असदको पतनपछिकाे सिरिया
सिरियाको विपक्षी गठबन्धन राष्ट्रपति असदको दशकौं लामो शासन हटाउन सफल भए पनि गठबन्धनभित्रका समूहको आपसी वैचारिक मतभेद, दीर्घकालीन महत्त्वाकांक्षा र फरक फरक विदेशी शक्तिसँगको निकटताका कारण राजनीतिक स्थिरता अझै टाढा देखिन्छ।
सिरियामा राष्ट्रपति बशर अल-असदको दशकौं लामो भ्रष्टाचार, दमन र विदेशी हस्तक्षेपयुक्त शासन अन्त्य भएसँगै जारी गृहयुद्ध नयाँ मोडमा आइपुगेको छ। हिंसात्मक द्वन्द्वले नाटकीय रूपमा कोल्टे फेर्दा विपक्षीहरूको गठबन्धन आखिरमा दीर्घकालीन राजनीतिक गतिरोध चिर्न सफल भएको छ।
यद्यपि सिरियाका विपक्षी गठबन्धनहरू आपसमा विवादास्पद विचारबाट निर्दिष्ट रहेको र उनीहरूको दीर्घकालीन महत्त्वाकांक्षाका कारण उनीहरूबीच फाटो आउने देखिन्छ। प्रत्येक समूह विदेशी शक्तिको सहयोगमा निर्भर छ र एउटा समूह अर्को समूहसँग विमति राख्छ।
सिरियामा असदको पतनपछि प्रभावशाली समूह कुन कुन हुन् त?
हायत तहरिर अल–साम : सिरियाको राजधानी र सबैभन्दा ठूलो शहर दमास्कसलाई नियन्त्रणमा लिन गरिएको आक्रमणको नेतृत्व इस्लामिक सैन्य समूह हायत तहरिर अल–सामका अबु मोहम्मद अल–गोलानीले गरेका थिए जसको खास नाम अहमद अल–शारा हो।
सिरियाको द्वन्द्व जस्तै यो संगठनको पनि जटिल इतिहास छ। सन् २०११ मा जभत अल–नुसराको नाममा संगठित यो समूहको अल–कायदासँग सम्बन्ध थियो। संगठनको स्थापनामा जिहादी संगठन इस्लामिक स्टेट (आईएस)को नेतृत्व गरेका अबु बकर अल–बग्दादीको संलग्नता थियो।
जिहादी विचारधाराका लागि चिनिएको यो समूह ‘सिरिया मुक्ति’ को नारामा गोलबद्ध मुख्य प्रतिपक्षी सहित अन्य विपक्षी समूहसँग मुठभेड गरिरहन्थ्यो। सन् २०१६ मा अल–गोलानीले अल–कायदासँगको सम्बन्ध त्यागेर समूहलाई नयाँ नाम दिए, हायत तहरिर अल–साम। त्यसपछि यो समूह धेरै साना साना समूहलाई गोलबद्ध गरेर अघि बढ्यो।
अल–कायदासँग निकट विचारधारा भए पनि यो समूहले इस्लामिक स्टेट (आईएस)को जस्तो विश्वव्यापी इस्लामिक शासनको वकालत नगरी सिरियामै कट्टर इस्लामिक शासन स्थापनामा आफूलाई केन्द्रित गर्दै आएको छ।
हायत तहरिर अल–सामले सिरियाको उत्तर-पश्चिम प्रान्त इडलिबमा आफ्नो पकड बलियो बनाएको छ, जहाँ प्रशासन यसकै नियन्त्रणमा छ। तर मानव अधिकार उल्लंघनका व्यापक घटनाले गर्दा यस समूहको शासनको वैधतामा प्रश्न उठ्ने गरेको छ।
अर्कातिर संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका र टर्कीले हायत तहरिर अल–सामलाई आतंकवादी संगठन करार गरेका छन्। यद्यपि यस संगठनले राष्ट्रपति असदलाई हटाउने गरी गरेको आक्रमण छिमेकी मुलुक टर्कीले चाहे जस्तै देखिन्छ। टर्कीले असदलाई हटाउन आफ्नो संलग्नता नभएको बताए पनि उसको सहयोग विना यो सम्भव थिएन।
