कहाँ गए पुराना पुस्तकालयका पाठक?
नयाँ पुस्तालाई आकर्षित गर्न नसकेपछि तराई मधेशका पुराना पुस्तकालय बन्द हुने अवस्थामा पुगेका छन्।
प्रजातन्त्र स्थापनासँगै सात दशकअघि युगेश्वर लाभ र कुशेश्वर लाभको सहयोगमा जनकपुरमा ‘सार्वजनिक पुस्तकालय’ खुल्यो। पुस्तक थपिंदै गए, पढ्ने मान्छे बढ्दै गए। शिक्षक, विद्यार्थी त भए नै, राजनीतिक दलका नेता पनि पुस्तकालय पुग्थे।
२००९ सालमा खुलेको पुस्तकालय २०४५ सालतिर आउँदा अतिक्रमणको चपेटामा पर्यो। स्थानीय बासिन्दाको सक्रियतामा पुस्तकालय जोगाउन सञ्चालन समिति गठन भयो। त्यही तदर्थ समितिले विधिविधान बनायो, जग्गा जोगायो, भवन बनायो र पुस्तकालय दर्ता गर्यो।
त्यसपछि पुस्तकालय आउनेको संख्या झन् बढ्न थाल्यो। नयाँ-पुराना पुस्तक पढ्न पाइने भएपछि पाठकको घुइँचो लाग्न थाल्यो। पुस्तकालय सञ्चालन समितिका पूर्व अध्यक्ष कृष्णचन्द्र झा भन्छन्, “त्यति वेला स्थानीय बासिन्दाको सक्रियतामा पुस्तकालयले लय समातेको थियो। राम्रो अवस्थामा पुगेको थियो।”
हाल भने पुस्तकालयको ढोकामा प्रायः ठूलो ताल्चा झुन्डिएको हुन्छ। वरिपरि घाँस उम्रिएको छ। भित्रका कुर्सीबेन्चमा पनि धुलो जमेको छ। “पहिले दैनिक खुल्थ्यो, अहिले त खुल्दैन। कोही मान्छे आए भने मात्रै खुल्छ,” झा भन्छन्, “मान्छेको नजरबाट पुस्तक र पुस्तकालय जस्ता कुरा ओझेल पर्दै गएका छन्।”
अहिले पुस्तकालयमा एक हजार ५०० पुस्तक छन्। कतिपय नयाँ त कतिपय शुरूआती समयका पुस्तक पनि छन्। स्थानीय बासिन्दाले पुस्तकालयको मर्मतसम्भार गर्दै आएका छन्। तर पढ्ने मान्छे नहुँदा प्रायः बन्द रहन्छ।
मधेशको राजधानी जनकपुरधाममै अन्य दुई वटा पुराना पुस्तकालय छन्, सुहीद र राधाकृष्ण। सुहीद पुस्तकालय त २०१६ सालमा स्थापना भएको थियो। स्थानीय बासिन्दा सत्येन्द्रप्यारा श्रेष्ठ, अम्बिका कोइराला र सरोज कोइराला लगायतको अगुवाइमा पुस्तकालय खुलेको थियो।

त्यति वेला भने यो पुस्तकालय पनि चल्तीमा थियो। बौद्धिक छलफल र बहसको थलो बनेको थियो। उसै पनि जनकपुरले बौद्धिक छलफल र बहसको इतिहास बोकेको छ। अहिले यो पुस्तकालयमा पनि ताला लागेको हुन्छ।
अर्को, राधाकृष्ण पुस्तकालय पनि राम्ररी सञ्चालन हुन सकेको छैन। बन्द हुने अवस्थामा रहेको छ। “अहिले जनकपुर पुस्तकालयविहीन झैं बनेको छ,” झा भन्छन्, “राजनीतिक अगुवा र बुद्धिजीवीले बेवास्ता गर्दा जनकपुरका पुस्तकालय प्राथमिकता परेनन्।”
जनकपुरधामका मात्रै होइन, मधेशका पुस्तकालयको अवस्था दयनीय छ। कतिपय बन्द हुने अवस्थामा पुगेका छन्, कतिपय मान्छे आए मात्रै खुल्छन्। अन्य शहरमा रहेका पुस्तकालय पनि जीर्ण छन्।
अर्को उदाहरण हो, सिरहास्थित सिरहा पुस्तकालय। यो सबैभन्दा पुरानो पुस्तकालयमध्ये पर्ने सञ्चालक समितिका कार्यवाहक अध्यक्ष भोगेन्द्र साह सुनाउँछन्। “प्रबुद्ध व्यक्तिहरूले १९९० सालमै पुस्तकालय खोलेका थिए, तर दर्ता पछि मात्रै भयो,” साह भन्छन्।
सिरहा पुस्तकालय २०१८ माघ २३ गते अञ्चल शिक्षा कार्यालयमा दर्ता भएको अभिलेख छ। स्थानीय बासिन्दाले मुट्ठीदान संकलन गरी पुस्तकालय स्थापना गरेका थिए। पछि स्थानीय रामप्रताप साह सुडीले जग्गा दान गरे। अहिले पुस्तकालय रहेको सिरहा बजारसँगै गोलबजार र महावीर चोकमा पनि पुस्तकालयको जमीन छ।
