किन चाहियो मर्यादित महीनावारी?
मर्यादित महीनावारी भनेको सामान्यतया सबैखाले महीनावारी विभेदबाट मुक्त अवस्था हो। यो लैंगिक समानता र न्यायका लागि नवीनतम, बृहत्, गैरऔपनिवेशिक, दक्षिण गोलार्धीयको सिकाइमा आधारित रूपान्तरण, मानव अधिकारमुखी जीवनचक्रीय अवधारणा हो।
शुरूशुरूमा लैंगिक समानता, मानव अधिकार, महिला सशक्तीकरण, प्रजनन स्वास्थ्य, महीनावारीमा प्रत्यक्ष काम गर्ने साथी र संस्थाहरूले हामीलाई निरुत्साही बनाए। एक्ल्याए। गालीबेइज्जती पनि गरे। रातारात बोली फेरे, आफैंले लेखेको मर्यादित महीनावारीका सुन्दर अक्षरहरूका मसी आफैंले मेटाए।
हामी निराश पनि भयौं, कैयौं रातहरू खेर गए, तर हामीले हार खाएनौं। आफ्नो बुद्धि, विवेक र सकारात्मक सोचले मर्यादित महीनावारी केन्द्रमा राखेर आफ्नो तर्फबाट गर्न सक्ने कोशिश गरिरह्यौं। बिस्तारै बिस्तारै अघि बढिरह्यौं।
आज हाम्रो अभियान पाँच वर्षको भएको छ। प्रश्न गर्न सक्ने भएका छौं। हामीसँग महीनावारी विभेदका अनेक स्वरूपबारे यथेष्ट जानकारी र प्रमाणहरू छन्। मर्यादित महीनावारी दिवस मनाउन, मर्यादित महीनावारीलाई मानव अधिकारको सवालका रूपमा अघि सार्न सक्षम भएका छौं।
यो तपाईं हामी सबैको साहस, यो शक्ति, यो सहभागिता, यो लगाव र मिहिनेतको प्रतिफल हो। कसैलाई नसुनेर आफू जन्मनुको मर्म खोज्ने कार्य हो। मर्यादित महीनावारीलाई बुझ्नुअघि हामी र हामी बाँचेको समाज वरपर अभ्यासमा रहेको जटिल, बहुआयामिक, महीनावारी विभेदका बारेमा बुझ्नु जरूरी छ।
महीनावारी विभेद कुनै कलमको बट्टामा कति वटा कलम छ भने जस्तो सजिलो छैन/होइन। महीनावारी हुने वा जन्मँदै पाठेघर लिएर जन्मिएका व्यक्तिहरूले जीवनचक्रभरि भोगेका महीनावारीसँग जोडिएको मौनता, निषेध, लाज, बन्देज, दुर्व्यवहार, हिंसा, साधन र स्रोतबाट वञ्चित अवस्था महीनावारी विभेद हो।
यस्ता सोच, धारणा, अभ्यासहरू, महीनावारी अवस्था, महीनावारीको रगत, महीनावारी भएको व्यक्तिले लगाउने, खाने, छुने, हिंडडुल गर्ने, सुत्ने, हेर्ने, महीनावारी सामग्रीको प्रयोग व्यवस्थापन, विसर्जनसँग मात्र नभएर पाठेघर र उनीहरूको सिंगो जीवनसँग जोडिएको हुन्छ। अर्थात् यो कुनै पाँच दिन बग्ने रगतको व्यवस्थापन मात्रै होइन।
गत महीना श्रीलंकामा महीनावारी विभेद सम्बन्धी एउटा अनुसन्धानको रिपोर्ट सार्वजनिक भयो। जहाँ ६०० जना सहभागीमध्ये ८९ प्रतिशतले पहिलो पटक महीनावारी हुँदा सातदेखि ३० दिन घरदेखि छुट्टिएर बस्दा रहेछन्। अनि ५८ प्रतिशतलाई पहिलो महीनावारीअघि महीनावारीबारे केही थाहा नै रहेनछ।
यो एक्लो देश हैन। नाइजेरियामा गत अक्टोबरमा प्रकाशित एक अनुसन्धान रिपोर्ट अनुसार अनुसन्धानमा सहभागी ५७ प्रतिशत किशोरीलाई पहिलो महीनावारी पूर्व महीनावारीबारे केही थाहा थिएन।
