विदेश जाने बढेको बढ्यै, तर रेमिटेन्स स्वाट्टै घट्यो
नेपालको अर्थतन्त्रको मुख्य खम्बाका रूपमा दरिएको रेमिटेन्स भित्रिने क्रम कात्तिकमा स्वाट्टै घट्न पुगेको छ।
नेपाल राष्ट्र ब्यांकले बिहीबार सार्वजनिक गरेको तथ्यांकले वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने रकम कात्तिक महीनामा उल्लेख्य घट्न पुगेको देखाएको छ। कात्तिकमा नेपालमा ८३ करोड अमेरिकी डलर मात्रै रेमिटेन्स भित्रिएको छ। अघिल्ला महीनाहरूको तुलनामा यो निकै थोरै हो।
असोजमा एक अर्ब आठ करोड अमेरिकी डलर रेमिटेन्स भित्रिएको थियो। भदौमा ९४ करोड र साउनमा एक अर्ब दुई करोड अमेरिकी डलर रेमिटेन्स भित्रिएको थियो।
चाडपर्वको मुखमा असोजमा विदेश बस्ने नेपालीले घरपरिवारलाई बढी रेमिटेन्स पठाएका कारण कात्तिकमा रेमिटेन्सको मात्रा घटेको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि कात्तिकको जसरी रेमिटेन्स यसपछिका महीनामा पनि घट्यो भने त्यो नेपालको अर्थतन्त्रका लागि चिन्ताजनक हुन सक्छ।
आर्थिक वर्षको पहिलो चार महीनालाई हेर्दा अघिल्लो वर्षका तुलनामा यो वर्ष रेमिटेन्समा खासै वृद्धि हुन सकेको देखिंदैन। यो वर्षको कात्तिकसम्म नेपालमा तीन अर्ब ८७ करोड अमेरिकी डलर रेमिटेन्स भित्रिएको छ। गत वर्षको कात्तिकसम्म तीन अर्ब ६० करोड अमेरिकी डलर रेमिटेन्स भित्रिएको थियो। यसले गत वर्षका तुलनामा वास्तविक रेमिटेन्स रकमको वृद्धिदर ७.५ प्रतिशत मात्रै रहेको देखिन्छ।
जबकि यसबीचमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा उल्लेख्य वृद्धि आइरहेको देखिन्छ। गत आर्थिक वर्षमा मात्रै सात लाख ४१ हजार नेपालीले वैदेशिक रोजगारीमा जान अनुमति लिएको (नयाँ र नवीकरण गरी) तथ्यांक छ। यसले वैदेशिक रोजगारीमा जाने क्रम बढे पनि रेमिटेन्स भित्रिने क्रम घटेको संकेत गर्छ।
नेपाली रुपैयाँमा पनि रेमिटेन्सको वृद्धिदर खस्किएको देखिन्छ। राष्ट्र ब्यांकका अनुसार नेपाली मुद्रामा परिवर्तन गर्दा यस वर्ष कात्तिकसम्म नेपालमा पाँच खर्ब २१ अर्ब ६३ करोड रेमिटेन्स भित्रिएको छ। यो गत वर्षका तुलनामा ९.१ प्रतिशतको वृद्धि हो। कात्तिकमा रेमिटेन्सको वृद्धिदर पछिल्लो २८ महीनायताकै सबैभन्दा थोरै हो।
गत वर्षको मंसीरमा २७.६ प्रतिशतको उच्च बिन्दुले रेमिटेन्स बढे पनि त्यसयता रेमिटेन्सको वृद्धिदर घटिरहेको छ। यसले रेमिटेन्स रकम थोरै बढिरहेको देखिए पनि वृद्धिदर घटिरहेको देखाउँछ।
यो पनि पढ्नुहोस् : मूल्यवृद्धि दर फेरि बढ्न थाल्यो, तरकारी एकतिहाइले महँगो