सुपर ओभरमा पोखराको महत्त्वपूर्ण जित
पोखरा एभेन्जर्सले ‘सुपर ओभर’ मा विराटनगर किंग्सलाई हराउँदै महत्त्वपूर्ण जित हासिल गरेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो पटक ‘सुपर ओभर’ मा हार-जित भएको हो। यो जितसँगै पोखराले अर्को चरणको सम्भावना जीवित राखेको छ।
‘सुपर ओभर’ मा पोखराले दिएको १९ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरले पाँच रन मात्रै बनाउन सक्यो। पहिले ब्याटिङ गरेको पोखराले १८ रन बनाएको थियो। रेयमन रेफरले सन्दीप लामिछानेको बलमा दुई छक्का र एक चौका प्रहार गरेका थिए।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार विराटनगरले दिएको १४० रनको लक्ष्य पछ्याउने क्रममा पोखराले ६ विकेटको क्षतिमा १३९ रन बनाएको थियो। पोखराका रेयमन रेफरले अन्तिम बलमा छक्का प्रहार गर्दै खेललाई ‘सुपर ओभर’ मा पुर्याएका थिए।
पोखराका लागि एन्ड्रिज गउसले ३९, रेयमन रेफरले ३४, कुशल भुर्तेलले ३१, दिनेश खरेल र मिचेल लिकले ११-११ रन बनाए। विराटनगरका लागि प्रतीश जीसीले चार र क्रिस सोलले दुई विकेट लिए।
पहिले ब्याटिङ गरेको विराटनगरले सात विकेटको क्षतिमा १३९ रन बनाएको थियो। विराटनगरका लागि स्कट इडवार्डले ४५, लोकेश बमले २६, बसिर अहमदले २१ र निकोलस किर्टोनले १९ रन बनाए।
पोखराका लागि सागर ढकाल र रेयमन रेफरले दुई-दुई तथा कुशल भुर्तेल र दिनेश खरेलले एक-एक विकेट लिए।
यो जितसँगै पोखराले चार अंक जोडेको छ। अब काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्ससँगको खेल जितेमा अर्को चरणमा प्रवेश गर्न सक्नेछ।
यो हारसँगै विराटनगर अंकतालिकाको पुछारमा झरेको छ। दुई अंक रहेको विराटनगरलाई अर्को चरणमा प्रवेश गर्न अब चितवन राइनोज र काठमाडौं गुर्खाजसँगका दुवै खेल जितेर मात्रै पुग्दैन, अन्य टोलीको हार-जितमा निर्भर हुनुपर्नेछ।
अहिलेसम्म सुदूरपश्चिम र जनकपुर आठ-आठ अंक सहित शीर्षस्थानमा छन्। त्यस्तै, ६-६ अंक रहेका चितवन र कर्णाली याक्स तेस्रो र चौथो नम्बरमा छन्। समान चार अंक रहेका काठमाडौं र पोखरा पाँचौं र छैटौं स्थानमा छन्।
आजै दोस्रो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाज प्रतिस्पर्धा गर्दै छन्।
यो पनि पढ्नुहोस् : लुम्बिनीको लय बिगार्ने त्यो अन्तिम ओभर