हलमा दर्शक तान्ने चुम्बक बनेका गीत
फिल्मको कथावस्तु बगाउन र मसलाका रूपमा प्रयोग गरिने गीत दर्शकलाई हलसम्म तान्ने सशक्त औजार बनिरहेका छन्।
शिरैमा सिन्दूर आहा
गलामा पोते आहा
... ... ...
म बाँधिएको हुँ वा सजिएको हुँ
बुझिनँ मैले, बुझाइदेऊ कसैले ।
फिल्म बोक्सीको घरमा समाविष्ट प्रकाश सपुतको शब्द/संगीत र समीक्षा अधिकारीको स्वर रहेको गीत हो यो। २०८० चैत २० मा यूट्यूबमा सार्वजनिक गरिएको गीतको भिडिओमा अभिनेत्री केकी अधिकारी र कोरसको नृत्य छ। पुरुषसत्ता विरुद्ध महिलाको विद्रोही आवाज भएको गीतका शब्द निकै रुचाइयो। गीत हालसम्म चार करोड नौ लाख पटकभन्दा बढी हेरिएको छ। अर्कातिर, केकीको नृत्य शैली पछ्याउँदै टिकटक, शर्टस् (यूट्यूब) र रील्स (फेसबूक/इन्स्टाग्राम)का प्रयोगकर्ताले नाचेको भिडिओ क्लिप हाल्न थाले। यसले गीतको चर्चा बढाउँदै लग्यो र लोकप्रियता चुलियो।
यही लोकप्रियताको लाभ गत वैशाख १४ गते रिलिज भएको फिल्मले लियो। ‘बुझिनँ मैले’ गीतकै मिठासमा डोरिएर दर्शकको भीड हलसम्म पुग्यो। फिल्मले कतिपय हलमा ५१ दिन मनायो। सुलक्षण भारतीको लेखन/निर्देशन र केकीको लगानी रहेको फिल्मले १० करोड रुपैयाँको ग्रस कलेक्शन गरेको निर्माण पक्षको दाबी छ।
फिल्मको व्यावसायिक सफलताका लागि गीतले कति भूमिका खेल्छ भन्ने एक उदाहरण हो, बोक्सीको घर। योभन्दा पनि ताजा दृष्टान्त पूर्णबहादुरको सारंगी भएको छ। कात्तिक १५ देखि प्रदर्शनमा आएको सरोज पौडेलको लेखन/निर्देशन रहेको फिल्मले ५० करोड रुपैयाँ कमाउँदै सबैभन्दा धेरै कमाइ गर्ने नेपाली फिल्मको इतिहास रचिसकेको छ।
प्रदर्शनका शुरूआती दिनमा पूर्णबहादुरको सारंगीले दर्शक खासै पाएको थिएन। जब हलमा दर्शक धर्धरी रोएको भिडिओ र फिल्मको ‘काँधेकुरी’ बोलको गीतमा भिडिओ क्लिप बनाएर सामाजिक सञ्जाल प्रयोगकर्ताले टिकटक र रील्समा हाले, धेरैलाई भावुक बनाउँदै यो फिल्मले ध्यान तान्यो। ‘रुवाउने फिल्म’ भन्दै रुमाल र न्यापकिन बोकेर हल जानुपर्ने रमाइलो ठट्टा पनि सञ्जालहरूमा शेयर भए। यसले ‘एक कान दुई कान मैदान’ हुँदै हलमा दर्शकको भीड लाग्यो। शोहरू हाउसफुल भए। भोलि-पर्सिकै शो हेर्न टिकट नपाउने अवस्था पनि देखियो। विजय बरालको मुख्य भूमिका रहेको यो फिल्मले दर्शकबाट माया पाइरहँदा हलमा अझै लागिरहेको छ।
पूर्णबहादुरको सारंगीका ‘काँधेकुरी’ सँगै फिल्मको ‘रैयाँ चाँदीको’ बोलको गीत निकै रुचाइयो। प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वर रहेको ‘काँधेकुरी’ भदौ ३० गते यूट्यूबमा अपलोड गरिएको थियो, जसले हालसम्म एक करोड १५ लाखभन्दा बढी भ्यूज पाएको छ। यस्तै, नवराज पन्तको शब्द, आशिष अविरलको संगीत तथा आशिष र मेलिना राईको स्वर रहेको ‘रैयाँ चाँदीको’ कात्तिक ७ गते सार्वजनिक गरिएको थियो, जुन दुई करोडभन्दा बढी पटक हेरिएको छ।