सिरहा नगरपालिकामा पुस्तकालय छ भने गोलबजारमा रहेको पुस्तकालयको जग्गामा आँपका बिरुवा लगाइएका छन्। खेतिपाती गरिंदै आएको छ। सडक विस्तारका क्रममा भत्काएपछि महावीर चोकमा रहेको भवन एउटा कोठामा सीमित छ।
जग्गाजमीन, भौतिक पूर्वाधार भए पनि सिरहा पुस्तकालय राम्रोसँग सञ्चालन हुन सकेको छैन। “पुस्तक पढ्ने मान्छे नै आउँदैनन् भन्दा हुन्छ,” कार्यवाहक अध्यक्ष सुडी भन्छन्, “नयाँ पुस्ताका पाठकको संख्या अत्यन्त न्यून छ। कहिलेकाहीं लोक सेवा तयारी गर्ने एक-दुई जना विद्यार्थी आउँछन्।”
अहिले पुस्तकालयमा राजनीति, इतिहास, धर्म र संस्कृति विषयक सात हजारभन्दा बढी पुस्तक छन्। तर पाठक नहुँदा नयाँ-पुराना पुस्तक दराजमै थन्किएका छन्। पाठक तान्न पुस्तकालयले कोशिश पनि गरेको उनी सुनाउँछन्। केही स्थानीय बासिन्दा पत्रपत्रिका पढ्न आउँथे। “अखबारप्रति चासो रहेको देखेर सबै पत्रिकाको व्यवस्था गरेका थियौं, तर अहिले त पत्रिका पढ्ने पनि आउँदैनन्,” सुडी भन्छन्।
सिरहा पुस्तकालयमा राखिएका अखबार।
पुस्तक पढाउन र पुस्तकालय जोगाउन अर्को जुक्ति पनि निकालेको उनी सुनाउँछन्। पुस्तकालय परिसरमै सगरमाथा आँखा उपचार अस्पताल छ। उपचारका लागि आउने बिरामी र कुरुवालाई पुस्तक पढ्न दिने व्यवस्था गरिएको छ। पुस्तकालयले प्रतिटिकट २० रुपैयाँ पाउँछ। त्यही पैसाले पुस्तकालय सञ्चालन खर्च धानिरहेको उनी बताउँछन्।
पूर्वी तराईमा मात्रै होइन, पश्चिम तराईका पुराना पुस्तकालयको अवस्था पनि उस्तै छ। नेपालगन्जस्थित महेन्द्र पुस्तकालय २०३५ सालदेखि पाठकले भरिभराउ हुन्थ्यो। कहिलेकाहीं बस्ने ठाउँ नहुने गरेको पुस्तकालय सञ्चालन समितिका अध्यक्ष बलराम यादव सुनाउँछन्। अहिले १५-२० जना मात्रै आउने गरेको बताउँदै अध्यक्ष यादव भन्छन्, “मान्छेमा पुस्तकालय गएर पुस्तक पढ्ने बानी नै हराएर गए जस्तो छ।”
यो पनि २००९ सालमै खुलेको थियो, प्रेम पुस्तकालयका नामले। कपिलवस्तुको तौलिहवाका भोलानाथ शर्मा र वामदेव शर्मा नेपाली कांग्रेसको संगठन विस्तारका क्रममा २००३ सालतिर नेपालगन्ज पुगेका थिए। उनीहरूले स्थानीय बासिन्दालाई प्रेरित गर्न पुस्तकालय सञ्चालन गरेका थिए, जहाँ राजनीतिक पर्चापम्प्लेट पनि पढ्ने व्यवस्था मिलाइएको थियो। त्यसैले स्थानीय बासिन्दा पुस्तकालयतिर आकर्षित पनि थिए।
२०१६ सालमा राजा महेन्द्रको नेपालगन्ज सवारी भयो। उनले पुस्तकालय, विद्यालय र क्याम्पस सञ्चालन गर्न अनुदान दिने आश्वासन दिए। त्यसपछि प्रेम पुस्तकालयको नाम परिवर्तन गरिएर महेन्द्र पुस्तकालय बनाइएको यादव सुनाउँछन्।
त्यसयता राम्रैसँग चलेको पुस्तकालयको २०५३ सालमा भवन पनि बन्यो। नेपालगन्जका तत्कालीन मेयर विजय गुप्ताको अगुवाइमा पाँचकोठे भवन तयार भएको थियो। त्यसमा शटर पनि थिए। तिनै शटर भाडामा लगाएर कर्मचारीको तलबभत्ता र पुस्तकालय खर्च चलेको छ।

तर पछिल्लो समय पाठक आउनै छाडेका छन्। कोभिड-१९ को समयमा पुस्तकालय भवनलाई अन्य प्रयोजनमा लगाउने स्थानीय सरकारले तयारी पनि गरेको थियो। तर पुस्तकालयका सदस्यले जोगाए। पुनः पुस्तकालय सञ्चालनमा ल्याए पनि पाठकको भने कमी रहेको सुनाउँदै यादव भन्छन्, “भौतिक पूर्वाधार छ, पुस्तक छन्, सञ्चालन खर्च पनि जुटेको छ, तर पुस्तक पढ्ने मान्छे छैनन्।”
कता हराए पाठक?
