुकुमको मैकोटमा चाहिं मैतेधामी र रमापुरनचनको नाम सुनियो। रमापुरनचनबाटै कालान्तरमा माछापुरन भएको हो कि? रमापुरनचनका सन्तान माछापुरन पो हुन् कि?
नेपालमा जिउँदा र मरेकाहरूबीच बलियो पारस्परिक निर्भरता पाइन्छ। पुर्खाहरू जिउँदा सन्तानप्रति निर्भर रहेको विश्वास गरिन्छ त जिउँदाहरू मरेकाहरूप्रति। मरेका आफन्तलाई पितृ भनिन्छ। मानिसहरू आफ्नो सफलता र समृद्धिमा पितृहरूको हात रहेको विश्वास गर्छन्। तसर्थ सबै जना पितृहरूलाई मन पर्ने खाना चढाएर उनीहरूलाई खुशी पार्न चाहने गरेको डोरबहादुर विष्टले भाग्यवाद र विकास पुस्तकमा उल्लेख गरेका छन्।
समयसँगै सामाजिक-सांस्कृतिक व्यवहार र मान्यतामा परिवर्तन आउँछ भने कतिपय लोप भई नयाँ स्वरूपको विकास हुन सक्छ। यसर्थ मौखिक रूपमा रहेका आख्यान, कथा, लोककथाहरूलाई छिटोभन्दा छिटो अभिलिखित बनाइहाल्नुपर्छ। नत्र मौलिक परम्परा एकादेशको कथा बनिदिन्छ। अहिले रुकुमबाट बसाइँ सरेर पूर्वतिर लागेकाहरूको रहनसहन, भाषा र संस्कृतिमा धेरै परिवर्तन आइसकेको छ।
पश्चिमतिर चाहिं मौलिकपन अझै जीवित छ। यद्यपि बसाइँ सरेका र सरिनसकेकाहरूबीच अझै थुप्रै एकरूपता नरहेको होइन। त्यसैले त पूर्वी भेगतिर सरेकाहरू आफ्नो पुर्ख्यौली थलो पश्चिमको हुकाम मैकोट रहेको बताइरहेका छन्। अब यी दुवै क्षेत्रको जनजीवन समेटेर गहन सामाजिक-सांस्कृतिक अध्ययन गरिनुपर्छ। भविष्यमा पिमाचौर (पिलमा), यामाखार, हुमा भीरतिरको पनि अध्ययन जरूरी देखिन्छ।