पूर्णबहादुरको सारंगीको सफलताले यो फिल्म निर्माण टोलीलाई मात्रै खुशी भरेन, पूरै नेपाली फिल्म क्षेत्रमा उत्साह सञ्चार गर्यो। मौलिक कथावस्तु र राम्रो प्रस्तुति भए फिल्म चल्दो रहेछ भनेर फिल्मकर्मीहरूमा हौसला भरिदिएको छ। यसले कोभिड–१९ महाव्याधिपछि थला परेको फिल्म उद्योगलाई उकास्ने कोशेढुंगाको काम गरेको छ।
गत जेठ २५ गते प्रदर्शनमा आएको फिल्म गाउँ आएको बाटोले पनि गीतसँगै दुई कारणले चासो र चर्चा पायो। एक त यो फिल्म निर्देशक नवीन सुब्बाको पाँच वर्षपछिको सिर्जना थियो। अर्को कारण थियो, फिल्ममा समाविष्ट गीत ‘राई माइलाले गावैं छाड्यो रे’। श्रवण मुकारुङको शब्द, कालीप्रसाद बाँस्कोटाको संगीत तथा कालीप्रसाद र सुनिता थेगिमको स्वर रहेको यो गीत उतिवेला धेरैको मुखमा झुन्डियो। नुमाफुङबाट विशेष ख्याति कमाएका निर्देशकको नामले उचालेको राई समुदायको रहनसहनमा आधारित फिल्मलाई दर्शकसम्म पुर्याउन यो गीतले केही न केही भरथेग गर्यो। जेठ १९ गते यूट्यूबमा सार्वजनिक गरिएको गीत हालसम्म एक करोड सात लाख पटक हेरिएको छ।
त्यस्तै, अशोक थापा मगरले निर्देशन गरेको फिल्म खुस्माको ‘रुकुम मैकोट’ बोलको गीत पनि निकै लोकप्रिय भयो। सामाजिक सञ्जालमा जताततै गुन्जियो। गीत भदौ ९ गते यूट्यूबमा आएको थियो भने फिल्म दशैंभन्दा केही साताअघि असोज ३ गते रिलिज भएको थियो।
त्यसबीचमा फिल्मको नाम याद नगरेका दर्शकको दिमागमा गीतको लोकप्रियताले खुस्मा भरिदियो। जसबाट फिल्मले दर्शकको साथ पायो। यो फिल्म हलबाट उत्रिसके पनि गीतको तरंग थामिएको छैन। यो गीत हालसम्म सात करोड २९ लाखले हेरिसकेका छन्।
गीतको जादु
फिल्ममा गीतको प्रयोगको इतिहास एक शताब्दी पुरानो छ। गीतको प्रयोग गरिएको विश्वकै पहिलो फिल्म द ज्याज सिंगरलाई मानिन्छ। सन् १९२७ मा रिलिज भएको यो फिल्म संवाद प्रयोग गरिएको विश्वको पहिलो बोल्ने फिल्म पनि थियो।
नेपालमा हिन्दी फिल्मको प्रभाव ग्रहण गर्दै फिल्ममा गीत अनिवार्य हिस्सा बनाइयो। पहिलो नेपाली फिल्म आमा (२०२२ साल) यता ५९ वर्षे इतिहासमा हामीकहाँ फिल्ममा गीत अनिवार्य जस्तै बनिरहेको छ। गीतको प्रभाव र तागत यतिसम्म हुन्छ, गीतबाटै फिल्म चिनिन्छन्। फिल्म कम दर्शकमा पुग्ने भए पनि गीत विभिन्न माध्यमबाट बहुसंख्यक श्रोतासम्म पुग्छन्।
