काठमाडौंका पूर्व मेयर पीएल सिंहको निधन
काठमाडौं महानगरपालिकाका पूर्व मेयर पीएल सिंहको ८७ वर्षको उमेरमा निधन भएको छ।
उपचारका क्रममा सिंहको सोमबार बिहान निधन भएको परिवारजनले जनाएका छन्। नेपाली कांग्रेसका नेता सिंह पेट सम्बन्धी रोगबाट पीडित थिए।
उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेसम्म चाक्सीबारीस्थित निवासमा राखिनेछ। त्यसपछि कांग्रेस केन्द्रीय कार्यालयमा राखिने जनाइएको छ। उनको आजै अन्त्येष्टि गरिनेछ।
सिंहको निधनमा काठमाडौं महानगरले आज शोक बिदा दिएको छ। महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले पूर्व मेयर सिंहको निधनमा काठमाडौं महानगरको केन्द्रीय कार्यालय र मातहतका सबै वडा कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द गरी शोक बिदा दिने निर्णय गरिएको बताए।
सिंह २०४९ सालको स्थानीय तह निर्वाचनबाट काठमाडौंको मेयरमा निर्वाचित भएका थिए। उनकै नेतृत्वमा २०५२ मंसीर २९ गते काठमाडौंलाई महानगरपालिका घोषणा गरिएको थियो।