सुदूरपश्चिमको प्रभावशाली जित, कर्णाली पनि ‘प्लेअफ’ मा
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार बिहान भएको खेलमा सुदूरपश्चिमले कर्णालीलाई ६ विकेटले पराजित गरेको हो। अन्तिम खेलमा पराजित भए पनि रनरेटका आधारमा काठमाडौं गुर्खाजभन्दा माथि रहँदै कर्णाली पनि ‘प्लेअफ’ मा पुगेको छ।
सुदूरपश्चिम सातमध्ये ६ खेल जितेर १२ अंक सहित शीर्षस्थानमा छ भने जनकपुर बोल्ट्स १० अंक सहित दोस्रो स्थानमा छ। त्यस्तै, समान आठ अंक भए पनि चितवन तेस्रो स्थानमा छ भने कर्णाली चौथो स्थानमा छ।
काठमाडौंको आठ अंक भए पनि रनरेटका आधारमा पछाडि पर्दै प्रतियोगिताबाट बाहिरिएको छ। पोखरा एभेन्जर्स, विराटनगर किंग्स र लुम्बिनी लायन्स यसअघि नै प्रतियोगिताबाट बाहिरिएका थिए।
लिग चरणको अन्तिम खेलमा कर्णालीले दिएको १०२ रनको लक्ष्य सुदूरपश्चिमले चार विकेट गुमाएर १५.२ ओभरमा पूरा गरेको हो। सुदूरपश्चिमका लागि दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले ३८-३८ तथा सैफ जैबले ११ रन बनाए। कर्णालीका लागि सोमपाल कामी, विपिन शर्मा र नन्दन यादवले एक-एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको कर्णालीले २० ओभरमा सबै विकेट गुमाएर १०१ रन बनाएको थियो। कर्णालीका लागि जिशन मक्सूदले ३०, विलियम बसिस्टोले १६, बाबर हयातले १३ र चडविक वाल्टनले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
सुदूरपश्चिमका लागि हरमित सिंहले तीन, स्कट कुगेलिन र दीपेन्द्रसिंह ऐरीले दुई-दुई तथा सैफ जैबले एक विकेट लिए।
यससँगै ‘क्वालिफायर’ र ‘इलिमिनेटर’ को पनि टुंगो लागेको छ। पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुरले प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै, इलिमिनेटरमा चितवन र कर्णालीबीच प्रतिस्पर्धा हुनेछ।
अब पहिलो खेलमा पुस ३ गते बिहान ९:१५ बजे चितवन र कर्णाली प्रतिस्पर्धा गर्नेछन्। विजेता टोली दोस्रो ‘क्वालिफायर’मा पुग्नेछ।
त्यस्तै, दोस्रो खेल दिउँसो १:१५ बजे सुदूरपश्चिम र जनकपुरबीच हुनेछ। जित्ने टोली फाइनलमा पुग्ने छ भने हार्ने टोलीले चितवन र कर्णालीबीचको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ।
यो खेल पुस ४ गते मध्याह्न १२:१५ बजे हुनेछ। विजेता टोली फाइनलमा पुग्नेछ। फाइनल खेल पुस ६ गते मध्याह्न १२:१५ बजे हुनेछ।