ग्लोबल आइएमई ब्यांकको साधारणसभा सम्पन्न
ग्लोबल आइएमई ब्यांक लिमिटेडको १८औं वार्षिक साधारणसभा बिहीबार काठमाडौंमा सम्पन्न भएको छ।
साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफा तथा पूँजी समायोजन कोष समेतबाट ब्यांकले आफ्ना शेयरधनीलाई प्रस्ताव गरेको ५.५ प्रतिशत बोनस शेयर लाभांश दिने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ।
साधारणसभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई पनि अनुमोदन गरेको छ। यससँगै बोनस शेयर वितरणपश्चात् कायम हुने पूँजीवृद्धिको हदसम्म हुने गरी प्रबन्धपत्र र नियमावली संशोधनको प्रस्ताव पारित गरिएको छ।
ब्यांकले आव २०८०/८१ मा १२ अर्ब ४८ करोड रुपैयाँ सञ्चालन मुनाफा र ६ अर्ब १३ करोड रुपैयाँ करपछिको मुनाफा आर्जन गरेको थियो। प्रस्तावित बोनस शेयर वितरणपछि ब्यांकको चुक्ता पूँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ पुग्नेछ।
नेपाल सरकार र नेपाल राष्ट्र ब्यांकद्वारा घोषित नीतिहरूको पूर्ण परिपालना गर्दै शेयरधनीलाई उचित लाभांश प्रदान गर्न ब्यांक प्रतिबद्ध रहेको अध्यक्ष ढकालले बताए। ग्लोबल आइएमई ब्यांक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य ब्यांक हो।