राणा शासन विरुद्ध विद्रोह गरेका राणा लेखक
राणा खलकको रोमाञ्चक र रोमान्टिक इतिहास छाडेर गएका पुरुषोत्तमशमशेर जस्ता अथक ऐतिहासिकलाई दश दशक पनि अपुग हुने रहेछ।
राणाकालीन सेरोफेरोका जानेमाने इतिहास लेखक पुरुषोत्तमशमशेर राणाले शतायुको संसार देख्न पाएनन्। चानचुन चार महीना बाँचेको भए उनले परमायुको धर्को छुन्थे। उनले लामो आयु मात्र पाएनन्, राणा खलकको रोमाञ्चक र रोमान्टिक इतिहास छाडेर गए। वास्तवमा पुरुषोत्तमशमशेर जस्ता अथक ऐतिहासिकलाई दश दशक पनि अपुग हुने रहेछ।
पुरुषोत्तमशमशेरको जीवनकालको अन्तिम पुस्तक बन्यो, जंगबहादुर र राणाकालीन दर्पण (विसं २०८०)। उनको स्वास्थ्य संवेदनशीलताका कारण विमोचन भने भएन। इतिहासका पुस्तकमा तस्वीर अकाट्य प्रमाण हुन् भन्ने उनको मान्यता अनुसार त्यसमा ऐतिहासिक र दुर्लभ ४०० थान श्यामश्वेत तस्वीर संगृहीत छन्। त्यसको प्रूफ उनी आफैंले पढेका थिए, तस्वीर परिचय पनि आफैंले लेखेका थिए।
प्रकाशक शिखा बुक्समा पुरुषोत्तमशमशेरको अर्को किताबको पाण्डुलिपि पनि छ, ‘जंगबहादुरको जीवनी’। शिखाका सञ्चालक पुष्पराज पौडेलका अनुसार त्यो साधना पत्रिकामा छापिएका लेखहरूको संकलन हो। दशैं अगावै आवरण र डिजाइन सकिएको छ।
पुरुषोत्तमशमशेरकृत श्री ३ हरूको तथ्य वृत्तान्त (२०४७) इतिहासकै कौतुकमय पुस्तक बन्यो। राणाजी लेखकबाट नेपाली भाषामा आएको किताब भएकाले त्यो रेगिस्तानको नखलिस्तान (ओएसिस) जस्तो भयो। पुरुषोत्तमशमशेर शाद्वलस्थली नै सावित भए।
हजुरबुबाको पछि लाग्दालाग्दै शिकारी समेत बनेका पुरुषोत्तमशमशेरले कतै जागीर खाएनन्। बरु २०१६ सालमा सेतो दरबारमा होटल रोयल एम्पेरर र टुरिस्ट कर्नर खोले। उनलाई इतिहास लेखनतिर हौस्याउने व्यक्ति भने उनकै काका माधवशमशेर थिए। सानैदेखि उनी इतिहासमा चाख राख्थे। बाजे रुद्रशमशेरसँग उनले नमरुन्जेल (विसं २०१९ सम्म) पारिवारिक खोजीनिती गरिरहे। सिंहशमशेरदेखि नरशमशेरसम्मलाई पनि सोध्न छाडेनन्।
पुरुषोत्तमशमशेरले २०४७ सालमा आएर बल्ल पहिलो किताब छाप्ने तारतम्य मिलाए। श्री ३ हरूको तथ्य वृत्तान्तको केही अंश बनारसमा छापेर प्रूफरिडिङका लागि नेपाल फर्किंदा कसैले दरबारमा पोल लगाइसकेछ। मुमा बडामहारानी रत्नकी बहिनी बाबाका पति साहेबज्यू हरिविक्रम शाह त्यसको अग्रमोर्चामा देखिए। किनभने किताबमा लेखिएको थियो, ‘श्री ३ जुद्धशमशेरकी आमा मुसलमान थिइन्।’ रत्न परिन्, जुद्धशमशेरकै नातिनी।
त्यो घेराबन्दीले कति रात त उनी सुत्नै सकेनन्। ‘थुने थुन्छन्, मारी त हाल्दैनन् होला, थुनेछन् भने किताब बढी बिक्री होला’ भन्ने निश्चय गरी उनी रातारात बनारस पुगे र श्रीशंकर मुद्रणालयमा पृथ्वीवीरविक्रमका उत्तराधिकारी घोषणा गरिएका जुना-राजा (रेतेन्द्र शाह) सम्बन्धी केही अंश थपे। त्यसले रत्नलाई अझ छेडछाड भयो।
