काठमाडौं उपत्यकाका वनस्पतिको चिनारी
यसै वर्ष प्रकाशनमा आएको पुस्तक ‘प्लान्ट्स अफ काठमान्डु भ्याली- अ पिक्टोरल गाइड’ वनस्पति अध्येताका साथै वनस्पतिप्रति रुचि राख्नेहरूका लागि उपयोगी छ।
राणाशासनको वेला नेपालमा विदेशीलाई काठमाडौं उपत्यकाभन्दा बाहिर जान अनुमति दिइँदैनथ्यो। अध्ययन- अनुसन्धानका निम्ति त अनुमति दिने नीति नै थिएन। तर राणाशासनभन्दा पहिले तीन विदेशीले नेपालको वनस्पति संकलन गरी विदेश लगेका थिए। तिनताका जन्तुका नमूना पनि लैजान दिइन्थ्यो। सन् १८२० मा नेपाल आएका सर ब्रायन हटन हज्सनले नेपालबाट दर्जनौं स्तनधारी र १०० जति चरा प्रजाति पत्ता लगाएका थिए। ती नमूना बेलायतमा संगृहीत छन्। उनी नेपालमा सन् १८४३ सम्म बसे।
सन् १८४६ मा राणाशासन शुरू भयो। त्यसपछि एक दर्जनभन्दा बढी वनस्पति संकलक टीमले वनस्पतिका नमूना संकलन गरी विदेश लगेका थिए। राणा सरकारले बेलायतका निम्ति नेपाल सेनाका मेजर लालध्वज सुनुवार र खडानन्द शर्माबाट नेपालका वनस्पति तथा बीउ संकलन गरी पठाएको थियो। सुनुवारले सन् १९२९ देखि १९३१ सम्म वनस्पति संकलन गरे। उनको निधन भएपछि त्यो काम शर्माले सन् १९३२-१९३७ को अवधिमा गरे।
केशवराज राजभण्डारीले सन् २०१६ मा लेखेको ‘हिस्ट्री अफ बोटानिकल एक्स्प्लोरेशन इन नेपाल : १८०२ - २०१५’ लेख अनुसार बुखानन् ह्यामिल्टन (सन् १८०२-१८०३), नाथानियल वालिच (सन् १८२०-१८२१), वर्नर होफमेइस्टर (सन् १८४५), जोसेफ डाल्टन हूकर (सन् १८४८), जोन स्कली (सन् १८८४-१८८६), एकाई कावागुची (सन् १८८७-१९०३), जुल्स ज्याकोट-गिलारमोड (सन् १९०३), इसाक हेनरी बुर्किल (सन् १९०७), अलेक्जान्डर फ्रेडरिक रिचमन्ड वोलास्टन (सन् १९२१), वसन्तलाल गुप्ता (सन् १९२९), फ्रेडरिक मार्सम्यान बेली (सन् १९३५ र १९३६), अर्नोल्ड हेम र अगस्टो गान्सर (सन् १९३६), मोहनलाल बनर्जी (सन् १८४८), एडवर्ड विस्स-डुनान्ट (सन् १९४९), एस.के. बनर्जी (सन् १९४९), ओलेग पोलुनिन (सन् १९४९) र डोनल जर्ज लोन्डेस (सन् १९५०)बाट वनस्पतिका नमूना संकलन गरी विदेश लगिएको थियो।
नेपालमा विभिन्न समयमा वनस्पति सम्बन्धी चेकलिस्ट सहितका पुस्तक प्रकाशन हुँदै आएका छन्। यो क्रम जारी छ।
उपत्यकाका वनस्पतिको झलक
काठमाडौं उपत्यकामा वनस्पति अध्येता र वनस्पतिप्रति रुचि राख्नेहरू धेरै छन्। उनीहरूलाई स्थलगत रूपमा वनस्पति पहिचान गर्न पिक्टोरियल गाइड-बूक आवश्यक थियो। यो अभाव पूरा गर्ने गरी यसै वर्षको अक्टोबरमा मानबहादुर रोकाया, शालिकराम सिग्देल, सरोजकुमार कसजू र ला दोर्ची शेर्पाले लेखेको पुस्तक प्लान्ट्स अफ काठमान्डु भ्याली- अ पिक्टोरल गाइड आएको छ। पुस्तकमा उपत्यकाका २१ वटा पालिकामा पाइने फूल फुल्ने वनस्पति र जिम्नोस्पर्म्स सहित ८८५ प्रजातिको तस्वीर सहित तिनका विवरण समावेश छन्।
यस पुस्तकबाट स्थलगत रूपमा वनस्पति पहिचान गर्न सकिन्छ। पुस्तकमा फूलको तस्वीर सहित उक्त वनस्पति झार, झाडी, लहरा वा रूख के हो भन्ने खुलाइएको छ। वनस्पतिको चलनचल्तीको नाम, वैज्ञानिक नामका साथै विभिन्न दुई दर्जन जति भाषामा त्यस वनस्पतिलाई के भनिन्छ भन्ने पनि लेखिएको छ।
