रोमाञ्चक खेलमा काठमाडौंको जित
कप्तान करण केसीले उत्कृष्ट प्रदर्शन गरेपछि काठमाडौं गुर्खाजले ‘लो स्कोर’ खेलमा लुम्बिनी लायन्सलाई रोकेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार भएको खेलमा काठमाडौंले लुम्बिनीलाई १८ रनले पराजित गरेको हो। काठमाडौंले दिएको १०४ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी ८५ रनमै समेटियो।
लुम्बिनीका लागि सन्दीप जोराले २६, उन्मुक्त चन्दले १४ र सूर्य तामाङले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
काठमाडौंका लागि कप्तान केसीले चार विकेट लिए। उनले चार ओभरमा १६ रन मात्रै खर्चिए। त्यस्तै, दीपेश कँडेलले तीन, गेहार्ड इरसमसले दुई र रशिद खानले एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको काठमाडौंले १९.२ ओभरमा १०३ रन बनाएको थियो। काठमाडौंका लागि भीम सार्कीले ३१, डन डाउथवेटले २१, प्रतीक श्रेष्ठले २० र स्टेफन स्केनाजीले १३ रन बनाए। अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।
लुम्बिनीका लागि साद बिन जाफरले तीन, रमोन साइमन्ड्स र अभिनाश गौतमले दुई-दुई तथा सूर्य तामाङ र विवेक यादवले एक-एक विकेट लिए।
यो जितसँगै काठमाडौं पाँचौं स्थानमा उक्लिएको छ। चार खेलमा दुई हार र दुई जितसँगै काठमाडौंको चार अंक भएको छ।
सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स आठ-आठ अंक सहित पहिलो र दोस्रो स्थानमा छन् भने चितवन राइनोज र कर्णाली याक्स ६-६ अंक सहित तेस्रो र चौथो स्थानमा छन्। लुम्बिनी, पोखरा र विराटनगरको दुई-दुई अंक मात्रै छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा यसअघि भएको खेलमा जनकपुरलाई हराउँदै सुदूरपश्चिम शीर्षस्थानमा उक्लिएको थियो। बिहीबार बिहान पोखरा र विराटनगर तथा दिउँसो जनकपुर र काठमाडौंले प्रतिस्पर्धा गर्नेछन्।