काठमाडौंको जितसँगै ‘प्लेअफ’ को दौड रोमाञ्चक
काठमाडौं गुर्खाजले विराटनगर किंग्सलाई पराजित गरेसँगै नेपाल प्रिमियर लिग (एनपीएल)को ‘प्लेअफ’ मा पुग्ने प्रतिस्पर्धा रोमाञ्चक बनेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार बिहान काठमाडौंले विराटनगरलाई एक विकेटले पराजित गरेको हो। विराटनगरले दिएको ११८ रनको लक्ष्य काठमाडौंले नौ विकेट गुमाएर १८.१ ओभरमा पूरा गरेको हो।
काठमाडौंका लागि प्रतीक श्रेष्ठले ३९, शंकर रानाले १६, रसिद खानले १४, गेहार्ड इरसमसले १२, दीपेश कँडेलले ११ र मिचेल लेभिटले १० रन बनाए। विराटनगरका लागि सन्दीप लामिछानेले तीन, क्रिस सोल, बसिर अहमद र अनिल खरेलले दुई-दुई विकेट लिए।
यसअघि ब्याटिङ गरेको विराटनगरले १९.५ ओभरमा सबै विकेट गुमाएर ११७ रन बनाएको थियो। विराटनगरका लागि राजेश पुलामीले २५, दीपक बोहराले २०, स्कट इडवार्डसले १५, बसिर अहमदले १३ र निकोलस किर्टोनले १२ रन बनाए।
काठमाडौंका लागि गेहार्ड इरसमसले तीन विकेट लिए। त्यस्तै, दीपेश पुलामीले दुई, शहाब आलम, करण केसी र डन डाउथवेटकले एक-एक विकेट लिए।
यो जितसँगै काठमाडौंले आठ अंक जोडेको छ। काठमाडौंसँगै सुदूरपश्चिम रोयल्स, चितवन राइनोज र कर्णाली याक्सको समान आठ अंक छ। रनरेटमा पछाडि रहेको काठमाडौंलाई ‘प्लअफ’ मा पुग्न भने सुदूरपश्चिम र कर्णालीमा निर्भर रहनुपर्नेछ।
सुदूरपश्चिम वा कर्णाली बाँकी खेलमा नराम्रोसँग पराजित भए मात्रै काठमाडौं ‘प्लेअफ’ मा पुग्नेछ। आजै अर्को खेलमा सुदूरपश्चिम र पोखरा तथा सोमबार लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम र कर्णालीले प्रतिस्पर्धा गर्नेछन्।