प्रजाति उल्लेख गर्ने क्रममा वनस्पति औसत कति अग्लो हुन्छ, पातको आकार कस्तो हुन्छ, फूल कस्तो हुन्छ भन्ने विवरण समावेश छ। फूल फुल्ने महीना, फलको आकार, फल रहने महीनाको संक्षिप्त जानकारी, कस्तो भूगोलमा हुन्छ, कति उचाइसम्म पाइन्छ र तिनको उपयोगिता के हुन्छ भन्ने विवरण पनि लेखिएका छन्।
नेपालमा फूल फुल्ने वनस्पति प्रजाति ६ हजार ५०० हाराहारी रहेको अनुमान छ। तीमध्ये प्लान्ट्स अफ काठमान्डु भ्यालीमा १३.६५ प्रतिशत प्रजातिको तस्वीर तथा विवरण छन्। काठमाडौं उपत्यकामा फूल फुल्ने वनस्पतिका दुई हजार ५०० जति प्रजाति होलान्। यस आधारमा पुस्तकमा करीब ३५ प्रतिशत समावेश छन्।
पुस्तकमा एकै प्रजातिका एकभन्दा बढी तस्वीर समावेश गरिएकाले सम्बन्धित वनस्पति प्रजाति सजिलै चिन्न सकिन्छ। यसमा विशेषतः काठमाडौं उपत्यकामा पाइने सुनाखरीका १०१ प्रजाति समेटिएका छन्। यसले सुनाखरीप्रेमीका लागि यो पुस्तक उपयोगी देखिन्छ।
केही प्रजातिका बोट, पात, फूल र फलका तस्वीर समावेश गरिएका छन्। यसबाट वनस्पति पहिचानमा रुचि राख्नेलाई उक्त वनस्पति फुलेको वा फलेको वेला तथा फूल र फल केही नभएको अवस्थामा पनि पातबाट पहिचान गर्न सघाउँछ। पुस्तकमा समाविष्ट अधिकांश तस्वीर सरोजकुमार कसजू र ला दोर्ची शेर्पाले खिचेका हुन्। उनीहरू दुवैले विश्वविद्यालयमा वनस्पति विज्ञान पढेका छैनन्। वनस्पतिप्रति मोहित भएर यसको फोटोग्राफीमा लागेका हुन्। करीब एक दशकयता तस्वीर खिच्दै प्रजाति पहिचान गर्ने क्रममा कसजू र शेर्पाले नेपालका अधिकांश वनस्पतिशास्त्रीभन्दा बढी वनस्पति पहिचान गर्न सक्ने दक्षता हासिल गरेका छन्।
कमजोरी र सीमा
पिक्टोरल गाइडमा तस्वीरको महत्त्वपूर्ण भूमिका हुन्छ। तस्वीर गुणस्तरीय र स्पष्ट भएमा पुस्तक आकर्षक देखिन्छ नै, प्रजाति पहिचानका निम्ति पनि सजिलो हुन्छ। प्रकाशित सामग्रीमा तस्वीरको आकार सानो भए आँखाले राम्ररी ठम्याउन सक्दैन र पहिचान गर्न पनि कठिन हुन्छ।
प्लान्ट्स अफ काठमान्डु भ्यालीमा प्रजाति विवरण सहित एक पृष्ठमा दुई प्रजातिका एक-एक तस्वीर राखिएका छन्। धेरैजसो पृष्ठमा भने प्रजाति विवरण सहित दुई प्रजातिका चार वटा तस्वीर र केहीमा ६ देखि ९ वटासम्म तस्वीर छन्। तस्वीर बढी समेट्ने ध्येयमा गुणस्तरलाई ध्यान दिइएको छैन। छपाइ कमजोरीले होला, एकाध तस्वीर पाठमा लेखिए अनुसार हुन् कि होइन भनेर ठम्याउन सकिन्न।
पुस्तक डिजाइन मानबहादुर रोकाया अनि टाइपसेट मानबहादुर रोकाया र शालिकराम सिग्देलबाट गरिएको उल्लेख छ। पुस्तक प्रकाशनमा टाइपसेटले सम्बन्धित सामग्रीको टाइपिङ अन्तर्गत फन्ट, साइज, स्पेसिङ निर्धारण सहित समग्र पृष्ठको लेआउट डिजाइन बुझाउँछ। यसको अर्थ तस्वीर राख्ने र फिनिशिङ गर्ने काम पनि रोकाया र सिग्देलबाट भएको बुझिन्छ। सम्भवतः पुस्तक प्रकाशनको खर्च कटौती गर्न डिजाइन दक्ष र व्यावसायिक व्यक्तिबाट नगराइँदा तस्वीर गुणस्तरीय नभएको हो कि?
