बलर हावी भएको खेलमा कर्णाली सात रनले विजयी
बलर हावी भएको विराटनगर बोल्ट्ससँगको प्रतिस्पर्धात्मक खेलमा कर्णाली याक्स सात रनले विजयी भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा कर्णालीले दिएको १३४ रनको पछ्याउने क्रममा विराटनगरले आठ विकेटको क्षतिमा १२६ रन मात्रै बनायो। विराटनगरका लागि निकोलस किर्टोनले ४०, लोकेश बमले १९ र दीपक बोहराले १८ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
कर्णालीका बलरले राम्रो प्रदर्शन गरे। नन्दन यादवले तीन, विपिन शर्माले दुई, सोमपाल कामी, विलियम बोसिस्टो र युनिश ठकुरीले एक-एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको कर्णालीले सबै विकेट गुमाएर १३३ रन बनाएको थियो। कर्णालीका लागि विलियम बोसिस्टोले ६६ र देव खनालले ५३ रन बनाए। कर्णालीका पाँच खेलाडी शून्य र दुई खेलाडी एक-एक रनमै रोकिएका थिए।
विराटनगरका लागि प्रतीश जीसीले चार, क्रिस सोल र बसिर अहमदले दुई-दुई तथा अकिब इल्यासले एक विकेट लिए।
यो जितसँगै कर्णाली अंकतालिकाको चौथो नम्बरमा उक्लिएको छ भने विराटनगर सातौं नम्बरमा झरेको छ। अहिले सुदूरपश्चिम रोयल्स ६ अंक सहित शीर्षस्थानमा छ भने लुम्बिनी लायन्स विना अंक पुछारमा छ।
यसअघि भएको खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई पराजित गरेको थियो। आइतबार बिहान जनकपुर र लुम्बिनी तथा दिउँसो सुदूरपश्चिम र चितवनले प्रतिस्पर्धा गर्नेछन्।