होटल व्यवसायीबाट इतिहास लेखक बनाउने काकालाई आफ्नो कुनै कृति देखाउन नपाएकामा पुरुषोत्तमशमशेरको थकथकी भने रहिरह्यो। उनी भनिरहन्थे, “कल्पना गरेर, आफ्नो मनको कुरा लेखेर इतिहास हुँदैन। सप्रमाण विगतका घटना भन्न सके मात्र त्यो इतिहास सावित हुन्छ।”
राणा प्रधानमन्त्री जुद्धशमशेरलाई मुसलमानको नाति भनेर लेख्नु भने सरासर गलत भएको कतिपय ऐतिहासिकको मत छ। “अंग्रेज विरुद्ध लखनऊमा लड्न जाँदा वीरशमशेरले ल्याएकी मुसलमान्नीकी छोरा भएको भए जुद्धशमशेरको रोलक्रम काटिन्थ्यो। जुद्धशमशेर विधर्मी हुँदै होइनन्,” ऐतिहासिक महेशराज पन्त भन्छन्, “पुरुषोत्तमशमशेरले आफ्नो परिवारलाई पाल्पा खेदाएको आक्रोश पोख्नुभएको मात्र हो।” उपत्यकामा फलामको काम गर्ने नकर्मीहरूलाई बुद्धको मावली खलक कोलीका सन्तान भएको भनेर भूमिका लेखिदिनु पनि उनको गल्ती भएको पन्त औंल्याउँछन्।
त्यसो त राणा खलकको इतिहास-लेखक पुरुषोत्तमशमशेर पहिलो थिएनन्। जंगबहादुर राणाका पुत्र पद्मजंगले लाइफ अफ महाराजा सर जंगबहादुर अफ नेपाल लेखेका थिए। एसी (अभय चरण) मुखर्जी सम्पादित त्यो जीवनीपरक पुस्तकको प्रकाशन सन् १९०८ मा भारतमा भएको थियो।
त्यसपछि दमनशमशेरले नेपाल, रुल एन्ड मिसरुल (सन् १९७८) लेखे भने प्रमोदशमशेरले राणा नेपाल : एन इन्साइडर्स भ्यू लेखे। राणाशासनको वृत्तान्त त्यसकै नेपाली संस्करण हो।
पुरुषोत्तमशमशेरपछि २०५८ सालमा हेमन्तशमशेरले जनरल नरशमशेर जंगबहादुर राणाको जीवनी (उहाँकै जुवानी) लेखे भने सागरशमशेरले सिंहदरबार : राइज एन्ड फल अफ द राणा रेजिमी अफ नेपाल (सन् २०१७) पनि पारिवारिक इतिहासकै दृष्टान्त हो।
उनका श्री ३ हरूको तथ्य वृत्तान्त (दुई भाग), राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू, सम्झेका र सुनेका कुराहरू, भएका र गुज्रेका घटनाहरू, लुकेछिपेका प्रतिभाहरू, मेरा जीवनका स्मृतिहरू, जंगबहादुर र राणाकालीन दर्पण आदि पुस्तकले हजारौं पाठक कमाएका छन्। पुरुषोत्तमशमशेर भनिरहन्थे, “परिवारको इतिहास लेख्दालेख्दै म त लेखक भइगएछु।”
नेपालका कुँवर राणाजीहरूको बृहत् वंशावली लेखन समेत गरेका इतिहासका प्राध्यापक राजाराम सुवेदी राणा लेखकहरूको पुस्तकमा जति राणाकालीन परिवेश, पात्रबारे मिठास र वास्तविकता बाह्य लेखकमा कमै झल्किने टिप्पणी गर्छन्। “पुरुषोत्तमशमशेरसँग हप्तौं साथै रहँदा पनि राणाकालीन पदाधिकारी र तिनको चालचलन, परिघटना सुनेर थाकिंदैनथ्यो,” सुवेदी भन्छन्, “उहाँको स्मरणशक्ति र वर्णन क्षमता अद्भुत थियो।”
ऐतिहासिक पन्तका अनुसार नेपालको इतिहास क्षेत्रमा तीन थरी लेखक छन्। पहिलो, विश्वविद्यालयको शिक्षा पाएका। दोस्रो, संशोधन-मण्डल जस्तो संस्थाका स्वतन्त्र अध्येता। तेस्रो, आफ्नो परिवार र परम्परागत कामबारे मात्र लेख्ने।
पुरुषोत्तमशमशेर तेस्रोकोटिका इतिहास-लेखक हुन्। आफ्नो खलकको लेख्नेले पढ्नु पनि परेन, अनुसन्धान गर्नु पनि परेन। देखे-सुनेका कुरा लेखे पुगिहाल्यो। तर पुरुषोत्तमशमशेरले आफ्नो घरेलु इतिहास लेखेर पनि महत्त्वपूर्ण सफलता पाए।
