२७ वर्षपछि टीकापुरमा हवाई उडान
कैलालीको टीकापुर विमानस्थलमा २७ वर्षपछि हवाई उडान सञ्चालन भएको छ।
तारा एअरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमान चालक दलका तीन सदस्य सहित ६ कर्मचारी र १२ यात्रु बोकेर आइतबार दिउँसो १ः४४ बजे टीकापुर विमानस्थलमा अवतरण गरेको छ। २०४१ असोज २५ गतेदेखि सञ्चालनमा आएको विमानस्थल सशस्त्र द्वन्द्व शुरू भएसँगै २०५३ माघदेखि बन्द थियो। अहिले पुनः सञ्चालनमा आएको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए।
पहिलो उडान मार्फत टीकापुर पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी लगायतलाई टीकापुरका मेयर रामलाल डगौरा, उद्योग वाणिज्य संघ, टीकापुरका उपाध्यक्ष कृष्ण बजगाईं लगायतले स्वागत गरेका छन्। विमान अवतरणका क्रममा सयौंको संख्यामा स्थानीय बासिन्दा उपस्थित थिए।
राज्यमन्त्री चौधरीले टीकापुर विमानस्थलको छिटै स्तरोन्नति गरी आगामी दिनमा काठमाडौं-टीकापुर सीधा हवाई उडान सञ्चालन गरिने बताए। “गत निर्वाचनमा पनि मैले टीकापुर विमानस्थल सञ्चालनको प्रतिबद्धता जनाएको थिएँ, आजदेखि टीकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ, यसको निरन्तरताका लागि मेरो प्रयास रहनेछ,” चौधरीले भने।
टीकापुर नगरपालिकाको पहलमा काठमाडौंदेखि नेपालगन्जसम्म यती एअरलाइन्स मार्फत र नेपालगन्जबाट ‘कनेक्टिङ फ्लाइट’ मार्फत टीकापुर विमानस्थलसम्म तारा एअरले उडान गर्ने गरी व्यवस्थापन गरिएको मेयर डगौराले बताए। आइतबार र बिहीबार काठमाडौं-नेपालगन्ज-टीकापुर र टीकापुर-नेपालगन्ज-काठमाडौं उडान हुनेछ। टीकापुर नगरपालिका र तारा एअरबीच प्रत्येक उडानमा न्यूनतम १५ सीटको रकम सुनिश्चित गर्ने गरी सम्झौता भएको मेयर डगौराले जानकारी दिए।
यती एअरलाइन्सले काठमाडौं-नेपालगन्ज र त्यहाँबाट कनेक्टिङ फ्लाइट मार्फत तारा एअरले नेपालगन्ज-टीकापुर उडान भर्नेछन्। यसका लागि काठमाडौं-टीकापुरको एकतर्फी भाडा नौ हजार रुपैयाँ निर्धारण गरिएको छ।
विमानस्थल सञ्चालनमा आएपछि धनगढी र नेपालगन्ज विमानस्थल धाइरहेका टीकापुर नगरपालिका आसपासका कैलाली, सुर्खेत र बर्दियाका स्थानीयलाई सहज हुने अपेक्षा गरिएको छ। टीकापुर विमानस्थलमा हाल धावनमार्गमा ग्राभेल गरिएको छ।
तारा एअरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार काठमाडौंबाट बिहान १० बजे यती एअरलाइन्सको विमानले नेपालगन्जका लागि उडान भर्नेछ भने त्यहाँबाट दिउँसो १२ः३० बजे तारा एअर यात्रु लिएर टीकापुर पुग्नेछ। सोही दिन दिउँसो १ः२० बजे तारा एअरको विमान नेपालगन्जका लागि प्रस्थान गर्नेछ भने दिउँसो २ः०५ बजे यती एअरलाइन्सको विमान यात्रु लिएर काठमाडौं आउने तालिका छ। -रासस