‘आफ्नै खर्चमा विदेश खेल्न जाँदा ऋणमा डुबिरहेका छौं’
‘अहिले त अन्तर्राष्ट्रिय प्रतियोगिता हुने भयो भने पैसा कहाँबाट ल्याउने, कोसँग माग्ने, कसरी तिर्ने, उता पुगेपछि कसरी खाने र बस्ने, होटल महँगो भयो भने के गर्ने भन्ने जस्ता अनेक तनावले खेलाडीलाई घेर्छ।’
एक समय थियो, नेपाली खेलकूद र तेक्वान्दो पर्याय जस्तै थिए। हुन पनि नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा सबैभन्दा धेरै पदक दिलाउने मार्शल आर्टस्को विधा यही थियो। त्यसै अनुसार तेक्वान्दोले प्राथमिकता र चर्चा पाएको थियो। संगीना वैद्य, दीपक विष्ट जस्ता स्टार खेलाडी तेक्वान्दोकै उत्पादन हुन्।
पछिल्लो समय भने अन्तर्राष्ट्रिय स्तरमा नेपाली तेक्वान्दोको पुरानो कद खस्किएको छ। यति मात्र हैन, तेक्वान्दो खेल र यसका खेलाडी सम्बद्ध खेल संघ तथा सरकारबाट चरम उपेक्षामा छन्। खेलाडीलाई मासिक तलब तथा आवश्यक अन्य सुविधा छैन र विदेशका स्पर्धामा पठाउन पनि खर्च जुटाइँदैन। यसका कारण खेलमा केन्द्रित हुनुपर्ने खेलाडीले खर्च जुटाउने तनाव बोक्नुपर्ने, अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न जाँदा ऋण काढ्नुपर्ने, जीवन धान्न कठिनाइ र ऋणको बोझका कारण खेल क्षेत्र नै त्याग्ने, विदेश भासिने जस्ता समस्या देखा परेका छन्।
पछिल्ला वर्षहरूमा यिनै समस्याबीच खेलिरहेकी छन्, विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलेर देशलाई पदक दिलाएकी तेक्वान्दोकी राष्ट्रिय खेलाडी आयशा शाक्य। कतारको दोहामा भएको १५औं एशियाडमा १९ वर्षकै उमेरमा ५९ केजी तौल समूहबाट उनले कांस्य जितेकी थिइन्। यस्तै, २०७६ सालमा आयोजित १३औं दक्षिणएशियाली खेलकूद (साग)मा दुई स्वर्ण जितिन्। ललितपुरमा जन्मिएकी उनी तेक्वान्दोमा ब्ल्याक बेल्ट छैटौं डान हुन्। दुई सन्तानकी आमा रहेकी उनी ४० वर्षभन्दा कम उमेरसमूहकी राष्ट्रिय तेक्वान्दो खेलाडीका साथै प्रशिक्षक पनि हुन्।
गत महीना मात्र उनी हङकङ र भियतनाममा सम्पन्न तेक्वान्दो च्याम्पियनशिपमा खेलाडी टोलीको नेतृत्व गरेर फर्किइन्। ‘भियतनाम २०२४ एशियन ओपन पुलिस तेक्वान्दो च्याम्पियनशिप’ मा टोलीका खेलाडीहरूले चार स्वर्ण सहित आठ पदक जिते। तर विश्वस्तरीय स्पर्धामा सहभागी हुन पाउँदा र देशलाई पदक दिलाउँदाको खुशीलाई यात्रामा लागेको खर्चको भारले छोपिदिएको छ। कारण, उनी सहितका खेलाडी आफ्नै खर्चमा ती प्रतियोगितामा गएका थिए। कोही परिवारसँग खर्च मागेर गएका थिए, कोही ऋण लिएर। नेपाल तेक्वान्दो संघले लगानी नजुटाउँदा र व्यवस्थापनको पहल नगर्दा ६/७ वर्षयता खेलाडीहरू आफ्नै खर्चमा अन्तर्राष्ट्रिय प्रतियोगितामा गइरहेको शाक्य बताउँछिन्। देशको प्रतिनिधित्व गर्दै खेल्दा जीवन निर्वाह त परको कुरा, उल्टै ऋणमा परेपछि यसबीचमा तेक्वान्दोका धेरै खेलाडीले खेल छाडिसकेका छन्, कतिपय विदेश भासिएका छन् र खेलिरहेकाहरू निराश छन्।
यसै सन्दर्भमा शाक्यसँग हिमालखबरका लागि अनिता भेटवालले गरेको कुराकानीको सम्पादित अंश :
नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा सर्वाधिक सफलता दिलाउने खेलमा तेक्वान्दो पर्छ। यसकै प्रतियोगितामा विदेश खेल्न जान खेलाडी आफैंले लगानी गर्नुपर्ने अवस्था किन आयो?