धेरै विज्ञहरू यस्ता महीनावारी विभेद दक्षिण गोलार्धीय क्षेत्रको मात्र समस्या हो भन्छन्। किनभने यहाँका संस्कृति र परम्परा त्यस्ता छन्। गरिबी, अशिक्षा छ भन्ने सोच्नुहुन्छ। तर त्यस्तो होइन। किनकि बेलायतमा पनि तीन किशोरीमध्ये एक किशोरीलाई पहिलो महीनावारी हुनुपूर्व महीनावारीबारे थाहा हुँदैन।
प्रणालीगत असमानता र पुरुषसत्ताको मुख्य कारण महीनावारी विभेद हो। करीब ६–९ वर्षको उमेरमा यसको प्रारम्भिक निर्माण हुँदै, उमेरसँगै जीवनका सबै आयाममा यसको प्रभाव पर्दै जान्छ। अर्थात् महीनावारी विभेदले असमान शक्ति सम्बन्ध र पुरुषसत्ताको चक्रव्यूह बनाउँछ।
महीनावारी विभेद ठाउँ अनुसार मात्रै होइन, एकै घरका व्यक्ति व्यक्तिबीच पनि फरक हुन सक्छ। यद्यपि यसले पहिचान पाउँदैन। जस्तो- अपांगता भएका महीनावारी हुने व्यक्ति वा लेस्बियन वा भूकम्प प्रभावित महीनावारी हुने व्यक्ति आदि। चेत र अचेत ढंगले सबैभन्दा पहिले महीनावारी विभेद उपस्थित हुन्छ। खासमा महीनावारी विभेद नै सबैखाले विभेदको मुख्य खानी हो, जननी हो। यो घरेलु हिंसा मात्र होइन, यौन दुर्व्यवहार, प्रविधिजन्य हिंसा, बालविवाह आदि जस्ता विभेद र लैंगिक हिंसाको मूल कारण पनि हो।
महीनावारी विभेद मानव अधिकारको हनन हो। एउटा महीनावारी विभेदले चारभन्दा बढी मानव अधिकारको एकै पटक हनन गर्छ। आफूले भोगेको वा देखेको महीनावारी र रजोनिवृत्तिसँग जोडिएका विभेदका प्रकारहरू संकलन गरी कुन कुन मानव अधिकारहरू हनन भएको छ, हिसाब गर्न सकिन्छ। म दाबीका साथ भन्न सक्छु- तपाईं, तपाईंको परिवार वा समाजले महीनावारी विभेद गरेर विभिन्न मानव अधिकारको हनन गरी नै रहनुभएको छ।
तर अफसोस, मानव अधिकारको घोषणापत्र सन् १९४८ देखि हालसम्म महीनावारी विभेदलाई मानव अधिकारको हननका रूपमा कहिल्यै व्याख्या गरिएन, प्राथमिकतामा राखिएन।
धेरै देशले झन्डै दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय मानव अधिकार दस्तावेजहरू जस्तो सिडअ, बाल अधिकार महासन्धि, दिगो विकास लक्ष्य, आईएलओ सी १९०, बेइजिङ प्लेटफर्म फर एक्सन, पेरिस घोषणापत्र आदिमा प्रतिबद्धता जनाएका छन्, तर महीनावारी विभेदलाई सम्बोधन गर्न बिर्सिएका छन्।
वार्षिक क्यालेन्डरमा जनवरीदेखि डिसेम्बरसम्म मनाइने अन्तर्राष्ट्रिय दिवसहरूमा त्यस्तो कुनै दिन वा दिवस छैन जसले जटिल र बहुआयामिक महीनावारी विभेदलाई सम्बोधन गरेको होस्।
धेरै साथीहरू मसँग असहमति जनाउँदै मे २८ अन्तर्राष्ट्रिय महीनावारी सरसफाइ दिवस के हो त? भन्ने प्रश्न गर्नुहुन्छ। यदि हामीले सरसफाइ..., सरसफाइ..., सरसफाइ... मात्रै भनिरह्यौं भने कतै हामीले महीनावारीको रगत फोहोर र अशुद्ध छ भनेर त भनिरहेका छैनौं? यदि महीनावारीको रगत फोहोर र अशुद्ध हुँदो हो त तपाईं, हामी र यो विश्व कसरी करीब तीन लाख वर्षदेखि चलायमान छ?