सिरियन न्याशनल आर्मी (एसएनए) : सिरियामा आफ्नै अजेन्डा सहित लड्ने प्रभावशाली संगठनमध्येको एक हो, सिरियन न्याशनल आर्मी (एसएनए)। सन् २०१७ मा गठित यस समूहमा विभिन्न विचारधाराका दर्जनौं गुट सामेल थिए।
हायत तहरिर अल–सामभन्दा फरक एसएनए विभिन्न सशस्त्र समूहको गठबन्धन हो। विगतमा सिरियाली मुक्ति सेना अन्तर्गत रहेका धेरै संगठन आपसमै लड्ने गरेका थिए। यो समूहमा गोलबद्ध गुटहरूबीच मतभेद भए पनि धेरैले टर्कीसँग बलियो सम्बन्ध स्थापित गरेका छन्। तिनमा केही सुल्तान सुलेमान शाह ब्रिगेड, अल–हाम्जा डिभिजन र सुल्तान मुदार ब्रिगेड हुन्।
एसएनएका सबै घटकको टर्कीसँग निकट सम्बन्ध रहेको भने होइन। केही घटकले टर्कीसँग सम्बन्ध राख्दाराख्दै पनि त्यसलाई आफ्नो प्राथमिकताका आधारमा सन्तुलित बनाएका छन्। यस्ता गठबन्धनमा अहरार अल–शास जस्ता प्रभावशाली विद्रोही गुट पनि समावेश छन् जसको लक्ष्य असदको शासन परास्त गर्नु र सरिया कानून मार्फत इस्लामिक राज्य स्थापना गर्नु हो।
केही दिनयता एसएनएले कुर्दिश संगठनसँग मुठभेड गर्दै उत्तरी प्रान्तका रणनीतिक शहर तथा ग्रामीण इलाका कब्जामा लिएको छ। यो कदम टर्की–सिरिया सिमानामा शक्तिशाली कुर्दिश सेनाको उपस्थिति रोक्ने टर्कीको रणनीतिसँग निकट देखिन्छ।
सिरियन डेमोक्रेटिक फोर्स (एसडीएफ) : एसडीएफ खास गरी कुर्दिश लडाकूहरूको गठबन्धन हो। यो संगठन अरब र अन्य जातीय संगठनसँगै सिरियाको गृहयुद्ध ताका अस्तित्वमा आएको हो।
सन् २०१५ मा गठित सिरियन डेमोक्रेटिक फोर्स कुर्दिश पिपुल प्रोटेक्शन युनिट (वाईजीपी)ले इस्लामिक स्टेट विरुद्धको अभियानमा अमेरिकाबाट महत्त्वपूर्ण समर्थन पाएको छ।
इस्लामिक स्टेट धेरै हदमा पराजित भएसँगै कुर्दिश नेतृत्वको सैन्य दस्ताले उत्तर-पूर्वी क्षेत्रमा आफ्नो पकड बलियो बनाउँदै स्वायत्त क्षेत्र विस्तार गर्दै लगेको छ। यद्यपि कुर्दिश लडाकूहरू आफ्नो चिरकालीन शत्रु टर्कीसँग भिडिरहेकै छन्, जसलाई कुर्दिश पृथक्तावादी विद्रोही र कुर्दिश्तान वर्कर्स पार्टी (पीकेके)को विस्तारका रूपमा हेरिएको छ।
अन्य क्षेत्रीय शक्तिहरू, जस्तै- टर्कीले हायत तहरिर अल–साम र सिरियन न्याशनल आर्मी जस्ता सशस्त्र संगठनलाई समर्थन गर्दै सिरियामा आफ्नो प्रभाव विस्तार गरेको छ। सिरियामा गृहयुद्ध शुरू भएदेखि नै टर्कीले धेरै सैन्य आक्रमण गरेको छ र त्यस्ता अधिकांश आक्रमण सिरियाली कुर्दिश सैन्य संगठन विरुद्ध भएका थिए। पछिल्लो आक्रमण सन् २०१९ मा भएको थियो। त्यस वेला टर्कीको मुख्य उद्देश्य कुर्दिश सेनाहरूलाई आफ्नो सीमाबाट कम्तीमा ३० किलोमिटर पर धकेलेर सुरक्षित क्षेत्र निर्माण गर्दै त्यहाँ शरणार्थी पठाउने थियो।