हामी भर्खरै दुई वटा अन्तर्राष्ट्रिय स्पर्धामा सहभागी भएर फर्कियौं। गत २९ नोभेम्बरदेखि ४ डिसेम्बरसम्म हङकङमा ‘वर्ल्ड तेक्वान्दो च्याम्पियनशिप’ भएको थियो। तेक्वान्दोको विश्वकप मानिने यो प्रतियोगिता खेल्ने हरेक तेक्वान्दो खेलाडीको सपना हुन्छ। यस्तै, ६-९ डिसेम्बरसम्म ‘भियतनाम २०२४ एशियन ओपन पुलिस तेक्वान्दो च्याम्पियनशिप’ भयो। नेपालको प्रतिनिधित्व गरेर हङकङमा सात जना र भियतनाममा आठ खेलाडी गएका थिए। यी सबै जना आफ्नै खर्चमा गएर खेल्नुपर्यो। यसले खेलाडीलाई ठूलो भार परेको छ।
केही खेलाडी नेपाल प्रहरीका जागीरे छन्, तर तिनको कमाइ थोरै छ। यस्तै, कतिपय खेलाडीले पूर्ण रूपमा खेलमै समर्पित भएर कुनै पेशा–व्यवसाय गरेका छैनन्। यो स्थितिमा प्रतियोगितामा जान आफैंले लगानी गर्नुपर्दा ठूलो समस्या भएको छ।
हामी निजी संघसंस्थालाई प्रायोजन गरिदिन सहयोग माग्छौं, तर कसैले सहयोग गर्दैन। हङकङमा भएको ‘वर्ल्ड तेक्वान्दो च्याम्पियनशिप’ मा खेल्न खेलाडीले धेरै मिहिनेत गरेका थिए। त्यहाँ गएर घुमेका होइनन्, खेलेर आफ्नै रेकर्ड सुधारेर आएका छन्। भियतनामको खेलमा त पदक पनि जिते। तर त्यहाँसम्म पुगेर खेल्न उनीहरूले आफैं खर्च हाल्नुपर्यो। त्यो खर्च उनीहरूले कमाएर हैन, खोजेर, सरसापट लिएर ल्याएको पैसा हो। पहिले पनि धेरै पटक खेलाडीहरू आफ्नै लगानीमा विदेश गएर खेलेका छन्।
यो सबै भइरहँदा नेपाल तेक्वान्दो संघको भूमिका चाहिं के छ?
