‘घरेलु हिंसाका घटनामा मेलमिलाप गराउनु हुँदैन’
घरेलु हिंसाका घटनामा मेलमिलाप गराउँदा पीडितले झनै हिंसा भोग्नुपरेको अधिकारकर्मीले बताएका छन्।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा आइतबार काठमाडौंमा आयोजित ‘लैंगिक हिंसा प्रभावितको न्यायिक प्रक्रियामा देखिएको जटिलता तथा सम्बोधनमा सरोकारवालाको भूमिका’ विषयक कार्यक्रममा सहभागी अधिकारकर्मीले हिंसाका घटनामा मेलमिलाप गराउन नहुने बताए।
घरेलु हिंसालाई जहाँ पनि, जसले पनि, जहिले पनि र जसरी मिलाउँदा हुने जस्तो बनाइदिएर पीडितलाई थप पीडामा पारिदिने गरेको महिला मानव अधिकारकर्मी तथा अधिवक्ता बिन्द्रा महर्जन बताउँछिन्।
“घरेलु हिंसालाई संवेदनशील रूपमा नलिई मेलमिलाप गराउँदा धेरै महिला मारिने र कतिपय आत्महत्याको अवस्थामा पुग्ने गरेका छन्,” महर्जन भन्छिन्, “मेलमिलाप गराइदिने डरले कतिपयले उजुरी नै दिंदैनन्।”
महिला मानव अधिकार रक्षक श्यामकुमारी साह पनि घरेलु हिंसालाई सानो रूपमा लिएर मेलमिलाप गराउँदा कतिपय अवस्थामा त्यसले जघन्य अपराधको रूप लिने र पीडकलाई थप हिंसा गर्न प्रेरित गर्ने गरेको बताउँछिन्। कतिपय अवस्थामा पीडक र राजनीतिक शक्तिको कारणले मेलमिलाप गराउने गरिएको उनको भनाइ छ। “धेरैजसो पीडितमा कानूनी साक्षरता हुँदैन, त्यसमा कानूनी सल्लाह प्रदान गरिनुको साटो उल्टै मेलमिलाप गराउँदा पीडित झन् पीडामा भएको अवस्था पनि छ,” साह भन्छिन्।
त्यस्तै, प्रहरी वृत्त स्वयम्भूकी प्रहरी नायब उपरीक्षक (डीएसपी) पूर्णिमा चन्द प्रहरीमा आएका घरेलु हिंसा सम्बन्धी उजुरीलाई मेलमिलापको प्रक्रियामा लान छोडेको बताउँछिन्। “हामीकहाँ आएका कुनै पनि उजुरीलाई मेलमिलाप गराउँदैनौं, पीडितले आफैं मेलमिलाप गर्न चाहे मात्रै मेलमिलाप गर्ने हो,” डीएसपी चन्द भन्छिन्, “त्यसमा पनि कुटपिटको घटनामा झनै मेलमिलाप गराउँदैनौं।”
सरकारी वकील गोपालप्रसाद रिजाल भने घरेलु हिंसाको घटनामा न्याय र कानूनले मिलेसम्म मेलमिलाप गराउनु सबैभन्दा उत्तम उपाय रहेको तर्क गर्छन्। “पछि त्यस्तो घटना नहुने सम्भावना छ भने मेलमिलाप गर्नु नै राम्रो मानिन्छ,” रिजाल भन्छन्। त्यसका लागि पनि विभिन्न आधार हुने उनको भनाइ छ। मेलमिलाप गराउने व्यक्ति तालीमप्राप्त र योग्य हुनुपर्ने, मेलमिलाप गराउँदा सार्वजनिक रूपमा असर नगर्ने र त्यसमा दुवै पक्ष खुशी छन् भने मेलमिलाप गराउन मिल्ने उनी बताउँछन्।
ओरेक नेपाल, महिला अधिकारका लागि राष्ट्रिय अभियान, महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल, तर्ङिगिनी फाउन्डेशन र एक्सन एड नेपालको संयुक्त रुपमा कार्यक्रम आयोजन गरेको थियो।