नेपाली फिल्मका धेरै गीत कालजयी छन्। जसले फिल्मको नाम र अभिनय गर्ने कलाकारहरूको चेहरा सर्लक्क दिमागमा छापिदिन्छ। वजनदार शब्द, मीठो संगीत र बाजाको सन्तुलित प्रयोगका कारण पुराना फिल्मका गीत सदाबहार मानिन्छन्।
पुराना फिल्मको कुरा गर्दा, तुलसी घिमिरे निर्देशित चिनोको ‘मोहनी लाग्ला है’ गीत निकै रुचाइन्छ। यही फिल्मको ‘दियो बाली साँझको’ तिहारको वेला कतै न कतै बजेकै हुन्छ।
घिमिरेले नै निर्देशन गरेको कुसुमे रुमाल एक से एक गीतका कारण संगीतप्रेमीले सम्झिराख्ने फिल्म हो। भुवन केसी, उदितनारायण झा, तृप्ति नाड्कर अभिनीत यस फिल्मका ‘मायाको बारीमा’, ‘सुन भन न’, ‘तिमी नभए जिन्दगानी’, ‘रेली खोला बगर’ आदि गीत कालजयी छन्। माथिका दुवै फिल्ममा रनजीत गजमेरको संगीत छ।
त्यस्तै, फिल्म माइतीघरका ‘वसन्त नै बस्न खोज्छ’, ‘म प्यार बेचिदिन्छु’, ‘नमान लाज यसरी’, ‘जिन्दगीलाई जित हैन’ जस्ता गीत संगीतका हिसाबले उम्दा मानिन्छन्।
फिल्म कान्छीको शीर्ष गीत, राजेश हमालले अभिनय यात्रा थालेको युगदेखि युगसम्मको ‘तीनपाते डाँडा काटेर’, देउताका ‘कसरी भनूँ म’, ‘अब यो बाटो’, ‘पिरतीको मीठो तिर्सना’, ‘के भन्ने हाम्रो समय’ जस्ता गीत धेरैका प्रिय छन्। यस्तै, मुगलानका ‘दशैं आयो’ र ‘मखमली पछ्यौरीले सानु’ र दर्पण छायाको ‘लहनाले जुरायो कि’ पनि चर्चित र लोकप्रिय गीत हुन्।
फिल्म अल्लारेको ‘रातो टीका निधारमा’, आफ्नो मान्छेको ‘चट्ट रुमाल क्या मालुम’, गाउँलेको ‘गोली शीशाको’, बर पीपलको ‘जनम जनम जिउँला सँगै’, सगुनको ‘आगो लाग्यो दिलैमा’ जस्ता दर्जनौं फिल्मका सयौं गीतले आफ्नो समयमा उधुम मच्चाएका थिए। ती फिल्म हेर्ने पुस्तामाझ यी गीत अझै पनि ताजा छन्।
पहिले पनि फिल्मी गीत फिल्मको प्रचारप्रसारको औजार नबनेका हैनन्। तर पहिले रेडियो र टेलिभिजनका निश्चित कार्यक्रम र समयमा बज्थे गीत। अहिले भिडिओ शेयरिङ प्लेटफर्म र सामाजिक सञ्जालमा हरबखत उपलब्ध हुने भएकाले गीतले पार्ने प्रभाव र तरंग ह्वात्तै बढाइदिएको छ।
पाँच दशकदेखि फिल्मका गीतमा संगीत दिंदै आएका संगीतकार शम्भुजित बाँस्कोटा फिल्मको सफलतामा गीतको हात महत्त्वपूर्ण हुने बताउँछन्। उनका अनुसार पहिले फिल्मका गीत तयार पार्दा कथा, पटकथा हेरेर, कस्ता शब्द र कसको आवाज राख्ने भन्ने निर्धारण गरिन्थ्यो। फिल्मलाई उठाउन गीत कति स्तरीय भन्नेमा निर्भर हुने उनको विश्लेषण छ। “गीतले फिल्मलाई कतिसम्म माथि उठाउँछ भन्ने पछिल्लो उदाहरण पूर्णबहादुरको सारंगी हो,” उनी भन्छन्।
