तराईमा बिहानैदेखि हुस्सु र कुहिरो
पश्चिमी वायुको प्रभावले मौसममा फेरबदल आएसँगै आज बिहानैदेखि तराईमा हुस्सु र कुहिरो लागेको छ।
जल तथा मौसम विज्ञान विभागले सातै प्रदेशको तराई क्षेत्रमा हुस्सु र कुहिरो लागेको जनाएको छ। कोशीमा कुहिरो लागेको छ भने अन्य प्रदेशमा हुस्सु लागेको छ।
विभागले एक किलोमिटरभन्दा कम पारदर्शिता हुँदा कुहिरो भन्ने गरेको छ। त्यस्तै, एकदेखि पाँच किलोमिटरसम्म पारदर्शिता हुँदा हुस्सु भन्ने गरेको छ।
आज दिउँसोबाट बिस्तारै हुस्सु र कुहिरो हट्दै जाने विभागले आकलन गरेको छ। बिहानदेखि लागेको हुस्सु र कुहिरो मध्याह्नसम्म क्रमिक रूपमा हट्दै जाने सम्भावना रहेको विभागले जनाएको छ।
हुस्सु र कुहिरोले बिहानपख जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा सतर्कता अपनाउन आग्रह गरिएको छ।
यस्तै, पहाडी तथा हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। यो वर्षको हिउँदमा भने पानी कम पर्ने विभागको आकलन छ।