मूल्यवृद्धि दर फेरि बढ्न थाल्यो, तरकारी एकतिहाइले महँगो
एक वर्षयता मध्यम बिन्दुमा रहेको उपभोक्ता मूल्यवृद्धि दर फेरि उकालो लाग्न थालेको छ।
नेपाल राष्ट्र ब्यांकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो चार महीना (कात्तिक मसान्तसम्म)को तथ्यांकले कात्तिकमा मूल्यवृद्धि दर ५.६ प्रतिशत पुगेको देखाएको छ। यो पछिल्लो एक वर्षयताकै उच्च मूल्यवृद्धि दर हो।
गत असारमा मूल्यवृद्धि दर न्यून बिन्दु ३.५७ प्रतिशतमा ओर्लिएको थियो। असारयता क्रमशः बढिरहेको मूल्यवृद्धि दर असोजमा ४.८२ प्रतिशत पुगेको थियो। मंसीरमा फेरि यो बढेको हो।
दुई वर्ष उच्च बिन्दुमा रहेको मूल्यवृद्धि दर गत वर्षदेखि क्रमशः घटिरहेको थियो। तर फेरि यो बढ्ने संकेत देखा परेको छ।
अघिल्लो वर्षको सोही अवधिका तुलनामा यो वर्ष वस्तु र सेवाको बजार मूल्य कति बढ्यो भन्ने गणना गरेर केन्द्रीय ब्यांकले मूल्यवृद्धिको दर निकाल्छ। यो सयौं वस्तुको मूल्यको थपघटको औसत तथ्यांक हो।
मूल्यवृद्धि दर ५ प्रतिशत भयो भन्नुको अर्थ एक वर्षअघि कुनै सामानलाई १०० रुपैयाँमा किन्न सकिन्थ्यो भने अहिले त्यही सामान किन्न १०५ रुपैयाँ तिर्नुपर्छ भन्ने बुझिन्छ।
केन्द्रीय ब्यांकका अनुसार कात्तिकमा खाद्य तथा पेयपदार्थ समूहमा सबैभन्दा धेरै मूल्यवृद्धि भएको छ। यो समूहको मूल्यवृद्धि दर ९.१ प्रतिशत छ। खाद्य तथा पेयपदार्थ समूहको उच्च मूल्यवृद्धिले न्यून आय भएका घरपरिवार बढी मर्कामा पर्छन्। किनभने न्यून आम्दानी गर्ने घरपरिवारको आम्दानीको अधिकांश हिस्सा खानेकुरामा खर्च हुन्छ।
खासगरी, तरकारीको मूल्य एक वर्षअघिका तुलनामा एकतिहाइले उच्च हुन पुगेको तथ्यांकले देखाएको छ। कात्तिकमा तरकारीको मूल्य ३३.९९ प्रतिशत तथा दाल तथा गेडागुडीको मूल्य १०.७८ प्रतिशतले बढेको छ। त्यसैगरी, खाद्य तथा खाद्यजन्य पदार्थको मूल्य १०.१५ प्रतिशत र घ्यू तथा तेलको मूल्य ९.२९ प्रतिशतले बढेको छ।
यद्यपि मरमसलाको मूल्य १.४१ प्रतिशतले, चिनी तथा चिनीजन्य पदार्थको मूल्य १.२८ प्रतिशतले र माछा तथा मासुको मूल्य ०.०२ प्रतिशतले घटेको छ।
कात्तिकमा गैरखाद्य तथा सेवा समूहको मूल्य ३.६५ प्रतिशतले मात्रै बढेको छ। कात्तिकमा मदिराजन्य पेयपदार्थको मूल्य ६.३५ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको मूल्य ४.५७ प्रतिशत र सुर्तीजन्य पदार्थको मूल्य ४.२४ प्रतिशतले बढेको छ। यद्यपि निर्माण सामग्रीको मूल्य ४.६२ प्रतिशतले घटेको छ।
कात्तिकमा सबैभन्दा धेरै कोशीमा ७.१९ प्रतिशतले तथा सुदूरपश्चिममा ६.७५ प्रतिशतले मूल्य बढेको छ भने सबैभन्दा थोरै मूल्यवृद्धि गण्डकी प्रदेशमा ४.६९ प्रतिशत छ।
कात्तिकमा थोक मूल्यवृद्धि ५.१६ प्रतिशत रहेको देखिएको छ। थोक मूल्यवृद्धि उच्च हुनुले आगामी महीनाहरूमा पनि मूल्य बढ्ने जोखिम देखिन्छ।
यो पनि पढ्नुहोस् : विदेश जाने बढेको बढ्यै, तर रेमिटेन्स स्वाट्टै घट्यो