सैफ चम्किंदा सुदूरपश्चिमको शानदार जित
प्रारम्भिक ब्याटर सैफ जैबले उत्कृष्ट प्रदर्शन गरेपछि लुम्बिनी लायन्ससँगको खेलमा सुदूरपश्चिम रोयल्सले शानदार जित हासिल गरेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार बिहान भएको खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ४५ रनले पराजित गरेको हो। सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले नौ विकेटको क्षतिमा १४२ रन मात्रै बनाउन सक्यो।
लुम्बिनीका लागि विवेक यादवले अर्धशतक प्रहार गरे। उनले ५४ बलमा तीन चौका र सात छक्काको मद्दतले ७७ रन बनाए। त्यस्तै, सन्दीप जोराले २० र दिनेश अधिकारीले १४ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलन र सैफ जैबले तीन–तीन तथा स्कट कगलेइनले दुई र अविनाश बोहराले एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमले चार विकेटको क्षतिमा १८७ रन बनाएको थियो। सुदूरपश्चिमका लागि सैफ जैबले ९० रन बनाए। उनले ६१ बलमा ६ छक्का र पाँच चौका प्रहार गरे।
त्यस्तै, दीपेन्द्रसिंह ऐरीले ३९, ब्रान्डन म्याकमुलनले २३, विनोद भण्डारीले १७ र स्कट कगलेइनले ११ रन बनाए। लुम्बिनीका लागि रमोन साइमन्डसले दुई, रोहित पौडेल र विवेक यादवले एक–एक विकेट लिए।
यो जितसँगै सुदूरपश्चिम अंकतालिकाको शीर्षस्थानमा पुगेको छ। लगातार तीन खेल जितेको सुदूरपश्चिमको ६ अंक भएको छ। तीनै खेल हारेको लुम्बिनी अंकतालिकाको पुछारमा छ।
यसपछि अर्को खेलमा कर्णाली याक्स र विराटनगर बोल्ट्स प्रतिस्पर्धा गर्दै छन्।