महेन्द्र पुस्तकालयका अध्यक्ष यादवको अनुभव छ, पहिला ज्ञान र मनोरञ्जन हासिल गर्ने माध्यमको कमी थियो। जसले गर्दा पुस्तकालय रोजाइमा पर्थ्यो। “अहिले मोबाइल, टेलिभिजनको प्रयोग बढेको छ। समाज रोजगार केन्द्रित भएको छ, जसले गर्दा पुस्तकालयप्रति रुचि घटेर गएको छ,” उनी भन्छन्।
उनी महेन्द्र पुस्तकालयकै उदाहरण दिन्छन्। यो पुस्तकालयका आजीवन सदस्य २४० जना छन्। उनीहरूमै पनि पठन संस्कृतिको कमी रहेको अध्यक्ष यादव सुनाउँछन्। “पुस्तकालयका आजीवन सदस्य त बढे, तर पुस्तक पढ्ने मान्छे बढेनन्, बरु घट्दै गए,” यादव भन्छन्।
तौलिहवास्थित पशुपति प्रताप पुस्तकालयका अध्यक्ष राजेशकुमार पाण्डेको पनि यस्तै अनुभव छ। नयाँ पुस्ता सामाजिक सञ्जालमा रमाइरहेकाले पुस्तकालय आउन छोडेको पाण्डे सुनाउँछन्। १९९३ सालमा खुलेको पशुपति प्रताप पुस्तकालयमा पढ्न आउने मान्छे पनि उमेर ढल्किंदै गरेका र पाका छन्। “नयाँ पुस्ताका मान्छे आउँदैनन्, पढ्न आउने भनेकै ५० वर्ष कटेका छन्,” उनी भन्छन्।

दशकअघिसम्म निकै लोकप्रिय रहेको पुस्तकालय भरिभराउ हुन्थ्यो। आजीवन सदस्य बन्नेको होड चल्थ्यो। अहिलेसम्म पाँच हजार आजीवन सदस्य बनेका छन्। त्यस्तै, साधारण सदस्यको संख्या पनि दुई हजारको हाराहारीमा रहेको अध्यक्ष पाण्डे बताउँछन्।
तर पाठक पाउन हम्मेहम्मे परेको छ। दैनिक २० जनाको हाराहारीमा आउने गरेको उनी बताउँछन्। किन यस्तो भयो? “पठन संस्कृति नै हरायो। पुस्तक पढ्ने बानी घट्दै गयो,” अध्यक्ष पाण्डे भन्छन्।
शिक्षाविद् अमिना सिंह भाषाको समस्याले पनि पुस्तकालयमा पाठकको कमी देखिएको बताउँछिन्। नयाँ पुस्ता अंग्रेजीप्रति आकर्षित हुँदै गएको र नेपाली भाषा पनि राम्रोसँग नआउने गरेकाले समस्या भएको उनको भनाइ छ। “नयाँ पुस्तामा भाषाको समस्या छ। मोबाइल, कम्प्युटरसँग अभ्यस्त हुँदा रोमन अंग्रेजीमा संवाद गरिरहेको छ, पुस्तक पढ्न गाह्रो भइरहेको छ,” सिंह भन्छिन्।
यससँगै उनी पुस्तकालयमा पनि समस्या देख्छिन्। पुरानै किताब राखेर नयाँ पुस्ता आकर्षित नहुने उनको भनाइ छ। “पुस्तकालयमा अहिले मान्छेलाई लोभ्याउने किताबको अभावका कारण पनि पठन संस्कृति ह्रास हुँदै गएको छ,” उनी भन्छिन्।
कसरी तान्ने नयाँ पुस्ता?
