हिमालकर्मी दाहाललाई हर्क साम्पाङ समर्थकको धम्की
धरानका मेयर हर्क साम्पाङका समर्थकले समाचारको विषयलाई लिएर हिमालकर्मी गोपाल दाहाललाई धम्की दिएका छन्।
साम्पाङका समर्थकले आइतबार राति मेसेज गरेर दाहाललाई धम्की दिएका हुन्। मेसेजमा ‘तेरो दिन धेरै छैन’ भनेर धम्क्याइएको छ।
धरानका मेयरले विकास गरिरहेको र उनको कामका विरुद्ध लेखेको भन्ने आशयले मेसेज गरिएको छ। मेसेजमा ‘जन्मभूमिलाई सफा सुन्दर हेर्ने चाहना’ रहेको जनाउँदै ‘राम्रो काम गर्नेलाई राम्रो गर्न’ नदिएको आरोप लगाइएको छ।
दाहाललाई ९७०७३६८७०७ नम्बरबाट मेसेज आएको हो। यो नम्बर कला राईको नाममा दर्ता भएको छ।
नेपाल पत्रकार महासंघ, सुनसरीका अध्यक्ष जनकऋषि राईले कला राईसँग सम्पर्क गरेका थिए। उनले यो नम्बर आफ्नो नाममा भए पनि अरूलाई दिएको बताएकी छन्। उनले भनिन्, “मैले मेसेज गरेकी होइन, यो नम्बर अरूलाई दिएकी थिएँ, अरूले के गरे मलाई थाहा भएन।”
धरानका मेयर साम्पाङले गरिरहेका कामकारबाहीका विषयमा खोज पत्रकारिता केन्द्रले तयार पारेको रिपोर्ट हिमालखबरमा प्रकाशन भएको थियो। त्यही विषयलाई लिएर दाहाललाई धम्की आएको हो।
यसअघि मेयर साम्पाङले पनि दाहाल र पत्रकार महासंघ, धरानका अध्यक्ष राईलाई धम्की दिएका थिए। यस विषयमा दाहाल र राईले सुरक्षाको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिइसकेका छन्।
यो पनि पढ्नुहोस् : हर्क साम्पाङको मनमौजी शासन, बेथितिको दलदलमा धरान