कर्णालीको सनसनीपूर्ण जित
नेपाल प्रिमियर लिग (एनपीएल)को ‘लो स्कोर’ खेलमा कर्णाली याक्सले सनसनीपूर्ण जित हासिल गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार बिहान भएको खेलमा कर्णालीले लुम्बिनीलाई पाँच रनले पराजित गरेको छ। कर्णालीले दिएको १२९ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले १२३ रन मात्रै बनाउन सक्यो।
जितका लागि अन्तिम दुई ओभरमा लुम्बिनीलाई १४ रन आवश्यक थियो। कर्णालीका कप्तान सोमपाल कामीले १९औं ओभरमा ६ रन मात्रै दिए। उनको पहिलो बलमा लुम्बिनीका साद बिन जाफर रन आउट भएका थिए।
त्यसपछि लुम्बिनीलाई अन्तिम ओभरमा नौ रन आवश्यक थियो। कर्णालीका नन्दन यादवले तीन रन मात्रै दिए।
यादवले पहिला दुई बल डट फाले भने त्यसपछिका तीन बलमा एक-एक रन मात्रै दिए। अन्तिम बलमा लुम्बिनीलाई ६ रन चाहिएकोमा एक रन पनि लिन सकेन। यो जितसँगै कर्णालीको ‘प्लेअफ’ को सम्भावना बलियो बनेको छ।
लुम्बिनीका लागि टोम मोरिसले ३६, सन्दीप जोराले २४, आशुतोष घिरैया र साद बिन जाफरले १६-१६, अर्जुन साउदले १३ र रोहित पौडेलले १० रन बनाए। कर्णालीका लागि जीशन मक्सूदले दुई, सोमपाल कामी, नन्दन यादव, विपिन शर्मा र विलियम बोसिस्टोले एक-एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको कर्णालीले आठ विकेटको क्षतिमा १२८ रन बनाएको थियो। कर्णालीका लागि विलियम बोसिस्टोले ४४, अर्जुन घर्तीले २५, बाबर हयातले २० र चडविक वाल्टनले १३ रन बनाए। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।
लुम्बिनीका लागि विकास आग्रीले तीन, तिलक भण्डारीले दुई, रामोन सायमन्ड्स, साद बिन जाफर र रोहित पौडेलले एक-एक विकेट लिए।
यो जितसँगै कर्णाली आठ अंक सहित तेस्रो स्थानमा उक्लिएको छ। अब ‘प्लेअफ’ का लागि अन्तिम खेलमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ।
लुम्बिनी भने यसअघि नै बाहिरिइसकेको थियो। लुम्बिनीले सातमध्ये एक खेल मात्रै जित्न सक्यो।
अब अर्को खेलमा विराटनगर किंग्स र चितवन राइनोज प्रतिस्पर्धा गर्दै छन्।