लेखा समिति सभापति पोखरेलपत्नी विरुद्ध साढे २२ करोडको सहकारी ठगी मुद्दा
सार्वजनिक लेखा समितिका सभापति ऋषिकेष पोखरेलकी पत्नी अञ्जला कोइराला सहित २६ जना विरुद्ध जिल्ला अदालत, मोरङमा सहकारी ठगीको मुद्दा दर्ता भएको छ।
मोरङको धनपालथान गाउँपालिकामा रहेको उमागौरी कृषि सहकारीको साढे २२ करोड रुपैयाँ कोइराला सहितका सञ्चालकले हिनामिना गरेको आरोप छ। सहकारीका अध्यक्ष शम्भु रौनियार, उपाध्यक्ष लक्ष्मण साह रौनियार लगायत वर्तमान एवं पूर्व सञ्चालकले रकम हिनामिना गरेको अनुसन्धानमा देखिएको छ।
कोशी प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले गत असोजमा प्रहरीलाई अनुसन्धानका लागि फाइल पठाएको थियो। त्यसअघि नै पीडितले जिल्ला प्रहरी कार्यालय, मोरङमा जाहेरी दिएका थिए। तर सहकारी रजिस्ट्रारको कार्यालयले पीडित र सहकारी सञ्चालक रौनियार पक्षसँग छलफल गराइरहेकाले प्रहरीले जाहेरीबारे कारबाही अगाडि बढाएको थिएन। सहकारी रजिस्ट्रारको कार्यालयले प्रहरीलाई पठाएको फाइलमा भने लेखा समिति सभापति पोखरेलकी पत्नी कोइरालाको नाम थिएन।
सहकारीले २०७६ फागुनमा आफ्ना महिला शेयर सदस्यलाई सहुलियतमा ऋण दिने भन्दै विराटनगरस्थित नबिल ब्यांकसँग सम्झौता गरेको थियो, जसलाई महिला उद्यमशील ऋण नाम दिइएको थियो। ऋणीको सम्पत्ति धितो राखेर ब्यांकबाट लिएको यस्तो ऋण भने सहकारीले आधा आफूले राखेर आधा मात्रै सदस्यलाई दिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो।
ब्यांकसँग सम्झौता हुँदा कोइराला सहकारीको सञ्चालक समितिमा थिइन्। उनी २०७३ पुस २ देखि २०७८ माघसम्म पाँच वर्ष सञ्चालक समितिमा रहेकी थिइन्।
अभियोगपत्रमा उल्लेख भए अनुसार सहकारीका ६ हजार ८४२ जना शेयर सदस्यको तीन करोड आठ लाख ८० हजार ३०० रुपैयाँ उमागौरी कृषि सहकारीमा जम्मा भएको देखिन्छ। यसमध्ये ७०७ जनाले २४ करोड ३० लाख २२ हजार ५३४ रुपैयाँ ऋण लिएको लेखापरीक्षण प्रतिवेदनबाट खुलेको छ। यसमध्ये आठ करोड १३ लाख रुपैयाँ ऋण उठे पनि १६ करोड १६ लाख ५७ हजार रुपैयाँ बराबर ऋण उठ्न बाँकी छ।
तर यो जम्मै ऋण सहकारीले ऋणीहरूको जग्गा नबिल ब्यांकमा धितो राखिदिएर लिएको र यसमध्ये आधा मात्रै ऋणीले पाएकाले यो वास्तविक ऋण नभएको खनाल एन्ड एशोसिएट्सले प्रहरीलाई दिएको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ। ‘यही भएर संस्थाको ऋण लगानी बढी देखिएको हो,’ प्रतिवेदनमा भनिएको छ।
