पत्रकारलाई धाकधम्की बन्द गर : सात दल
सात राजनीतिक दलले पत्रकारलाई धाकधम्की दिन बन्द गर्न धरानका मेयर हर्क साम्पाङलाई सचेत गराएका छन्।
सात राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गरी मेयर साम्पाङका अभिव्यक्तिप्रति दुःख व्यक्त गरेका छन्। उनीहरूले पत्रकारलाई नधम्क्याउन आग्रह गरेका छन्।
हिमालखबरमा छापिएको समाचारलाई लिएर पत्रकार गोपाल दाहाललाई धम्क्याएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनीहरूले भनेका छन्, ‘पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईलाई समेत जोड्दै महासंघका केन्द्रीय पार्षद् गोपाल दाहाललाई सामाजिक सञ्जाल मार्फत धम्क्याएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। यस गम्भीर विषय उपर धरानका राजनीतिक दलहरू मूकदर्शक भएर बस्न र टुलुटुलु हेरिरहन सक्दैनन्।’
धरानका नेकपा (एमाले)का अध्यक्ष हर्कजंग एभेङ, नेपाली कांग्रेसका सभापति श्याम पोख्रेल, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष मनोज भट्टराई, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष ताजुब लिम्बू, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष रेवतीरमण राई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष अर्जुन खड्का र सलोराम संघीय लिम्बुवान मञ्चका अध्यक्ष मोहनप्रसाद तिगेलाले संयुक्त विज्ञप्ति जारी गरी पत्रकारलाई धम्क्याउने कार्य बन्द गर्न आग्रह गरेका छन्।
उनीहरूले भनेका छन्, ‘स्थानीय प्रमुख जस्तो व्यक्तिले सञ्चार क्षेत्रप्रतिको अभिव्यक्ति, समर्थकहरू मार्फत गरिने धाकधम्कीपूर्ण व्यवहारहरू बन्द गर्दै नेपाल पत्रकार महासंघ, सुनसरीसँग समन्वय गर्दै स्थानीय सरकार र सञ्चारकर्मीसँग सुमधुर सम्बन्ध कायम गरी धरानको समग्र विकास र समृद्धिका लागि भएका सामूहिक प्रयासहरूको सन्देह प्रवाह गर्न र गराउन हामी हार्दिक अनुरोध गर्दछौं।’
धरानका मेयर साम्पाङका कामकारबाहीलाई लिएर खोज पत्रकारिता केन्द्रको सहयोगमा दाहालले तयार पारेको रिपोर्ट हिमालखबरमा प्रकाशन भएको थियो। त्यसलाई लिएर मेयर साम्पाङले धम्की दिएका थिए। त्यस्तै, साेही विषयमा उनका समर्थकले पनि मेसेज गरेर पत्रकार दाहाललाई धम्क्याएका थिए।
यो पनि पढ्नुहोस् : हर्क साम्पाङको मनमौजी शासन, बेथितिको दलदलमा धरान