स्टेफनको अर्धशतकमा काठमाडौंको शानदार जित
प्रारम्भिक ब्याटर स्टेफन स्केनाजीले अर्धशतक प्रहार गरेपछि पोखरा एभेन्जर विरुद्धको खेलमा काठमाडौं गुर्खाजले शानदार जित निकालेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार बिहान भएको खेलमा काठमाडौंले पोखरालाई ६ विकेटले पराजित गरेको हो। पोखराले दिएको १३९ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंले १४.१ ओभरमै चार विकेट गुमाएर जित हासिल गरेको हो।
काठमाडौंका लागि स्टेफनले अर्धशतक प्रहार गरे। उनले ३४ बलमा १० चौकाको मद्दतले ६० रन बनाए।
त्यस्तै, मिचेल लेभिटले ३२, गेहार्ड इरसमसले २५ र भीम सार्कीले २२ रन बनाए। पोखराका लागि विपिन खत्रीले तीन र मिचेल लिकले एक विकेट लिए। अन्य बलर महँगा सावित भए।
यसअघि ब्याटिङ गरेको पोखराले आठ विकेटको क्षतिमा १३८ रन बनाएको थियो। पोखराका लागि रेमोन रेफरले ४१, दिनेश खरेल ३८ र कुशल भुर्तेलले २७ रन बनाए। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।
त्यस्तै, काठमाडौंका लागि करण केसी र रसिद खानले तीन-तीन तथा गेहार्ड इरसमस र मिचेल लेभिटले एक-एक विकेट लिए।
यो जितसँगै काठमाडौंको ‘प्लेअफ’ को यात्रा जीवितै छ। ६ खेलमा तीन जित सहित ६ अंक जोडेको काठमाडौं पाँचौं स्थानमा उक्लिएको छ।
यो हारसँगै पोखराको ‘प्लेअफ’ यात्रा भने कठिन बनेको छ। ६ मध्ये दुई खेल जितेको पोखराको चार अंक मात्रै छ। उसले अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सलाई हराएर मात्र पुग्दैन, अन्य टोलीको हार-जितमा निर्भर रहनुपर्नेछ।
जनकपुर बोल्ट्स नेपाल प्रियिमर लिग (एनपीएल)को ‘प्लेअफ’ मा पुगिसकेको छ। जनकपुरको १० अंक छ भने अन्तिम खेलमा आज दिउँसो चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ। ६ खेलमा ६ अंक जोडेको चितवनले आजको खेल जितेमा ‘प्लेअफ’ मा पुग्ने सम्भावना बलियो हुनेछ भने पोखरा र विराटनगर एक-एक खेल बाँकी छँदै बाहिरिनेछन्।
दोस्रो र तेस्रो स्थानमा रहेका सुदूरपश्चिम र कर्णाली याक्सको समान आठ अंक छ। चितवन र काठमाडौंको समान ६ अंक छ भने लुम्बिनी दुई अंक सहित पुछारमा छ। लुम्बिनी प्रतियोगिताबाट बाहिरिइसकेको छ।