पुरुषोत्तमशमशेरका बाजे रुद्रशमशेर राणाकालमा कमान्डर इन चीफ (अतिरथी) थिए। त्यस पदलाई ‘नेक्स्ट प्राइममिनिस्टर’ समेत भनिन्थ्यो। हुनेवाला प्रधानमन्त्री रुद्रशमशेरलाई बहालवाला प्रधानमन्त्री जुद्धशमशेरले जातभातको कारण देखाएर ‘सी क्लास’ मा मात्र झारिदिएनन्, १९९० सालमा रोलक्रम काटिदिए र सर्वस्वहरण गरी पाल्पा धपाए।
राणा प्रधानमन्त्री वीरशमशेरकी कान्छी रानी तोपकुमारी देवीका (काइँला) छोरा रुद्रशमशेरले रुद्रपुर (रुपन्देही)को एक हजार बिघा मौजा, कीर्तिपुर र काठमाडौंका किमती जग्गा, वीरगन्ज मुडभरी दरबार र उनको चारबुर्जा दरबार (हाल निर्वाचन आयोगको भवन) एक रुपैयाँ पनि मुआब्जा नपाईकन छोड्नुपरेको थियो। दासदासी र सेवक-सेविका सहितको दरबारवासीबाट एकैचोटि सडकको सुकुम्बासीमा झारिएपछि रुद्रशमशेरको परिवार नै बागी विद्रोहीमा बदलियो।
जमलको पश्चिममा वीरशमशेरले मुगल शैलीको दरबार बनाएका थिए, १९६२ सालमा। छानोमा चार वटा मिनार (बुर्जा) राखिएकाले त्यो चारबुर्जा दरबार कहलियो। पुरुषोत्तमशमशेर त्यही १५० रोपनी जग्गामा बनेको दरबारमा जन्मिएका थिए। उनको परिवारबाट खोसिएको त्यो चारबुर्जा दरबार जुद्धशमशेरले माइला छोरा बहादुरशमशेरलाई बकस दिए र ‘बहादुर भवन’ कहलियो।
चन्द्रशमशेरले राजकाज चलाएको, बोरिस लिसानेभिचले रोयल होटल खोलेको अनि अन्तरिक्षयात्री भ्यालेन्तिना तेरेस्कोभाले हनिमून मनाएको ठाउँ २००७ सालपछि बहादुरशमशेरले १८ लाख रुपैयाँमा त्रिभुवनका कान्छा छोरा वसुन्धरालाई बेचेको इतिहास छ।
बाजेलाई पदमुक्त गरी पाल्पा खेदिंदा पुरुषोत्तमशमशेर आठ वर्षका मात्रै थिए। पाल्पा दरबारमै पढेर भारतको यूपी बोर्डबाट एसएलसी गरे। बनारसको जयनारायण कलेजबाट इन्टरमिडियट गरी बनारस हिन्दू विश्वविद्यालयमा बीकम पढ्दापढ्दै उनी जनक्रान्तिमा होमिए। नेपाली कांग्रेसले क्रान्तिको लाइन पास गरेको बैरगनिया सम्मेलनमा भाषण पनि ठोके।
बाल्यकालमा पुरुषोत्तमशमशेर धर्मभक्त माथेमाको बाजुमा झुन्डिन्थे भने दशरथ चन्द ठकुरीले रोजै लाखामरी, गोजामरी खुवाउँथे। “१९९७ सालमा दुवै प्रियजन अमर शहीद भएको खबरले मलाई मर्माहत बनायो। त्यो बलिदानी गाथाबाट प्रभावित भएर भीरकोट, गरङकोट, प्यूठान, नुवाकोट, पोखरा, बुर्तिवाङदेखि तराईको बुटवल, भैरहवा, परासीसम्म पुगी जनता जगाउन लागें,” उनले सुनाएका थिए। क्रान्तिताका सरकारी सेनाको जवाफी फायरिङमा आफूले पनि गोली चलाएको उनी सम्झिन्थे।
यति मात्र होइन, पुरुषोत्तमशमशेरले पाल्पा दरबारमा ट्रान्समिशन राखी काठमाडौं र भारतमा सम्पर्क राखे। नेपाली कांग्रेसका शीर्षस्थ नेता बीपी कोइरालालाई भारतबाट पाल्पा दरबारमा ल्याई प्रजातान्त्रिक चेतनासम्पन्न व्यक्तिहरूसँग भेटवार्ता गराए। पाल्पालाई क्रान्तिको सञ्चालन थलो बनाउने गरी बीपीलाई भारत फिर्ता पठाएको थाहा पाएर उनको परिवारको नाममा पक्राउ पुर्जी समेत जारी भयो। तर उनीहरू पाल्पा ढुकुटीको तीन साँचे ब्यांकबाट १० हजार निकालेर लखनऊतिर लागे र दुइटा घरमा कांग्रेसका जनमुक्ति सेनालाई राख्ने व्यवस्था मिलाए।