संघ छ, तर केही गरेको छैन। खेलाडीहरूले वर्ल्ड च्याम्पियनशिपदेखि एशियन च्याम्पियनशिपसम्म सबैतिर आफ्नै खर्चमा गएर खेलिरहेका छन्। तर संघ मूकदर्शक बसिरहेको छ। यस्तो भएको धेरै वर्ष भइसक्यो। संघले के चाहिं गर्छ भने, खेल खेल्न जान कागजी प्रक्रिया मिलाइदिन्छ।
खेलाडी खेल्न चाहन्छन्, तर संघ लगानी गर्दैन। खासमा खेलकूदले गर्दा पनि विश्वमा देशहरूको नाम चम्किएको छ। तर देशको नाम राख्ने खेलाडीहरूको बिजोग छ। यो कुरा कसले बुझिदिने? अहिले क्रिकेटको हाई हाई भएको छ। त्यो भनेको क्रिकेटमा लगानी गरेर नै उनीहरू यहाँसम्म आइपुगेका हुन्। फूटबल र भलिबल पनि राम्रो भइरहेको छ। त्यही हिसाबले तेक्वान्दोमा पनि लगानीको खाँचो छ। खासमा, नेपाललाई धेरै पदक दिलाउन सक्ने खेल मार्शल आर्टस् नै हो। तर अहिले यस खेलका खेलाडी अभागी बनेका छौं। हाम्रो लागि सोचिदिने न संघ छ न त सरकार।
आफैं पैसा जुटाएर खेल्न जाँदा खेलाडीको मनोभाव कस्तो हुन्छ?
हङकङ र भियतनामका च्याम्पियनशिप खेल्ने जानुअघि धेरै खेलाडीले घरमा पैसा मागे। त्यस क्रममा आनाकानी भोग्नुपर्यो। कतिले अन्यत्रबाट कमाएको पैसा खर्चेर गए। जागीर नभएकाहरूले ऋणसापटी चलाएका छन्। अब त खेलाडीका परिवारले विना आम्दानीको खेलका लागि कतिन्जेल लगानी गर्ने भन्न थालेका छन्। राष्ट्रिय खेलाडीहरू नै खेल छोड्ने सुरमा छन्। भर्खरै दुई खेल खेलेर आएका खेलाडीहरू हरेस खाएर ‘घरबाट पैसा कति माग्नु, अब त विदेश जाने हो’ भन्न थालेका छन्। हुन पनि खेलाडीहरूको ऋण लिने ठाउँ सकिंदै गएको छ। भोलि त राम्रो होला भनेर मैले पनि उनीहरूलाई के आधारमा भन्ने?
हामी पछिल्ला ६/७ वर्षदेखि आफ्नै लगानीमा खेलिरहेका छौं। कसैले हाम्रो समस्या बुझिदेला, लगानी गरिदेला भन्दाभन्दै यतिका समय भइसक्यो। एक–दुई जनालाई संघ वा परिषद्ले प्रायोजन गरेको होला। तर अधिकांशले त्यो पाएका छैनन्। यति हुँदाहुँदै मैले आफ्ना खेलाडीलाई ‘यो लगानी तिमीहरू आफ्नै लागि हो, एक दिन यो फिर्ता हुन्छ’ भन्दै थमथम्याइरहेकी छु। तर अब सान्त्वना दिने र रोक्ने अवस्था छैन। किनभने म आफैं पीडित छु। मेरो निजी व्यवसाय छ, र विद्यालयमा खेल पनि सिकाउँछु। त्यहाँको आम्दानी खेलमा लगानी गरिरहेकी छु। मैले पनि कति गर्ने? इच्छाशक्ति र जोशकै कारण अहिलेसम्म छु। अझै पनि सपना छ, वर्ल्ड च्याम्पियनशिपमा पदक जित्ने। तर त्यसका लागि मलाई सन्तुलित भोजन, व्यायाम, तालीम, फिजियाथेरापिस्टको सहयोग जस्ता सबै कुरा चाहिन्छ। यसका लागि चाहिने पैसा नै हो।
अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाँदा कतिसम्म खर्च हुन्छ?
