कला र साहित्यले मान्छेलाई समृद्ध बनाउँदो रहेछ
बेलायतमा छँदा पढेर र भिडिओ हेरेर समाज र देश बुझिरहेकी थिएँ भने नेपाल आएपछि प्रत्यक्ष रूपमा आफ्नो समुदाय, कला, संस्कृति र संस्कार बुझ्न सकिरहेकी छु। फिल्म क्षेत्र मेरा निम्ति समाज बुझ्ने पाठशाला पनि भइदिएको छ।
ऐतिहासिक माहोलमा संलग्न गराई कलाकारिता र साहित्य क्षेत्रका आदरणीय व्यक्तित्वहरूसामु आफ्नो कुरा राख्न दिनु मेरा निम्ति एकदमै ठूलो कुरा हो। मगर महिलाले साहित्यको यत्रो उत्सव आयोजना गरेर जसरी आफ्नी चेलीलाई तपाईंहरू समक्ष परिचित गराइदिनुभयो, त्यसले मलाई असाध्यै खुशी लागिरहेको छ।
मेरा निर्देशक पनि यहीं हुनुहुन्छ। मेरो अभिनय यात्रा नाटकबाट शुरू भएको कुरा तपाईंहरूले सुन्दै आउनुभएको हो। तर खासमा मेरो अभिनयको प्रारम्भ घरबाटै भएको हो। मेरी आमाले कला-साहित्यमा नै आफ्नो जीवन बिताउनुभएको थियो। आमाको कर्म देखेर म सानैदेखि प्रभावित हुँदै गएँ। त्यसैकारण म आज यो क्षेत्रमा छु जस्तो लाग्छ।
आफ्नी छोरीलाई यहाँसम्म ल्याउन एउटी आमा, एक महिलाले कला-साहित्य बुझ्नु कति महत्त्वपूर्ण हुँदो रहेछ भन्ने कुरा अहिले बुझ्दै छु। मेरी आमाले जसरी कला र साहित्यलाई सम्मान गर्नुहुन्थ्यो, उहाँले नै मलाई पनि सानैदेखि मगर साहित्य र कलाबारे सिकाउँदै आउनुभयो। त्यही हिसाबले म अगाडि बढ्दै गएँ।
म हङकङमा जन्मिएँ। दुई वर्षकी छँदा नेपाल फर्किएर १२ वर्षको उमेरमा परिवारसँगै बेयालत सरें। बेलायतमै पढाइ गरें। प्रारम्भका संघर्षका दिन त्यहीं बिते। त्यो स्वदेश बाहिरको संघर्ष थियो। तर मलाई शुरूदेखि नै नेपाल फर्किएर केही गर्छु भन्ने थियो। मलाई नेपाल फर्किएर संघर्ष गर्न परिवारले कहिल्यै छेकबार गरेन। झन् बढी प्रोत्साहन दियो। म स्वदेश फर्किएँ। यहाँ फर्किएर के गर्ने भन्ने सोचिहेर्दा मैले फिल्म क्षेत्र रोजें।
संघर्ष मेरो मात्र होइन, सबैको अप्ठ्यारो नै हुन्छ। शुरूमा अनुप बराल सरको थिएटरमा तीन महीनाको अभिनय कला सिकेर नाटकमा अभिनय थालें। त्यसपछि फिल्ममा पाइला सारेको हो। हरेक फिल्मले मलाई धेरै कुरा सिकाएको छ। त्यसका निम्ति मेरा निर्माता, निर्देशक र टीमप्रति म आभारी छु।
देशबाट धेरै युवा बाहिरिइरहेको वेला म स्वदेश फर्किएर संघर्ष गरिरहेको छु भन्दा ‘प्रिभिलेज’ जस्तो लाग्ला। मेरो जस्तो परिस्थिति सबैको नहुन सक्छ। तर म चाहिं देश फर्किएर काम गरिरहेकी छु। यो संघर्षले मलाई आफ्नो समाज र देश बुझ्न मद्दत गरिरहेको छ।
बेलायतबाट मैले पढेर र भिडिओ हेरेर समाज र देश बुझिरहेकी थिएँ भने नेपाल आएपछि प्रत्यक्ष रूपमा आफ्नो समुदाय, कला, संस्कृति र संस्कार बुझ्न सकिरहेकी छु। नेपालको विविधता चिनिरहेकी छु। यसमा सबैको सहयोग र साथ प्राप्त गरेकी छु। फिल्म क्षेत्र मेरा निम्ति समाज बुझ्ने पाठशाला पनि भइदिएको छ। यो मेरा लागि निकै ठूलो उपलब्धि हो।
कुनै पनि क्षेत्रमा अगाडि बढ्न चाहनुहुन्छ भने साहित्य पढ्न र त्यसलाई बुझ्न अत्यन्त महत्त्वपूर्ण छ। किनकि मेरो बुझाइमा साहित्यले मान्छेलाई ठाउँ चिनाउँछ, समय चिनाउँछ, जसरी मैले समाज चिनिरहेकी छु। जसरी साहित्यले मलाई अगाडि बढ्न प्रोत्साहन गरिरहेको छ, त्यसका आधारमा म के भन्न चाहन्छु भने, तपाईंहरू पनि सकेसम्म बढीभन्दा बढी साहित्य पढ्नुहोस्। आफ्नो समुदायलाई चिन्ने कविताहरू हुन्छन् कि किताबहरू हुन्छन्, पढ्ने गर्नुहोस्। साहित्य पढेर नै धेरै कुरा बुझिंदो रहेछ भन्ने मेरो अनुभव हो।
यो कामलाई निरन्तरता दिन पनि मेरा अगाडि संघर्षका दिनहरू धेरै आउँछन् होला। सबैलाई आउँछ नै। तर किञ्चित् नआत्तिनुहोस्। आफूलाई म यही काममा लाग्छु भन्ने भएपछि त्यही बमोजिम आत्मविश्वास आउनेछ। कसैको कुरा नसुनेर आफ्नो कर्ममा विश्वास गरेर अगाडि बढ्नुहोस्। युवालाई मेरो अनुभवका आधारमा भन्नुपर्ने कुरा यही हुन्छ।
तर हाम्रा अग्रजलाई पनि मेरो भनाइ के छ भने, युवालाई प्रोत्साहन गर्न नछाड्नुहोला। कुन बाटोमा लाग्न चाहनुहुन्छ, सहयोग गरिदिनुहोला।
म दुई पुस्ता (अभिभावक र सन्तान)बीच संवादको कमी देख्दछु। यस्तो दूरी मेटाउन हामीले बेलायतमा पनि काम गरेका थियौं। मेरो अनुभव के हो भने, हामी युवाले अग्रजको कुरा सुन्नुपर्छ भने अग्रजले पनि आफ्ना सन्तानका कुरा सुनी प्रोत्साहन गरिदिनुपर्छ।
(अभिनेत्री मगरले बुटवलमा मंसीर २१-२२ मा आयोजित प्रथम मगर साहित्य महोत्सव-२०८१ मा राखेको विचारको सम्पादित अंश।)