दुर्गा प्रसाईंलाई ४० हजार धरौटीमा छाड्न आदेश
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत, काठमाडौंले आदेश दिएको छ।
जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको एकल इजलासले धरौटीमा छाड्न आदेश दिएको स्रेस्तेदार रामु शर्माले बताए। “इजलासबाट ४० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ,” शर्माले भने।
प्रसाईं विद्युतीय अपराधको कसूरमा पक्राउ परेका थिए। उनले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा लागेको थियो।
प्रसाईं विरुद्ध विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसूरमा अनुसन्धान भइरहेको छ। उनी मंसीर ४ गतेदेखि प्रहरी हिरासतमा छन्।
उनी विरुद्ध संगठित अपराध सम्बन्धी कसूरमा पनि अनुसन्धान भइरहेको छ। त्यस्तै, भारतमा मान्छे राखेर व्यापारीलाई धम्क्याउँदै रकम असुलेको पनि आरोप छ। यसमा पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ।
सीआईबीका अनुसार विद्युतीय कारोबारको कसूरमा धरौटीमा छाड्न अदालतले आदेश दिए पनि आपराधिक लाभ लिएको कसूरमा अनुसन्धान जारी रहेकाले उनी प्रहरी हिरासतमै रहनेछन्।