२०६८ सालमा स्थापना भएको सहकारी शुरूदेखि नै लगातार घाटामा रहे पनि बाह्य ऋण बढी देखाएर र कृत्रिम ऋण खडा गरेर नाफामा देखाउने गरिएको प्रतिवेदनमा उल्लेख छ। अनुमति विनै सहकारीले मोरङको आमबारी, रमाइलो र अमरदहमा शाखा विस्तार गरेको पनि अभियोजनपत्रमा उल्लेख छ।
लेखा समितिका सभापति पोखरेलेका आडमा सहकारीले बचत हिनामिना गरेको आरोप छ। तर पोखरेल सहकारीमा संलग्न भएको प्रमाण कागजातबाट खुल्दैन। पोखरेलकै सल्लाहमा कोइरालालाई सहकारीमा ल्याइएको त्यस वेलाका कर्मचारी बताउँछन्।
पूर्व सञ्चालकमध्ये एक रोशन राजवंशीले त प्रहरी बयानमै यस्तो संकेत गरेका छन्। राजवंशीले भनेका छन्, “अञ्जला कोइरालाको श्रीमान् राजनीतिक रूपले प्रतिष्ठित व्यक्ति भएकाले अञ्जलालाई सञ्चालकमा राखी संस्थाको ख्याति बढ्ने उद्देश्यले निजलाई सञ्चालक समितिमा आबद्ध गरिएको थियो।”
राजवंशीको बयान लिए पनि प्रहरीले उनलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ।
रुपन्देहीको बुटवलस्थित ग्रामीण स्वावलम्बन विकास केन्द्र (आरएसडीसी), लघुवित्तबाट उमागौरी सहकारीले २०७७ र २०७८ सालमा लिएको साढे तीन करोड रुपैयाँ ऋण तिरेको छैन। आरएसडीसी लघुवित्तले ऋण उठाउन जिल्ला अदालत, रुपन्देहीमा कानूनी लडाइँ समेत लडिरहेको छ। २०७९ चैत १२ गते दर्ता भएको मुद्दा विचाराधीन छ।
लघुवित्तले ग्रामीण भेगका विपन्न वर्गसम्म वित्तीय पहुँच पुर्याउन सामुदायिक वा यही प्रकृतिका सहकारीलाई ऋण उपलब्ध गराउँछ। तर उमागौरीले ऋण नतिरेपछि अहिले कर्जा सूचना केन्द्रले संस्था र त्यसका पदाधिकारीलाई कालोसूचीमा राखेको छ। ऋण दिने वित्तीय संस्थाको अनुरोधमा नेपाल राष्ट्र ब्यांक मातहतको सूचना केन्द्रले कालोसूची निकाल्छ।
२०७९ पुस १३ मा पहिलो पटक केन्द्रले उमागौरी र यसका पदाधिकारीलाई कालोसूचीमा राखेको सूचना प्रकाशित गरेको थियो। त्यसपछि समेत उमागौरीले ऋण चुक्ता नगरेपछि २०८० साउन १ गते, कात्तिक १४ गते र २०८१ जेठ ९ गते पनि खराब ऋणीका रूपमा राखेको सूचना निकालेको छ। त्यस वेला कोइराला सहकारीको सञ्चालक समितिमा थिइन्।
अन्य वित्तीय संस्थाबाट लिएको ऋण समेत नतिरेपछि यो सहकारी कालोसूचीमा परेको छ। यी सबै सूचनामा सहकारीका अध्यक्ष रौनियार, उपाध्यक्ष दिलमाया राई, कोषाध्यक्ष शम्भुप्रसाद सिंह, सचिव आमोद अन्सारी मिया, सदस्य अञ्जला कोइराला लगायतको नाम छ।
बरु कोइरालाले भने उच्च अदालत, विराटनगरमा आफूलाई अनावश्यक रूपमा कालोसूचीमा राखेको भन्दै रिट हालेकी छन्। गत भदौमा हालेको रिटमा अन्तिम फैसला भएको छैन।
यो पनि पढ्नुहोस् : लेखा समिति सभापतिकी श्रीमती पनि मुछिइन् सहकारी ठगीमा