हिउँदमा पानी कम पर्ने, तापमान बढी हुने आकलन
यस वर्षको हिउँदमा पनि खडेरीको सम्भावना देखिएको छ।
जल तथा मौसम विज्ञान विभागले हिउँद अवधिको हावापानी आकलन सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै देशभर सरदरभन्दा कम वर्षा र बढी तापक्रम हुने चेतावनी दिएको छ। विभागले मंसीर १६ देखि फागुन १६ गतेसम्मको अवधिका लागि जारी गरेको मौसम आकलनमा देशका विभिन्न प्रदेशका अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको जनाएको छ।
विशेषगरी कोशी र मधेश प्रदेशका केही भूभागमा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म छ। यद्यपि सरदरभन्दा कति कम वर्षा हुनेछ भन्ने आकलन गरिएको छैन।
त्यसैगरी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बागमतीका अधिकांश क्षेत्रमा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ। देशका बाँकी भूभागमा पनि थोरै पानी पर्ने सम्भावना ३५ देखि ४५ प्रतिशतसम्म रहेको जनाइएको छ। यसले यो वर्षको हिउँद पनि खडेरीमै बित्ने सम्भावना देखिएको छ।
नेपालमा सामान्यतया हिउँदको अवधिमा ६०.१ मिलिमिटर पानी पर्छ। तर गत वर्ष हिउँदमा सरदरको १९.८ मिलिमिटर मात्रै पानी परेको थियो। त्योभन्दा अघिल्लो वर्षको हिउँदमा पनि सरदरको १२.९ मिलिमिटर मात्रै पानी परेको थियो।
पछिल्ला १९ वर्षयताको हिउँदे वर्षाको तथ्यांक अनुसार १३ वटा हिउँदमा सरदरभन्दा कम पानी परेको छ। यसले धेरैजसो हिउँद सुक्खा भइरहेको देखाउँछ।
गत वर्षको हिउँदमा विभागले सरदरभन्दा बढी पानी पर्ने अनुमान गरे पनि हिउँदे वर्षा भने निकै घट्न पुगेको थियो। विभागले देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान गरेको भए पनि सरदरभन्दा कम वर्षा मापन गरिएको थियो।
हिउँदमा कम वर्षा हुँदा त्यसको असर कृषि, जलविद्युत्देखि वातावरणमा पर्छ। हिउँदे वर्षा नहुँदा खेतीपातीमा निर्भर किसानको उब्जनी घट्छ। खासगरी, गहुँ, तोरी, आलु जस्ता हिउँदे बाली र तरकारीको उत्पादन खस्किन्छ।
त्यसैगरी, हिउँदमा वर्षा नहुँदा खोलानालामा जलप्रवाह घटेर विद्युत् उत्पादन घट्छ। जसले गर्दा नेपालले हिउँदमा भारतबाट आयात गर्ने विद्युत्को परिमाण बढ्छ। हिउँदमा पानी नपर्दा वायुमण्डलमा धूलो भरिएर वायु प्रदूषण पनि उच्च हुने जोखिम हुन्छ।
विभागले हिउँदमा देशभर सरदरभन्दा बढी तापक्रम हुने अनुमान गरेको छ। कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही भूभागमा अधिकतम तापक्रम बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको जनाइएको छ। देशभरिका विभिन्न स्थानमा ठाउँ हेरेर सरदरभन्दा बढी अधिकतम तापक्रम हुने सम्भावना ३५ देखि ६५ प्रतिशतसम्म रहेको देखाइएको छ। न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै हुने अनुमान गरिएको छ। अधिकतम र न्यूनतम तापक्रम बढी हुँदा दिन र रात दुवै न्यानो अनुभूति हुन्छ।
पछिल्ला वर्षमा नेपालको अधिकतम र न्यूनतम दुवै तापक्रम बढिरहेको तथ्यांक छ। सन् २०२३ विश्वभरि नै पछिल्लो ४० वर्षयताकै तातो वर्षका रूपमा दरिएको थियो।
विभागले यस हिउँदको जलवायुको आकलन विश्व मौसम संगठनको विश्वभर क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानी प्रारूपको आकलन, दक्षिणएशियाली मौसमी जलवायु आउटलूक फोरमको आकलनका आधारमा तयार गरिएको जनाएको छ। त्यसैगरी, पूर्वी प्रशान्त महासागरमा विकसित हुने एल निनो र हिन्द महासागरमा विकसित हुने वायु प्रणालीलाई समेत विश्लेषण गरी तयार पारिएको हो।
प्रशान्त महासागरको आगामी हिउँदमा ला निना भनिने प्रणाली विकसित हुने र जसले गर्दा नेपालसम्म आउने पश्चिमी वायु सुक्खा हुन सक्ने आकलन गरिएको छ। विभागले यस्तो विश्लेषणका लागि वायुमण्डलीय परिवर्तन र समुद्री धाराहरूको प्रभावलाई समेत ध्यान दिएको छ।