भारतसँग सीमा जोडिएको तराई-मधेशमा राजनीतिकर्मी र धार्मिक गुरुहरूको फराकिलो सोचका कारण पुस्तकालय खुलेका थिए। विशेष गरेर भारतीय शहरमा पुस्तकालय देखेका अगुवाले अनुसरण गरेका थिए। बिस्तारै तराईका पुस्तकालय ज्ञानगुन र परिवर्तनका लागि छलफल गर्ने, बहस गर्ने र निरंकुश शासन विरुद्ध आवाज बुलन्द गर्ने थलोका रूपमा विकास भएका थिए। पछि पञ्चायत शासन विरुद्ध आवाज उठाउन प्रेरित गर्ने थलो पनि बने।
पछिल्लो समय भने राजनीतिक जागरणका लागि आवश्यक भएनन्। झन प्रविधिको विकाससँगै पुस्तक र पुस्तकालयप्रतिको आकर्षण घट्दै गयो। केही वर्षयता त पुस्तकालय नाम मात्रामा सीमित बन्न पुगेको सञ्चालकहरू नै बताउँछन्। यसका लागि पठन संस्कृति पनि बढाउनुपर्ने उनीहरूको मत छ।
नेपालगन्जस्थित महेन्द्र पुस्तकालयको अवलोकनमा आएका विद्यार्थी।
मदन पुरस्कार पुस्तकालयका अनुसन्धान निर्देशक दीपक अर्याल पठन संस्कृति बढाउन पुस्तकालयलाई पुस्तकमा सीमित गर्न नहुने बताउँछन्। बालबालिकालाई आकर्षित गर्न चित्रकला प्रदर्शनी, खेलकूदको अवसर, स्थानीय भाषाका पुस्तक, स्थानीय परिवेशका किताब र संग्रहालय जस्ता गतिविधिलाई सँगै जोडेर लैजानुपर्ने अर्यालको भनाइ छ। “अब किताब मात्रले विद्यार्थीलाई आकर्षित गर्दैन। नयाँ पुस्तालाई पुस्तकालय अवलोकन गराउने र उनीहरूको कथा सुन्ने र सुनाउने परम्परा विकास गरेर पुस्तकालयप्रति चासो बढाउन सकिन्छ,” उनी भन्छन्।
त्यस्तै, शिक्षाविद् सिंह पनि प्रविधिको सहयोग लिनुपर्ने बताउँछिन्। जस्तो- सामाजिक सञ्जालमा पुस्तक पढ्ने समूह बनाएर युवालाई छलफलमा सहभागी गराउन सकिने उनको भनाइ छ। “बदलिंदो परिवेशमा प्रविधिको सहयोग लिएर पठन संस्कृतिको विकास गर्नुपर्छ,” उनी भन्छिन्।
मधेशमै बसेर अध्ययन-अनुसन्धान गरिरहेका अध्येता भोला पासवान सामाजिक सञ्जालको लतबाट अलग गर्न पनि नयाँ पुस्तालाई पुस्तक र पुस्तकालयतर्फ आकर्षित गर्नुपर्ने बताउँछन्। “सामाजिक सञ्जालमा तर्कसंगत र तथ्यपरक बहसको कमी छ, जसले आउने पुस्तामा वैचारिक संकट निम्त्याउने संकेत गर्छ,” पासवान भन्छन्, “नयाँ पुस्तालाई स्कूलदेखि नै पुस्तक र पुस्तकालयसँग मित्रता गाँस्न प्रेरित गर्नुपर्छ।”
तौलिहवास्थित पशुपति प्रताप पुस्तकालयका अध्यक्ष पाण्डे पनि स्कूलदेखि नै पुस्तक र पुस्तकालयप्रति जानकारी दिनुपर्ने बताउँछन्। “पठन संस्कृति विकास गर्न हरेक पुस्तकालयलाई सकस भइरहेको छ,” पाण्डे भन्छन्, “पठन संस्कृति बढाउन नयाँ प्रविधिको प्रयोग गरेर प्रचारप्रसारसँगै शिक्षकले विद्यार्थीलाई प्रेरित गर्नुपर्छ।”
नेपालगन्जको महेन्द्र पुस्तकालयले यस्तै प्रयत्न शुरू गरेको छ। स्थानीय विद्यालयका विद्यार्थीलाई पुस्तकालयमा बोलाएर छलफल गर्न थालिएको अध्यक्ष यादव बताउँछन्। “शिक्षकलाई पुस्तकालय भ्रमणका लागि विद्यार्थी ल्याउन आग्रह गरिरहेका छौं,” उनी भन्छन्, “शिक्षकले अतिरिक्त क्रियाकलापमा राखेर विद्यार्थीलाई पुस्तकालयसम्म ल्याउने गरेका छन्।”