सहकारी बचतकर्ताको रकम फिर्ता गर्न आयोगको निर्देशन
सहकारी बचतकर्ताको रकम फिर्ता गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई निर्देशन दिएको छ।
देशभरका सहकारीपीडित बचत रकम फिर्ताको माग गर्दै लामो समयदेखि आन्दोलनरत छन्। सञ्चालकहरूले सहकारीको रकम हिनामिना गरेपछि बचतकर्ता समस्यामा परेका छन्।
बुधबार आयोगले ‘सहकारी सम्बन्धमा देखिएको समस्याको सार्थक समाधान खोज, बचतकर्ताको रकम फिर्ताको लागि ठोस कदम चाल’ भन्दै सरकारलाई निर्देशन दिएको हो। आयोगले प्रेस विज्ञप्ति जारी गरी सहकारीका समस्याप्रति ध्यानाकर्षण भएको जनाएको छ।
विगतमा सहकारीपीडितको समस्या समाधान गर्ने र बचतकर्ताको रकम फिर्ता गर्ने भन्दै सरकारले गरेको सहमति कार्यान्वयन नभएकोमा आयोगले चिन्ता जनाएको छ। आयोगका प्रवक्ता टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा व्यक्तिको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको हनन भएको भन्दै राज्य र पीडितबीच भएका सहमति कार्यान्वयन गर्न, शान्तिपूर्ण प्रदर्शन तथा सभा-सम्मेलन गर्न पाउने नागरिकको संविधानप्रदत अधिकारको संरक्षण गर्नुका साथै सहकारीमा देखिएको कानूनी, नीतिगत लगायत सबै प्रकारका समस्या समाधान गर्न भनिएको छ।
आयोगले भनेको छ, ‘बचतकर्ताको बचत फिर्ता र दोषीलाई कारबाहीको लागि सार्थक र परिणामुखी कार्य गरी समयमै यो समस्या समाधान गर्न आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ।’