मेयर साम्पाङको धम्की विरुद्ध धरानमा मौन प्रदर्शन
मेयर हर्क साम्पाङ र उनका समर्थकले पत्रकारलाई धम्की दिएको विरोधमा धरानमा मौन प्रदर्शन गरिएको छ।
नेपाल पत्रकार महासंघको अगुवाइमा सोमबार धरान उपहानगरपालिका अगाडि प्रदर्शन गरिएको हो। प्रदर्शनमा पत्रकारसँगै अधिकारकर्मी, नागरिक अगुवा, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि र सर्वसाधारण सहभागी थिए।
मौन प्रदर्शनपछि आयोजित विरोध सभालाई सम्बोधन गर्दै वरिष्ठ पत्रकार हर्ष सुब्बाले मेयर साम्पाङको धम्की दिने कार्य खेदजनक भएको बताए। समाचारको विषयमा पत्रकार तथा पत्रकार महासंघसँग छलफल गर्नतर्फ नलागी धम्क्याउन खोज्नु गलत भएको उनको भनाइ थियो।
“मेयर साम्पाङ आएदेखि नै पत्रकारलाई धम्क्याइरहेका छन्। पटक पटक छलफल गरेर सबै कुरा बताउँदा पनि सुधार गरेका छैनन्,” सुब्बाले भने, “अहिले त झन् सामाजिक सञ्जालमा अपशब्द बोलेर गालीगलौज गरेका छन्, बाटोमा हिंड्दा पनि प्रयोग गर्न नमिल्ने शब्द सामाजिक सञ्जालमा प्रयोग गरेका छन्।”
त्यस्तै, पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले पत्रकारलाई धम्क्याउने कार्य विरुद्ध सडकमा उत्रिनुपरेको बताए। समाचारमा प्रस्तुत विषयबारे चित्त नबुझेमा प्रतिवाद गर्ने कानूनी प्रक्रिया हुँदाहुँदै डर, त्रास र धम्की दिनु निन्दनीय भएको राईको भनाइ थियो।
मेयर साम्पाङले अहिलेसम्म गरेका कामकारबाहीका विषयमा हिमालकर्मी गोपाल दाहालले तयार गरेको विस्तृत रिपोर्ट हिमालखबरमा प्रकाशन भएको थियो। त्यसलाई लिएर साम्पाङले पत्रकार दाहाल र सुनसरी अध्यक्ष जनकऋषि राईलाई धम्की दिएका हुन्। उनका समर्थकले पनि मेसेज गरेर पत्रकार दाहाललाई धम्की दिएका छन्।
यसको पत्रकार महासंघले विरोध जनाएको छ। पत्रकारको सुरक्षाको माग गरिएको छ। यस विरुद्ध दाहाल र राईले प्रहरीमा उजुरी पनि दिएका छन्।
यो पनि पढ्नुहोस् : हर्क साम्पाङको मनमौजी शासन, बेथितिको दलदलमा धरान