जाजरकोटमा बोलेरो दुर्घटना, पाँच जनाको मृत्यु
जाजरकोटको नलगाडमा बोलेरो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।
गए राति ११ बजे नलगाड नगरपालिका-५, कालीबाटीबाट करुवा जाँदै गरेको ग ३ च ९८४५ नम्बरको बोलेरो कैना-कड्के सडक अन्तर्गत बिरखोला नजीक दुर्घटना भएको हो। ब्रेक फेल भएपछि बोलेरो सडकबाट करीब ८०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेले बताए।
दुर्घटनामा परी नलगाड नगरपालिका-३, करुवाका ३१ वर्षीय इन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १७ वर्षीया लक्ष्मी पुन रोका र लक्ष्मीका एक महीनाका छोरा आलोचन रोकाको ज्यान गएको छ। इन्द्रजित गाडी चालक हुन्।
दुर्घटनामा दुई जना घाइते छन्। उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।