पत्रकारले गराए प्रशासनकाे ध्यानाकर्षण
धरानका मेयर हर्क साम्पाङ र उनका समर्थकले ‘हिमाल’कर्मी पत्रकार गाेपाल दाहाललाई धम्की दिएको विरोधमा प्रशासनकाे ध्यानाकर्षण गराइएकाे छ।
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका दिन मंगलबार नेपाल पत्रकार महासंघ, सुनसरीको अगुवाइमा पत्रकार हर्ष सुब्बा, महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, पाँचथर अध्यक्ष गिरिराज बाँस्काेटा र तेह्रथुम अध्यक्ष अमृत बास्ताेलाले धरानस्थित इलाका प्रशासन कार्यालय प्रमुख लक्ष्मीप्रसाद रेग्मीलाई ध्यानाकर्षणपत्र बुझाएका हुन्।
खोज पत्रकारिता केन्द्रका लागि दाहालले तयार पारेको रिपाेर्ट हिमालखबरमा प्रकाशित भएपछि मेयर साम्पाङका समर्थकले धम्की दिएका थिए।
नेपालकाे संविधानले प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताकाे ग्यारेन्टी गरेकाे र स्वतन्त्रतापूर्वक बाेल्न र लेख्न पाउने माैलिक हक प्रदान गरेकाे भए पनि मेयर साम्पाङले पत्रकारिताकाे अन्त्य गरिदिने, नेपालमै बस्न नसक्ने बनाइदिने भन्दै पत्रकारलाई बहिष्कार गर्न आह्वान गर्दै आएकाे भन्दै ध्यानाकर्षण गराइएकाे छ।
ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख रेग्मीले सबैका लागि कानून बराबर भएकाले कानून अनुसार आफ्नाे तहबाट प्रक्रिया अघि बढाउने बताए।