पछिल्लो पटककै कुरा गर्दा हङकङ र भियतनाममा खेल्न जाँदा खेलाडीले आफ्नो खेलभन्दा टिकट र वासको चिन्ता धेरै लिनुपरेको थियो। टिकट नपाएर धेरै समस्या झेल्नुपर्यो। कति खेलाडी नेपालबाट टिकट नपाएर भारत हुँदै जानुभयो। हामीलाई हङकङ जान एक लाख रुपैयाँको दरले टिकट लाग्यो। उता पुगेपछि महँगो होटल, खेलको आवेदन शुल्कमा लाग्ने खर्च त छँदै थियो। खेलका हरेक विधामा सहभागी हुन १०० डलर शुल्क थियो। सबै खेलाडी दुई वटा खेलमा सहभागी भएका थिए। यस बाहेक वास, खाना, पानी आदिको खर्च थियो। त्यसमाथि यस पटक केही खेलाडीको भिसा रद्द भएकाले त्यसमा खर्च भयो। यसको हिसाब कसले गरिदिने? खर्च कसले बेहोरिदिने? खेल्नभन्दा पनि व्यवस्थापन गर्न खेलाडीलाई तनाव हुने गरेको छ।
राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा खेल्ने गरी तयार हुन तेक्वान्दो खेलाडी केकति संघर्ष गरेर आएका हुन्छन्?
अहिले तेक्वान्दो खेल र खेलाडी जहाँ छन्, यहाँसम्म आइपुग्न थोरै समयको तालीमले हुँदैन। यसको पछाडि धेरै लामो संघर्ष छ। मेरै कुरा गर्दा, तेक्वान्दोको वर्ल्ड च्याम्पियनशिप खेल्ने सन् २००५ देखिको सपना थियो। त्यहाँदेखि मैले तयारी गरेकी थिएँ र यसपालि हङकङमा खेल्न पाएँ। तर कतिपय ठाउँमा चुकियो। त्यो सुधार्न सक्छु भन्ने नै छ।
खेल खेल्दा जित हासिल गरेपछि मात्र श्रेणी बढ्छ र राष्ट्रिय खेलाडी हुन पाइन्छ। यस क्रममा धेरै खेल्नुपर्ने हुन्छ। अहिलेका राष्ट्रिय खेलाडी धेरै कुरा त्यागेर, मिहिनेत गरेर, धेरै वर्ष लगाएर यहाँसम्म आइपुगेका हुन्। तर यत्तिका संघर्ष गरेर आइपुगे पनि खेलाडीले आफैं पैसा खोजेर, आफैं टिकट जोरजाम गरेर, अनेक तनाव लिएर खेल्नुपरेको छ।
दशौं वर्ष खेलेर जब राष्ट्रिय खेलाडी भइन्छ, त्यसपछि झन् दुःख शुरू भएको देखिन्छ। यहाँ त एउटा फिजियोथेरापिस्टसम्म छैन। डाक्टर छैन। डाइटिसियन छैन। मनोविद् छैन। समयसँगै खेल क्षेत्रमा पनि अनेक नयाँ प्रविधि आएका छन्। खानपान र तालीमको तालमेल मिलाएर खेलाडीलाई तयार पारिन्छ। हामीकहाँ यी सबै कुराको अभाव र असुविधा छ, र पनि हामी मिहिनेत गरेर खेलेर मेडल ल्याइरहेका छौं।
सरसहयोग नपाउँदा खेलाडीहरूमा जति निखार आउनुपर्ने हो, त्यो छैन। कोही खेलाडीमा जन्मजात प्रतिभा जस्तो छ। कोही बाल्यकालदेखि राम्रो तालीम पाएर राष्ट्रिय खेलाडी बनेका छन्। तर राष्ट्रिय खेलाडी भएपछि उचित तयारी भएको छैन। उनीहरूको मुख्य उर्वर समय खेर गइरहेको छ। जुन उमेरमा अरू युवा पढ्न र पैसा कमाउन लगानी गरिरहेका हुन्छन्, त्यो उमेरमा खेलाडीले सबै समय र ऊर्जा खेललाई दिएका छन्। तर उनीहरूको अवस्था के छ, भविष्य के हुन्छ भनेर कसैले ख्याल गरेको छैन।
भनेपछि, तेक्वान्दो खेलाडी आफ्नो इच्छाशक्तिले मात्र टिकिरहेका छन्?