बिहार, उत्तर प्रदेश र बंगालबाट हातहतियार, गोलाबारूद्ध, खाकी लुगाफाटोका साथै मदिरा उपहार पाएको र मुक्ति सेनालाई मोटर, बस र रेलबाट बहादुरगन्ज र कृष्णनगर पुर्याएको तथा तराईका जमीनदारहरूसँग रासन व्यवस्था मिलाएको उनी सगर्व सुनाउँथे।
यति मात्र होइन, पटक पटक हैदराबाद हाउस, नयाँ दिल्ली पुगी राजा त्रिभुवनलाई पश्चिम मोर्चाको समाचार दिएको, दिल्ली सम्झौतापछि हैदराबाद हाउसमै प्रजातान्त्रिक पार्टीका मन्त्री छनोटका वेला उपस्थित भएको र २००७ फागुन ४ मा बुबा ईश्वरशमशेर र आफू राजा त्रिभुवनसँग एउटै जहाजमा काठमाडौं फर्किएको सुनाउँदा उनका आँखा चम्किला हुन्थे।
जनक्रान्तिमा लाग्दा उनको परिवारको फेरि पनि सर्वस्वहरण भयो। उनको परिवार काठमाडौं आउनुपर्नेमा लखनऊ छड्किएपछि क्रूद्ध भएका मोहनशमशेरले १२-१३ वटा हात्ती, हात्तीसार, खस्यौलीमा नौ वटा मोटर, ग्यारेज र जग्गा फौज पठाएर जफत गराए। तर प्रजातन्त्रको आगमनपछि चारबुर्जा दरबार सहित अन्य जायजेथा फिर्ता हुने नेताहरूको आश्वासन पूरा नहुँदाको आक्रोश पनि उनमा छँदै थियो। क्रान्ति सफल भएपछि काठमाडौं फर्कंदा आफ्नो हालत सुकुम्बासीको जस्तै भएको उनी सुनाउँथे। कहिले कसको आश्रयमा त कहिले भाडाघरमा।
पुरुषोत्तमशमशेरले बाग्लुङ, गल्कोटकी मल्ल-ठकुरी कन्यासँग विवाह गरे। एक छोरा र एक छोरी जन्मिएपछि पत्नीको निधन भएकाले अर्को विवाह गरेनन्। कुपोन्डोल निवासमा उनी प्रायः एक्लै देखिन्थे। ठूलो टीभी स्क्रीनमा सिनेमा हेरेर बसेका देखिन्थे।
उनीकहाँ लेखक-पत्रकारको सहज पहुँच थियो। काजु, पेस्ता, बदाम, ओखर आदि सुक्खा फलहरूले जतिखेर पनि स्वागत गर्थे। अतिथिहरू चाहेन्जी मुठ्याएर खल्तीमा हाल्थे। लामो समय मिर्गौला समस्यासँग जुधेका यी लेखक ह्वीलचेयरको सहारामा हिंड्थे।
अब पुरुषोत्तमशमशेरको टीनको बाक्सामा रहेका करीब १० हजार दुर्लभ तस्वीरको के हुन्छ? ऐतिहासिक महेशराज पन्तलाई जिज्ञासा छ। जगतजंगको हत्यापछि जंगबहादुरको बेलायत यात्राको फोटो अल्बम वीरशमशेरको परिवारमा आएको थियो। क्रमशः त्यो पुरुषोत्तमशमशेरको पुस्तामा आइपुग्यो। त्यसले उनमा इतिहासप्रतिको अनुराग झनै बढायो। राणा परिवारका कसैसँग नभएका तस्वीर आफूसँग रहेको उनको दाबी थियो।
“पुरुषोत्तमशमशेरसँग मेरो कहिल्यै देखादेख वा भेटघाट भएन। तर उहाँका भेटे जति किताब पढें। म कमै मानिसको संगत गर्छु, लेखकलाई त किताबबाटै जोख्छु,” ऐतिहासिक पन्त भन्छन्, “पुरुषोत्तमशमशेर लामो समय बाँच्नुभयो, लेखेर बस्नुभयो। हामीले उहाँका सबै होइन, चाहिने कुरा छानेर प्रयोग गर्नुपर्छ। त्यसका लागि उहाँको सन्दुकमा रहेका ऐतिहासिक सामग्री संरक्षण गर्न सके सबैको भलो हुन्थ्यो।”
यो पनि पढ्नुहोस् : पुरुषोत्तमशमशेरलाई इतिहास सुनाउने खटपटी