त्यस वेलादेखि नै टर्कीले सिरियाको उत्तरी सीमाक्षेत्रलाई प्रभावकारी रूपमा नियन्त्रण गरेको छ, जसले गर्दा राष्ट्रपति असद विरुद्ध लडिरहेका विद्रोही समूहसँगको समन्वय सहज भएको छ।
सिरियामा विदेशी प्रभाव
रूस : राष्ट्रपति असदले सबैभन्दा ठूलो भरथेग रूसबाट पाएका थिए। युद्ध जारी रहँदा सिरियाले रूसबाट सैन्य र अन्य भौतिक सहयोग पाइरहेको थियो। रूसले गर्ने हवाई आक्रमण र सैन्य कारबाहीकै कारण असद वर्षौंसम्म सत्तामा रहन पाएका थिए, तर जसै रूस युक्रेनसँगको युद्धमा केन्द्रित भयो तब सिरियाले पाइआएको सैन्य सहयोग घट्दै गयो।
इरान : इरानले सिरियालाई ‘प्रतिरोधको अंग’ का रूपमा अंगीकार गर्दै यसलाई महत्त्वपूर्ण भूराजनीतिक भूमिकामा राख्ने गरेको छ। यसो गर्नुको उसको ध्येय मध्यपूर्वका मिलिसियाहरूको सहयोगमा अमेरिकी प्रभाव र इजरायल विरुद्ध लड्न सकियोस् भन्ने हो। टर्कीले इरान र इराकबाट हतियार लेबनान लैजान दिएसँगै इरानले असदको पक्षमा इरानी सेना र हेजबुल्लाह लडाकू तैनाथ गरेको थियो।
यद्यपि पछिल्ला रिपोर्टमा इरानले आफ्नो दस्ता फिर्ता गरिरहेको समाचार आएका छन्। यसबाट असदको पतनपछिको सिरियामा इरानलाई प्रभाव कायम गर्न चुनौतीपूर्ण हुने देखिएको छ।
अमेरिका : सन् २०१० मा प्रारम्भिक चरणमा विद्रोह शुरू हुँदा अमेरिकाले विपक्षी समूहहरूलाई समर्थन गरे पनि पछिल्लो चरणमा इस्लामिक स्टेट विरुद्ध प्रहार केन्द्रित गरेको थियो। अहिले सिरियामा झन्डै ९०० अमेरिकी सैनिक तैनाथ छन्। उनीहरू मुख्यतः तेलखानी रहेको उत्तर-पूर्वी क्षेत्र र कुर्दिश नियन्त्रित क्षेत्रमा छन्। त्यस बाहेक अमेरिकी सेना सिरिया, इराक र जोर्डनबीचको सीमाक्षेत्रका सैन्य अखडामा तैनाथ छ।
इजरायल : एक दशकयता इजरायलले सिरियामा रहेका इरानी र हेजबुल्लाहका केन्द्रमा बारम्बार हवाई आक्रमण गर्दै आएको छ। इजरायलको ध्यान हेजबुल्लाहलाई सैन्य आपूर्ति रोक्न र आफूद्वारा नियन्त्रित गोलान हाइटमा सम्भावित खतरा रोक्नमा केन्द्रित छ। हालै गोलान हाइट निकटको शहर कुएन्ट्रामा मिलिसियाले नियन्त्रणमा लिन खोजेपछि इजरायली सेना त्यहाँ प्रवेश गरेको छ। इजरायली सेनाले सिरियासँगको सीमावर्ती गोलान हाइटमा नयाँ सैन्य क्षेत्र पनि घोषणा गरेको छ।
(डीडब्लू डटकममा प्रकाशित यो सामग्री महेश्वर आचार्यले अनुवाद गरेका हुन्।)