द्वन्द्वपीडितले मागे संक्षिप्त सूची छनोटको आधार
द्वन्द्वपीडितले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्य सिफारिश समितिसँग संक्षिप्त सूची बनाउँदा केकस्ता मानकलाई आधार बनाइएको हो, उपलब्ध गराउन माग गरेका छन्।
सिफारिश समितिले मंसीर २२ मा दुवै आयोगका अध्यक्ष र सदस्यका लागि संक्षिप्त सूची सार्वजनिक गरेको थियो। सूची छनोटको आधार पारदर्शी हुनुपर्ने भन्दै मंसीर २६ मा पीडितहरू सुमन अधिकारी, गीता रसाइली, सुशीला चौधरी, सृजना श्रेष्ठ, गोपालबहादुर शाह, सुरेन्द्र खत्री, निरञ्जन चौधरी, रूपेश शाह र बब्लु लामाले सिफारिश समितिलाई आग्रह गरेका हुन्।
‘प्रकाशित संक्षिप्त सूचीमा केही उम्मेदवार समेटिने र केही नसमेटिने गरी समितिले निर्णय लिनका लागि लिइएका आधार, मापदण्ड तथा मानकहरू के थिए र छोटो सूचीमा परेकाहरूको केकस्ता मानकको आधारमा समितिले मूल्यांकन गर्दै छ, सो सम्बन्धी सूचना समेत नेपालको संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ३ र ७ बमोजिम उपलब्ध गराइदिनुहुन निवेदन गर्दछौं,’ पीडितहरूले भनेका छन्।
बन्द कोठाभित्र हुने प्रस्तुति र छलफलले प्रक्रियाको विश्वसनीयता बढाउने होइन, उल्टो यसबारे शंका पैदा गर्दै समग्र छनोट प्रक्रियालाई वैधताको संकटतर्फ धकेल्ने पीडितको निष्कर्ष छ।
यसअघि दुवै आयोगको सदस्यका लागि आवेदन दिएका श्रीराम अधिकारीले पनि पूर्वाग्रही भएर संक्षिप्त सूची बनाइएको आरोप लगाएका थिए। अधिकारीले पनि यो प्रक्रिया रद्द गरेर पुनः छनोट प्रक्रिया अघि बढाउन माग गरेका थिए।
यो पनि पढ्नुहोस् :