हो, जति खेलाडी खेलिरहेका छन्, ‘प्यासन’ भएकाहरू मात्र छन्। खेलाडीलाई उत्प्रेरणा छैन, लगानी छैन, यतिसम्म कि पदक जितेर आउँदा समेत बधाई दिने कोही हुँदैन। खेल खेल्ने तयारीका वेला कसैले सोच्दैन। हुँदाहुँदा आज खेलाडीहरूले आफैं लगानी गरेर खेल्न जानुपरिरहेको छ। यति धेरै बेवास्तामा छ, तेक्वान्दो।
अन्य खेलको अवस्था पनि यस्तै हो कि तेक्वान्दो मात्र बेवास्तामा परेको?
पहिले तेक्वान्दोको ‘क्रेज’ थियो। हाम्रा गुरु सविताराज भण्डारी, ओलम्पिकमा क्वालिफाई हुने संगीना वैद्य, दीपक विष्ट र यस वर्ष पेरिस पाराओलम्पिककी ऐतिहासिक पदक विजेता पलेसा गोवर्द्धन लगायत तेक्वान्दोकै हुन्। उनीहरूले देशका लागि पदक ल्याउँदा जहिल्यै हाई हाई हुन्छ। हामी प्रायोजन गर्छौं भन्दै संघसंस्था अगाडि आउँछन्, तर १०/१२ दिनमै सबै हराउँछन्। मैले पनि कति पटक पदक ल्याउँदा एकछिन तारीफ हुन्छ, तर केही दिनपछि खेलमा फर्कंदा सहयोग हुँदैन।
अन्य खेलले पनि बेवास्ता त भोगेका होलान्, तर तीमध्ये पनि तेक्वान्दो धेरै हेलामा परेको छ। अन्य खेलका त विभिन्न टुर्नामेन्ट भइरहेका छन्। भलिबलका एकपछि अर्को खेल भइरहेका छन्। केही समयअघि वुमन लिग, काभा भयो। क्रिकेट र फूटबलको पनि वर्षैभरि खेल हुन्छन्। तर तेक्वान्दोमा यो अवसर छैन। अवसर आएको वेला खेलाडी आफैंले लगानी गरेर जानुपरेको छ, र त्यसरी जितेर आए पनि कसैलाई थाहै हुँदैन। किनभने सम्बद्ध संघले प्रचार, प्रायोजन केही पनि गर्दैन।
कति खेलाडी त खेलमा लागेर केही भएन भनेर विदेशिइसकेका छन्। राष्ट्रिय खेलाडीहरू नै विदेशिए। यसबारे सबै बेखबर छन्। अरू खेलका खेलाडी विदेशिए भन्ने समाचार आउँछ, तर तेक्वान्दोका खेलाडी कति छन्, कहाँ र कुन अवस्थामा छन्, कति विदेशिए भनेर खेलाडीको अभिभावक तेक्वान्दो संघलाई नै थाहा छैन। वास्ता पनि गर्दैन। सन् २०१९ सम्म तेक्वान्दोका राष्ट्रिय खेलाडी हामी ३९ जना थियौं। सबैले साफ गेममा केही न केही स्थान हासिल गरेर पदक ल्याए। त्यसमा पनि १२ जना स्वर्ण पदक विजेता थिए। उनीहरू विदेश पुगिसकेका छन्। स्वर्ण जितेकामध्ये म र अर्की एक बहिनी मात्र यहाँ छौं। अहिले स्वर्ण जित्न सक्ने क्षमता भएकाहरू पनि विदेशिन खोजिरहेका छन्।
यो अवस्थाले त तेक्वान्दो खेलेर कसैले पनि जीवन धान्न सकेका छैनन् भन्ने देखाउँछ। त्यस्तै हो?
