काठमाडौंलाई हराउँदै जनकपुर ‘प्लेअफ’ मा
काठमाडौं गुर्खाजलाई हराउँदै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल)को ‘प्लेअफ’ मा प्रवेश गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो खेलमा जनकपुरले काठमाडौंलाई पाँच विकेटले पराजित गरेको हो। काठमाडौंले दिएको १०२ रनको लक्ष्य जनकपुरले पाँच विकेट गुमाएर १५.५ ओभरमै पूरा गरेको छ।
जनकपुरका लागि जेम्स निशमले २७, हर्ष थाकरले २५, लाहिरु मिलन्थाले १६, मोहम्मद मोहसिनले १३ र अनिल साहले ११ रन बनाए। काठमाडौंका लागि करण केसीले दुई, शहाब आलम, गेहार्ड इरसमस र दीपेश कँडेलले एक-एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको काठमाडौंले १९.३ ओभरमा सबै विकेट गुमाएर १०१ रन बनाएको थियो। काठमाडौंका लागि गेहार्ड इरसमसले २०, करण केसीले १९ र स्टेफन स्केनाजीले १७ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
जनकपुरका लागि ललित राजवंशी र शेर मल्लले तीन-तीन, मोहम्मद मोहसिनले दुई तथा किशोर महतो र अरनिको यादवले एक-एक विकेट लिए।
यो जितसँगै ६ खेलबाट १० अंक जोडेर जनकपुर शीर्षस्थानमा उक्लिएको छ। साथै, एनपीएलको ‘प्लेअफ’ मा पुग्ने पहिलो टोली बनेको छ।
उता, खेलमा हार बेहोरेसँगै काठमाडौंको ‘प्लेअफ’ मा पुग्ने बाटो कठिन भएको छ। चार अंक रहेको काठमाडौंले अब पोखरा र विराटनगरसँगको खेल जित्नुपर्नेछ।
त्यस्तै, सुदूरपश्चिम रोयल्स आठ अंक सहित दोस्रो स्थानमा छ। लुम्बिनी लायन्स ‘प्लेअफ’ को दौडबाट बाहिरिइसकेको छ भने विराटनगरको सम्भावना पनि न्यून बनेको छ।
चितवन राइनोज र कर्णाली याक्स ६-६ अंक सहित तेस्रो र चौथो स्थानमा छन्। पोखरा र काठमाडौं चार-चार अंक सहित पाँचौं र छैटौं नम्बरमा छन्। विराटनगर भने पुछारमा छ।
यसअघि भएको खेलमा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई ‘सुपर ओभर’ मा पराजित गरेको थियो। शुक्रबार बिहान लुम्बिनी र कर्णाली तथा दिउँसो विराटनगर र चितवनले प्रतिस्पर्धा गर्नेछन्।