महीनावारी हुने व्यक्तिहरू वा महीनावारी भइरहेका व्यक्तिहरू कुनै क्लिनिकमा खोप लगाए जस्तो वा कुनै अस्पतालको आकस्मिक कक्षमा च्यातिएको घाउ सिलाएको जस्तो होइन नि। भाषाको रूपान्तरणले न्याय प्रक्रियामा विशेष अर्थ राख्छ।
दु:खद नै मान्नुपर्छ, विश्वका धेरै विद्यालय र विश्वविद्यालयले महीनावारीको रगत शुद्ध, सफा रगत हो, महीनावारी हुन सक्नु वा हुनु कमजोर अवस्था हैन भनेर सुसूचित नै गर्दैनन्। अर्थात् महीनावारी विभेदबारे मौन छन्।
वास्तवमा मर्यादित महीनावारीबारे पाँच वर्षको उमेरदेखि घरबाट नै कुराकानी शुरू गर्नुपर्छ। यो छलफल विद्यालयले १ कक्षादेखि जस्तो क ...बाट कट्टु, म ..बाट महीनावारी वा स्कूलका भित्ताहरूले मर्यादित महीनावारीबारे बोल्नुपर्छ। जस्तो- आइन्स्टाइन महीनावारीको रगतले जन्मिएका हुन्, जसलाई विज्ञानका विशेष व्यक्तित्व मानिन्छ वा महीनावारीको रगत सफा र शुद्ध रगत हो। हामी सबै यही रगतबाट जन्मिएका हौं। यसर्थ घर, स्कूल, समुदाय, कार्यक्षेत्र, संसद् सबै ठाउँमा मर्यादित महीनावारीबारे छलफल, कुराकानी गर्न नीति तथा कार्यक्रम बन्न अत्यावश्यक छ।
मर्यादित महीनावारी भनेको सामान्यतया सबैखाले महीनावारी विभेदबाट मुक्त अवस्था हो। यो लैंगिक समानता र न्यायका लागि नवीनतम, बृहत्, गैरऔपनिवेशिक, दक्षिण गोलार्धीयको सिकाइमा आधारित रूपान्तरण, मानव अधिकारमुखी जीवनचक्रीय अवधारणा हो।
छैटौं अन्तर्राष्ट्रिय मर्यादित महीनावारी दिवसको नारा ‘यौन तथा प्रजनन अधिकार, मर्यादित महीनावारी हो आधार’ भनेर राखेका छौं। किनभने संयुक्त राष्ट्रसंघ र दातृ संस्थाहरूले यौन तथा प्रजनन अधिकारका लागि सन् १९९४ देखि झन्डै ३० वर्ष र करोडौं पैसा खर्च गरिसकेका छन्। कुनै कुनै देशले त यौन तथा प्रजनन अधिकारलाई संविधानमा नै ग्यारेन्टी गरेका छन्।
एम्प्लिफाई चेन्जको सहयोगमा नेपालमा गरिएको एक अनुसन्धानले घर, स्कूल, समुदाय, स्वास्थ्य र अन्य सेवाप्रदायक संस्थामा यौन तथा प्रजनन स्वास्थ्य अधिकारका लागि मुख्य बाधा वा चुनौती महीनावारी विभेद रहेको देखाएको छ।
जुन मिन्सुरेटरले घरमा महीनावारी विभेदलाई ‘हुन्नँ’ ‘गर्दिन्नँ’ भन्न सक्दैन त्यो मिन्सुरेटरले आफ्नो पार्टनरसँग ‘सुरक्षित यौनसम्पर्क’ का लागि शर्त राख्न सक्ला? वा आफूलाई एचआईभी लाग्नबाट जोगाउन सक्ला? के उसले असुरक्षित यौनसम्पर्क भयो भनेर आकस्मिक गर्भनिरोधक चक्कीको जोहो गर्न सक्ला वा सुरक्षित गर्भपतन सेवा लिनका लागि सूचीकृत स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको खोजी गर्न सक्ला?