हो। क्रिकेट, फूटबलमा श्रेणी अनुसारको मासिक तलब दिएको सुनिन्छ। तर मार्शल आर्टस्का खेलमा त्यो छैन। जो प्रहरी र सेनाबाट खेल्छन्, उनीहरूको निश्चित तलब छ। खेलबाट जीवन निर्वाह नभएपछि थुप्रै विदेश भासिइरहेका छन्। परिवार हेर्नुपर्ने धेरैले तेक्वान्दो छाडिसके। तेक्वान्दो खेलाडी हौं भन्दा मानिसहरूले इज्जत गर्छन्। त्यस बाहेक केही छैन।
आफैंले मिहिनेत गर्दा पनि प्रदर्शन गर्ने ठाउँ खेलाडीले पाएका छैनन्। मिहिनेत देखाउने ठाउँ जान आफ्नै गोजीबाट पैसा हाल्नुपरेको छ। त्यसैले पुराना खेलाडीको ‘प्यासन’ मर्न थालेको छ र नयाँ खेलाडीहरूले बीचमै पेशा परिवर्तन गर्न थालेका छन्।
खेलाडीमा लगानी गर्न र व्यवस्थापन गर्न नसक्ने तेक्वान्दो संघको नेतृत्वमा प्रश्न उठेको छैन?
खेलाडीलाई सिकाउने, नयाँ प्रविधिसँग साक्षात्कार गराउने र प्रेरणा दिने कुरामा संघ चुकिरहेको छ। अहिले नेपाली तेक्वान्दोमा धेरै थोक छुटिरहेको छ र हामी झन् झन् तल जाँदै छौं। संघले खेलाडीलाई तलब, सुविधा, खानपान, डाइटिसियन, डाक्टर आदि केहीको पनि व्यवस्था गर्न सकेको छैन। संघसँग पैसा छैन भने ल्याउने वातावरण बनाउन सक्नुपर्थ्यो। तर त्यो भएको छैन। खेलाडीले पनि राम्रो खेलेनन् भने नयाँ खेलाडी ल्याउने हो। केही समयअघि नेपाली तेक्वान्दो दक्षिणएशियामै उचाइमा पुगेको थियो। त्यहाँबाट हाम्रो खेल खस्किइरहेको छ। किन त्यस्तो भयो भनेर समीक्षा भएको छैन। यो सबै काम संघको नेतृत्वले गर्नुपर्ने हो। तर गरिरहेको छैन।
अन्त्यमा, तेक्वान्दो खेल र खेलाडीको विकासका लागि तत्काल गर्नुपर्ने काम के हुन्?
पहिलो कुरा, तेक्वान्दो संघले राम्रो टिम बनाउनुपर्यो। त्यसपछि लगानी गर्नुपर्यो। खेलाडीले खेलमा मात्र ध्यान दिन पाऊन्। प्रायोजक खोज्दै हिंड्न नपरोस्। प्रशिक्षक राम्रो ल्याउनुपर्यो र उसलाई सुविधा दिन सक्नुपर्यो। संघले नयाँ नयाँ प्रविधि ल्याओस्। बरु संघले खेलाडीलाई ‘तिमीहरूलाई यति वर्ष लगानी गर्छु, यस्तो परिणाम ल्याऊ’ भनेर सीधा भनोस्। त्यस्तो भएमा खेलाडीले निश्चित समयसम्म ढुक्क भएर मिहिनेत गर्छन्।
खेलाडीलाई तालीम दिएर मात्र हुँदैन, प्रतियोगी खेल खेलाइनुपर्छ। विदेशमा तालीम र एक्सपोजर धेरै हुन्छ। तेक्वान्दो संघ र सरकारले त्यति मात्रै गरिदिए नेपालमा धेरै पदक आउँथे। तर अहिले त अन्तर्राष्ट्रिय प्रतियोगिता हुने भयो भने पैसा कहाँबाट ल्याउने, कोसँग माग्ने, कसरी तिर्ने, उता पुगेपछि कसरी खाने र बस्ने, होटल महँगो भयो भने के गर्ने भन्ने जस्ता अनेक तनावले खेलाडीलाई घेर्छ। खेलाडीलाई खेलको तनाव होस्, न कि खाने र बस्ने कुराको।