लुम्बिनीको लय बिगार्ने त्यो अन्तिम ओभर
पहिलो खेलमै मनोबल खस्किएको लुम्बिनी लायन्सलाई कप्तान रोहित पौडेलले जति राम्रो प्रदर्शन गर्दा पनि लयमा फर्काउन सकेनन्।
नेपाल प्रिमियर लिग (एनपीएल)को सातौं खेल। प्रतिस्पर्धामा थिए, लुम्बिनी लायन्स र विराटनगर किंग्स। लुम्बिनीका शुरूआती ६ वटै ब्याटरले राम्रो प्रदर्शन गरेर १९१ रन बनाउँदा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको माहोल नै बदलियो।
किनकि यसअघिका ६ खेलमध्ये चार खेलमा सामान्य स्कोर बनेको थियो भने उच्च स्कोर बनेका दुई खेलमा पनि लक्ष्य पछ्याउने टोली नराम्रोसँग पराजित भएका थिए। सुदूरपश्चिम रोयल्सले दिएको १८३ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर किंग्स ९२ रनमै र चितवन राइनोजले दिएको १६२ रनको लक्ष्य पछ्याउँदा पोखरा एभेन्जर्स ७४ रनमै समेटिएका थिए।
एनपीएलको पहिलो खेलमा १२७ रन मात्रै बनाउन सकेको विराटनगर जनकपुर बोल्ट्ससँग नराम्ररी पराजित भएको थियो। जनकपुरले २७ बल बाँकी छँदै विराटनगरलाई आठ विकेटले हराएको थियो। दुई खेलमा नराम्रोसँग पराजित भएर मनबोल खस्केको विराटनगरले विशाल लक्ष्य पाएपछि लुम्बिनीको जित सुनिश्चित जस्तै ठानिएको थियो।
पहिलो ओभरमै विराटनगरका इस्मात आलमलाई आउट गरेपछि त लायन्सको गर्जन झन् बढ्यो। एकातिर प्रारम्भिक ब्याटर लोकेश बम पारी सम्हालिरहेका थिए तर उनलाई साथ दिन आएका ब्याटरहरू एकपछि अर्को गर्दै पभेलियन फर्कंदै थिए। जब ७१ रन बनाएर खेलिरहेका बम १७.४ ओभरमा आउट भए, त्यसपछि लुम्बिनीले खेल जिते सरह खुशी मनाएको थियो।
यो खेलमा अन्तिम ओभरमा विराटनगरलाई १६ रन चाहिएको थियो। दुई बल वाइड फालेर विवेक यादवले विराटनगरका कप्तान सन्दीप लामिछानेलाई आउट गरे। आठ विकेट गुमाइसकेको विराटनगरका लागि क्रिजमा आएका क्रिस सोलले पहिलो बलमा रन बनाउन सकेनन्।
त्यसपछि विराटनगरलाई चार बलमा १४ रन आवश्यक थियो। सोलले तेस्रो बलमा छक्का र त्यसपछि लगातार दुई चौका प्रहार गरेर एक बल बाँकी छँदै लुम्बिनीलाई पाखा लगाए।
बस, अन्तिम ओभरमा लुम्बिनीले खेल मात्रै गुमाएन, लय पनि गुमायो। त्यो खेलले खस्किएको लुम्बिनीको मनोबल छैटौं खेलसम्म पुग्दा पनि माथि उठ्न सकेन। कप्तान पौडेलले उत्कृष्ट प्रदर्शन गरे पनि बाँकी टीम भने लयमा आउन सकेन र एक खेल बाँकी छँदै प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ।
लुम्बिनी बाहिरिए पनि कप्तान पौडेल भने सबैभन्दा बढी रन बनाउने खेलाडी बनेका छन्। मंसीर २६ मा एनपीएलका १९ वटा खेल सकिंदा पौडेलको नाममा २६९ रन छ। जबकि दोस्रो स्थानमा रहेका जनकपुरका लाहिरु मिलन्थाको १७५ र तेस्रो स्थानमा रहेका चितवन राइनोजका रवि बोपाराकाे १६९ रन छ।
पहिलो खेलमा खस्किएको मनोबल बढाउन कप्तान पौडेलले दोस्रो खेलमा पनि निकै प्रयास गरेका थिए। पहिलो खेलमा ४६ रन बनाएका उनले पोखरा विरुद्धको दोस्रो खेलमा ९५ रन प्रहार गरे। उनको टोलीले १७० रन बनायो। यो लक्ष्य पनि पोखराले भेट्टाउला भने कमैलाई विश्वास थियो। किनकि पोखराले पहिलो खेलमा १०३ रन मात्रै जोडेको थियो।
तर पोखराको प्रदर्शन आश्चर्यजनक रह्यो। प्रारम्भिक ब्याटर एड्रिज गउसले १०४ र दिनेश खरेलले ६१ रन प्रहार गरेपछि लुम्बिनी १० विकेटले पराजित भयो। यो हार त कप्तान पौडेललाई पनि पचाउन गाह्रो भयो। खेलपछिको पत्रकार सम्मेलनमा बोल्न अप्ठ्यारो भएपछि पौडेल ख्यालठट्टामा उत्रिंदै बोले, “अब बुमराह बोलाउनुपर्ने भयो।” भारतीय तीव्रगतिका बलर जसप्रित बुमराह अन्तिम ओभरमा बलिङ गर्न माहिर मानिन्छन्।
