हर्षको पाँच विकेटमा जनकपुर एक रनले विजयी
अन्तिम ओभरमा लुम्बिनी लायन्सका दुई विकेट झरेपछि जनकपुर बोल्ट्स एक रनले विजयी भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हर्ष थाकरले पाँच विकेट लिएपछि जनकपुरले लगातार चौथो जित हासिल गरेको हो। हर्षले अन्तिम ओभरमा दुई विकेट लिएर लुम्बिनीको हातबाट खेल खोसेका हुन्।
जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले आठ विकेट गुमाएर १३५ रन मात्रै बनाउन सक्यो। लुम्बिनीलाई अन्तिम ओभरमा नौ रन चाहिएको थियो।
हर्षले पहिलो बलमै साद बिन जाफरलाई आउट गरे। दोस्रो बलमा दुर्गेश गुप्ताले चौका प्रहार गरे। तेस्रो बल डट फालेका हर्षले चौथो बलमा एक रन दिए। पाँचौं बलमा दुई रन लिएको लुम्बिनीलाई अन्तिम बलमा दुई रन चाहिएको थियो। तर हर्षले सन्दीप जोरालाई किशोर महतोको हातबाट क्याच आउट गराए।
योसँगै हर्ष एनपीएलमा पाँच विकेट लिने दोस्रो खेलाडी भएका छन्। उनी प्लेयर अफ द म्याच पनि भए। यसअघि चितवन राइनोजका सोहेल तनवीरले पाँच विकेट लिएका थिए।
राम्रो शुरूआत गरेको लुम्बिनीले खेल अगाडि बढ्दै जाँदा त्यसलाई निरन्तरता दिन सकेन। लगातार विकेट झर्दै गयो। लुम्बिनीका लागि रोहित पौडेलले ३५, टोम मुर्सले ३१, अर्जुन साउदले २० र सन्दीप जोराले १६ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
जनकपुरका लागि हर्षले पाँच, किशोर महतो, ललित राजवंशी र शेर मल्लले एक–एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको जनकपुरले नौ विकेटको क्षतिमा १३६ रन बनाएको थियो। जनकपुरका लागि कप्तान अनिल साहले ४६, लाहिरु मिलन्थाले २४, शुभ कंसाकारले २२ र आसिफ शेखले १६ रन बनाएका थिए। अन्य ब्याटरले भने दोहोरो अंक पनि जोड्न सकेका थिएनन्।
लुम्बिनीका बलरले राम्रो प्रदर्शन गरेका थिए। अभिषेक गौतमले तीन, साद बिन जाफर र रोहित पौडेलले दुई–दुई तथा सन्दीप जोराले एक विकेट लिएका थिए।
अब अर्को खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज प्रतिस्पर्धा गर्दै छन्।