पुराना गीत कालजयी हुन्छन् भन्नेमा फिल्म निर्देशक नवीन सुब्बाको फरक मत छ। विगतमा छनोटको कम विकल्प भएका कारण पहिलेका गीत धेरै समय श्रोताको स्मृतिमा गढेको उनको भनाइ छ। “पहिले फिल्मका गीत रेडियोमा बज्थे, पछि टेलिभिजन प्रचलनमा आएपछि हेर्न थालियो,” उनी भन्छन्, “त्यस वेला प्रविधि थिएन, छनोटको विकल्प थिएन। अहिलेका गीतको आयु कम भएको होइन, विकल्प धेरै भएर हो।”
सुब्बाका अनुसार पहिलेका गीत प्रेमप्रधान थिए, पछिल्ला समयका गीतमा जीवन र समाजका कुरा बताउँदा दर्शकले मन पराएका छन् र यो दर्शकमा आएको परिपक्वता हो। “राई माइला र काँधेकुरी गीत चल्नु भनेको समाजले अब फरक धार रुचाउन थाल्यो,” उनी भन्छन्।
प्रचारको औजार
२०६० को दशक ताका फिल्ममा गीतको प्रयोग व्यापक पाइन्छ। फिल्ममा सूत्र जस्तै थिए– पाँच वटा गीत, नाचगान र लडाइँका दुई-चार दृश्य। गीतमा पनि हिरो र हिरोइनको रोमान्स गराउन बीचबीचमा बलजफ्ती खाँदिए जस्ता गीत पनि हुन्थे। पछिल्लो समय एक जनाले सकीनसकी हिरोइज्म बोक्नै पर्ने, द्वन्द्वका दृश्य हुनै पर्ने जस्ता मसलादार धेरै चिज बजारले अस्वीकार गरेको छ। तर गीत चाहिं फिल्मको झनै बलियो पाटो बनेर बसेको छ। फिल्मको प्रचार गरेर दर्शक बोलाउन र कथालाई गति दिन गीतको प्रयोग गर्ने गरिएको छ।
त्यसै अनुसार गीत बनाउन समय र लगानी प्रशस्त लगानी हुने गर्छ। निर्माता, निर्देशक एवम् अभिनेत्री दीपाश्री निरौला आजको समयमा गीतले फिल्मको विज्ञापनको काम गरेको बताउँछिन्। हलसम्म दर्शक ल्याउन सहयोग गर्ने भएकाले फिल्मका अरू पाटोभन्दा गीतमा निकै लगानी र परिश्रम पर्ने उनको अनुभव छ। “प्रचारका लागि गीतको ठूलो भूमिका हुन्छ। फिल्म कस्तो छ भनेर गीतबाट दर्शकमा विश्वास दिलाउन सकिन्छ,” उनी भन्छिन्।
अहिलेका चल्तीका संगीतकार एवम् गायक आशिष अविरल फिल्मका गीत बनाउँदा कथामा विशेष ध्यान दिनुपर्ने र दर्शकलाई तुरुन्तै तान्ने खालको हुनुपर्ने भएकाले धेरै मिहिनेत पर्ने बताउँछन्। “अहिले फिल्ममा लोक शैलीका गीत दर्शकले रुचाएको देखिन्छ। फिल्मका गीत माटोतिर फर्केका हुन् कि भन्ने लाग्छ र जुन राम्रो पक्ष हो,” उनी भन्छन्।
पूर्णबहादुरको सारंगीमा उनले लोक शैलीकै ‘रैयाँ चाँदीको’ गीत बनाए। यो गीत उनले दुई वर्षअघि नै तयार पारेका थिए। फिल्म निर्माण टोलीबाट गीत बनाउन प्रस्ताव आएपछि त्यसै अनुसार ढालेको र त्यो सफल पनि भएको भन्दै उनी खुशी साट्छन्। “गीतको सुन्दरता कहाँनेर हुन्छ भने, पूर्णबहादुरको सारंगी पूरै फिल्ममा दुःख र व्यथाको कहानी छ, यो एउटा रमाइलो गीतले माहोल परिवर्तन गरिदिन्छ,” उनी भन्छन्।