शुरूआती दुई खेलमा नराम्ररी पराजित भएको लुम्बिनीको तेस्रो खेल पनि सम्झनलायक भएन। सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याउने क्रममा उसले १४२ रन मात्रै बनाउन सक्यो। आत्मविश्वासको कमी देखिएका लुम्बिनीका खेलाडी खराब शट प्रहार गर्दै बाहिरिए।
बलिङ कमजोर देखिएपछि कप्तान पौडेलले नै बल समाते। उनले ५.५ को इकोनमी राख्दै एक विकेट पनि लिए। तर त्यो सुदूरपश्चिमलाई रोक्न पर्याप्त थिएन। अन्य बलर भने महँगा सावित भए। अघिल्ला खेलमा मनोबल खस्किएका लुम्बिनीका ब्याटरमा सुदूरपश्चिमले दिएको विशाल लक्ष्य भेट्टाउने साहस देखिएन।
लगातार तीन खेलमा नराम्रो हार बेहोरेको लुम्बिनीले चौथो खेलमा मौका पाएको थियो। तर सम्हालिन नसक्दा जनकपुरसँग एक रनले पराजित हुन पुग्यो। जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याउने क्रममा १३५ रन मात्रै बनाउन सक्यो। यस खेलमा पनि कप्तान पौडेलले ३५ रन जोडेका थिए, तर अन्य खेलाडीले गतिलो साथ दिन सकेनन्।
यस खेलमा पनि पौडेलले राम्रो बलिङ गरेका थिए। उनले चार ओभरमा २२ रन खर्चिएर दुई विकेट लिएका थिए। अन्य बलरले पनि राम्रो प्रदर्शन गरेका थिए। तर अन्तिम तीन ओभरमा पाँच विकेट गुमाएपछि एक रनले खेल पनि गुम्यो।
पाँचौं खेलमा चितवन राइनोज प्रतिस्पर्धी थियो, जसले कमजोर प्रदर्शन गरिरहेको थियो। पौडेलले ८० रन प्रहार गरेपछि लुम्बिनीको १६७ रन पुगेको थियो। जबकि अन्य ब्याटर प्रभावशाली देखिएनन्। साद बिन जाफरले अर्धशतक बनाएर कप्तानलाई साथ त दिए, तर अन्य ब्याटर लयमा फर्किन सकेनन्।
झन्डै हारिसकेको खेल कप्तान पौडेलले नै बलिङ गरेर जोगाए। उनले चार ओभरमा १७ रन खर्चेर चार विकेट लिए। मंसीर २५ मा निकालेको यो जितसँगै लुम्बिनी लयमा फर्किने आश गरिएको थियो। यो जितले लुम्बिनीको अर्को चरण प्रवेशको सम्भावना कायमै राखेको थियो, तर आजको हारले उक्त ढोका बन्द भयो।
खचाखच भरिएको त्रिवि मैदानमा मंसीर २६ को दिउँसो पहिले ब्याटिङ गरेको काठमाडौंको खेलले लुम्बिनीलाई लयमा फर्किने मौका दिएको थियो। अघिल्ला खेलहरू कमजोर बलिङका कारण हारेको लुम्बिनीका बलरले राम्रो प्रदर्शन गरेर काठमाडौंलाई १०३ रनमै समेट्न सफल भए।
तर लुम्बिनीको दोस्रो इनिङ आत्मविश्वासी देखिएन। लगातार विकेट गुमाउँदै गयो। खेलमा कप्तान पौडेल सम्हालिन सकेनन्, उनलाई दीपेक कँडेलले एलबीडब्लूको धरापमा पारे। त्यसपछि पुरानै रोगले समात्यो, विकेट झर्दै गयो र लुम्बिनी चार बल बाँकी छँदै ८५ रनमै खुम्चियो। यो हारसँगै लुम्बिनीको एनपीएल यात्रा एक खेल बाँकी छँदै सकिएको छ।
एनपीएलमा पौडेलले भने राम्रो प्रदर्शन गरे। उनी अहिलेसम्म सर्वाधिक रन बनाउने खेलाडी छन्। त्यस्तै, सबैभन्दा बढी विकेट लिने १० खेलाडीभित्र छन्। उनले सात विकेट लिएका छन् भने सबैभन्दा बढी विकेट लिने चितवनका सोहिल तनवीरको नाममा नौ विकेट छ।
कप्तान पौडेलले ब्याट र बलबाट उत्कृष्ट प्रदर्शन गरे पनि टीमको मनोबल बढाउन सकेनन्। लुम्बिनीले पहिलो खेलमा गुमाएको आत्मविश्वास बाँकी खेलमा फर्काउन सकेन। यो एनपीएल पौडेलका लागि व्यक्तिगत रूपमा राम्रो भए पनि लुम्बिनीका लागि भने सम्झिनलायक भएन।