यौन तथा प्रजनन स्वास्थ्यका नौ आयाम महीनावारीसँग सम्बन्धित छन्, तर मर्यादित महीनावारीबारे कुनै पनि नीति वा कार्यक्रममा उल्लेख छैन।
प्रजनन प्रणालीको संरचनाबारे छलफल गर्नु, महीनावारी सामग्री वितरण गर्नु जस्ता क्रियाकलापले हामी वरपर माकुराको जालो झैं जेलिएको, जटिल महीनावारी विभेदलाई सम्बोधन त के, छोएको पनि हुँदैन/छैन।
यसरी अधिकांश मिन्सुरेटरले कतै देखिने त कतै नदेखिने महीनावारी विभेदको चाङ खेपेको हुन्छ। यौन तथा प्रजनन स्वास्थ्यमा अन्तर्निहित यो विभेदको बाधालाई नपन्छाईकन यौन तथा प्रजनन अधिकारभित्र जलवायु न्याय कसरी प्राप्त गर्न सकिएला? जैविक महीनावारी सामग्री वा प्याड नै वितरण गरिएछ भने पनि जलवायु परिवर्तनले पार्ने प्रणालीगत असमानता कसरी सम्बोधन होला?
संसारभर अहोरात्र खटिनुभएका यौन तथा प्रजनन अधिकारमा काम गर्ने व्यक्ति र संस्थाहरूलाई सम्मानपूर्वक अनुरोध गर्छु- बालुवामा पानी हाल्ने काम बन्द गरौं, आजै रणनीति परिवर्तन गरौं। यौन तथा प्रजनन स्वास्थ्यका नौ वटा आयाम वा बृहत् यौनिकता शिक्षा कुनै पनि विधाले मर्यादित महीनावारीलाई आत्मसात् गरेको छैन।
आउनुहोस्, विना विलम्ब प्रतिज्ञा गरौं, हाम्रा सबैखाले यौन तथा प्रजनन स्वास्थ्यका छलफल, कार्यक्रम, अनुसन्धान, सेवामा मर्यादित महीनावारीलाई मूलप्रवाहीकरण गरौं। यो भनेको मिन्सुरेटरका जीवन चक्रभरका प्राथमिकता र आवश्यकतालाई मूलप्रवाहीकरण गर्ने हो। किनभने मिन्सुरेटर नभएको दुनियाँमा कुनै ठाउँ नै छैन। मर्यादित महीनावारीलाई मूलप्रवाहीकरण गर्दा घाटा हैन, व्यक्ति, समाज, देश र सिंगो पृथ्वीलाई नाफैनाफा छ। महीनावारीको भाष्य बदलौं। आउँदो वर्ष मार्च महीनामा बेइजिङ घोषणाको ३०औं वार्षिकोत्सव संसारभर नै मनाइँदै छ, ३० वर्षको यो दौडमा मर्यादित महीनावारी नमीठोसँग छुटेको छ। अब योजनाबद्ध तवरले मर्यादित महीनावारीले स्थान पाओस् भन्ने माग छ। अनुसन्धान, कार्यक्रम, सञ्चार परिचालन आदिका लागि स्रोत दक्षिण गोलार्धमा केन्द्रित गर्न जरूरी छ।
जुनसुकै पद, संस्था वा क्षमतामा रहे पनि मर्यादित महीनावारीका लागि वकालत गर्नु आवश्यक छ। जहाँ जहाँ लैंगिक समानता, त्यहाँ त्यहाँ मर्यादित महीनावारी।
(अन्तर्राष्ट्रिय मर्यादित महीनावारी दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा अभियन्ता डा. पौडेलले दिएको मन्तव्यको सम्पादित अंश।)