निरौलाको भनाइसँग निर्देशक निश्चल बस्नेत पनि सहमत छन्। नेपालमा फिल्मको बजारीकरण गर्न गीतको ठूलो हात रहेको उनी बताउँछन्। उनका अनुसार फिल्मका टिजर र टेलरभन्दा गीत धेरैले मन पराउँछन्। “सामाजिक सञ्जालमा गीतका टुक्रा काटेर बनाइने टिकटक र रील्स धेरै दर्शकसम्म पुग्छन्। फिल्मको डायलग हालेर प्रचार हुँदैन,” उनी भन्छन्।
संगीतकार सुरेश अधिकारी भने गीत विशिष्ट कला भएको र यसलाई फिल्मको मनोरञ्जन र विज्ञापनभन्दा माथि उठेर हेरिनुपर्नेमा जोड दिन्छन्। “निर्देशक कत्तिको कला मर्मज्ञ छ भन्नेमा भर गर्छ। गीतको सेन्स बुझेको मान्छे भए पक्कै फिल्म राम्रो हुन्छ,” उनी भन्छन्।
संगीतकार अविरल पनि कहिलेकाहीं फिल्म निर्माण टोलीको ध्यान नपुग्दा गीतलाई केवल प्रचारको माध्यम बनाएको देखिने भन्दै असन्तुष्टि पोख्छन्। निर्देशक निरौलाले गीतमा धेरै लगानी गरिने बताए पनि अविरल गीतमा लगानीको कमी देख्छन्। “फिल्मका गीतमा लगानी कम भएकाले हामीलाई असुरक्षित अनुभव हुन्छ,” फिल्मकर्मीमा व्यावसायिकताको पनि अभाव रहेको औंल्याउँदै उनी भन्छन्, “गीत बनाऔं भन्छन्, दुःख गरेर तयार पारेको गीत नै नहाल्ने प्रवृत्ति पनि छ। हामीले त अर्को कम्पनीको गीत राख्यौं भनेर सामान्य ढंगले लिन्छन्। गीत बनाएर दिइएको हुन्छ, त्यसको अन्तरा, लय र पूरै गीत नै चोरिने डर हुन्छ।”
कुनै गीतले नसोचेको सफलता पाएपछि अब नयाँ के भनेर थप चुनौती हुने सुनाउँछन्।
फ्लप फिल्मका हिट गीत
बजार पिटेका सबै चर्चित गीतले हलमा दर्शक जम्मा पारेका मात्रै छैनन्, हिट गीत भएका तर फिल्म फ्लप भएका उदाहरण पनि छन्।
यसको गजब दृष्टान्त हो, फिल्म दुई रुपैयाँ। २०७४ भदौमा रिलिज भएको असीम साह निर्देशित यो फिल्मको ‘कुटुमा कुटु’ बोलको गीतले यूट्यूबमा अहिलेसम्मकै सर्वाधिक हेरिएको नेपाली गीतको कीर्तिमान बनाएको छ। राजनराज शिवाकोटीको शब्द, संगीत तथा राजनराज, मेलिना राई र राजन इशानको स्वर रहेको यो गीतले २१ करोड ५८ लाख भ्यूज पाएको छ। तर गीतका कारण बहुप्रतीक्षित मानिएको यो फिल्मले नाम जस्तै थोरै रुपैयाँमा चित्त बुझाउनुपर्यो। रिलिज हुँदा एक मात्र नेपाली फिल्म रहेको र काठमाडौंका मल्टिप्लेक्समा उच्च शो पाएको फिल्मले लगानी सुरक्षित गरे पनि गीतको सफलताको अनुपातमा मनग्गे कमाइ गर्न सकेन।
गीत हिट भएका र फिल्म नचलेका सूची अझै लामो हुन सक्छ। संगीतकार अधिकारी गीतले दर्शकलाई हलसम्म ताने पनि टिकाइराख्न फिल्मको विषयवस्तु नै महत्त्वपूर्ण हुने बताउँछन्। “गीत मात्रै राम्रो बनाएर भएन, फिल्मको परीक्षण दर्शकले हलमा गरिहाल्छन्,” उनी भन्छन्।
संगीतकार अविरल पहिलेको तुलनामा फिल्मका गीतमा प्रयोग कम हुन थालेको देख्छन्। “बजारमा जुन शैलीका गीत चले, सबै त्यसैको पछि लाग्छन्। एकअर्कासँग मिल्न जान्छन्,” उनी भन्छन्।