प्लान्ट्स अफ काठमान्डु भ्यालीको अर्को कमजोर पक्ष हो, यसमा रूख प्रजातिका तस्वीर अत्यन्तै थोरै छन्। जस्तै- पशुपतिको श्लेष्मान्तक वनमा यत्रतत्र पाइने सिलिंगे (वैज्ञानिक नामः ओस्मान्थस फ्राग्रान्स) समाविष्ट छैन।
ललितपुर जिल्लामा लौठसल्लाको ट्याक्सस् माइरी प्रजाति प्रशस्त पाइन्छ। त्यो रूख प्रजातिको तस्वीर पुस्तकमा छैन। उक्त प्रजाति नेपालमा पाइन्छ वा पाइँदैन भन्नेमा नेपालका वनस्पतिशास्त्री अलमलमा रहँदै आएका छन्। पुस्तकले समेट्न सकेको भए त्यस्तो द्विविधा चिरिने थियो।
यस्तै, पुस्तकमा काठमाडौं उपत्यकामा पाइने वनस्पति प्रजाति संख्या उल्लेख गर्दा झन्डै चार दशक पुरानो प्रकाशनलाई आधार बनाइएको छ। सन् १९८६ मा प्रकाशित सामग्रीको जानकारी राखिएको छ (पृष्ठ ६)। वनस्पति विभागले हालैका वर्षहरूमा प्रकाशन गरेका अ ह्यान्डबूक अफ द फ्लावरिङ प्लान्ट्स अफ नेपाल (भोलम १-५, २०१७-२०२४) र प्लान्ट्स अफ नेपाल (२०२२) का तथ्यांक विश्लेषणका आधारमा प्रजाति संख्या उल्लेख गरिएको भए राम्रो हुन्थ्यो।
पुस्तकमा ससाना फूलका धेरैजसो तस्वीर क्लोज-अप खिचिएको छैन। ससाना फूलको तस्वीर म्याक्रो लेन्सबाट म्यानुअल मोडमा खिच्दा स्पष्ट देखिन्छ। हुन त, म्याक्रो लेन्सले तस्वीर खिच्दा लेन्सले कभर गरेको भागको बढीमा १० प्रतिशत हिस्सा मात्र फोकस गर्छ। त्यस्ता तस्वीर त्यति सान्दर्भिक हुँदैनन्। यस्ता समस्या निराकरण गर्न २०औं शताब्दीको अन्त्यतिर फोकस स्ट्याकिङ विधिको अवधारणा आयो र सन् २००३ बाट तस्वीर खिच्न शुरू भयो। हिजोआज यो विधि अपनाई लेन्सबाट कभर भएको सबै भाग एकै क्लिकमा फोकस गरेर तस्वीर खिच्न सकिने प्रविधि भएका क्यामेरा छन्। यसका निम्ति निकोन जेट सेरिज, निकोनकै डी ८५०, क्यानन इओएस आर सेरिज, ओलम्पस ओएम सिस्टम आदिका क्यामेरा प्रचलनमा छन्।
नेपालमा वनस्पति अध्ययन तथा अनुसन्धान गर्ने र तस्वीर खिच्नेहरूले समयक्रमसँगै प्रविधिमा फड्को मार्न आवश्यक छ। प्लान्ट्स अफ काठमान्डु भ्यालीमा समावेश गरिएका तस्वीर स्तरीय म्याक्रो लेन्स, फोकस स्ट्याकिङ प्रविधिबाट खिचिएको भए पुस्तक गजबको हुन्थ्यो।
यस्तो सीमा हुँदाहुँदै यो पुस्तक महत्त्वपूर्ण छ। विज्ञान पढ्नेका लागि मात्र होइन, वनस्पतिप्रति सामान्य रुचि राख्नेका निम्ति पनि उपयोगी छ। यस्ता पुस्तक नेपाली भाषामा प्रकाशन भइदिए आमनेपालीलाई हाम्रा वनस्पतिप्रति रुचि र जानकारी बढ्ने थियो।
अपेक्षा गरौं, यसको अर्को भागमा तस्वीरहरू स्तरीय समावेश गरिनेछन् र काठमाडौं उपत्यकाको वनस्पति तथ्यांक अहिलेसम्मकै मिहिन ढंगबाट विश्लेषण गरिनेछ।