बसिरको अर्धशतकमा विराटनगरको फराकिलो जित
चितवन राइनोज विरुद्धको खेलमा विराटनगर किंग्सले फराकिलो जित हासिल गरेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार भएको खेलमा विराटनगरले चितवनलाई ५१ रनले पराजित गरेको छ। विराटनगरले दिएको १८२ रनको लक्ष्य पछ्याउने क्रममा चितवनले ६ विकेटको क्षतिमा १३० रन मात्रै बनाउन सक्यो।
चितवनका लागि अमर रौटेलाले ४२, सन्तोष कार्कीले २८, कुशल मल्लले २५ र रवि बोपाराले २० रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
विराटनगरका लागि सन्दीप लामिछानेले दुई, क्रिस सोल, बसिर अहमद, सुवास भण्डारी र लोकेश बमले एक-एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको विराटनगरले पाँच विकेटको क्षतिमा १८१ रन बनाएको थियो। विराटनगरका लागि बसिर अहमदले अर्धशतक प्रहार गरे। उनले ४४ बलमा चार चौका र चार छक्का प्रहार गरे।
त्यस्तै, मार्टिन गप्टिलले ४५ र राजेश पुलामीले ३३ रन बनाए। चितवनका लागि रिजन ढकालले दुई, सोहेल तनवीर, बसिल हमिद र कुशल मल्लले एक-एक विकेट लिए।
यो जितसँगै विराटनगरको पनि ‘प्लेअफ’ को सम्भावना जीवितै छ। तथापि ‘प्लेअफ’ का लागि विराटनगरले अर्को खेलमा काठमाडौं गुर्खाजलाई जितेर मात्रै पुग्दैन, अन्य टोलीको खेलमा निर्भर हुनुपर्नेछ।
यसअघि भएको खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई पराजित गरेको थियो। अब शनिबार बिहान पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाज तथा दिउँसो चितवन राइनोज र जनकपुर बोल्ट्सले प्रतिस्पर्धा गर्नेछन्।