दुई दिन हिउँदे वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने
पश्चिमी वायुको प्रभावले आउँदो आइतबार र सोमबार हिउँदे वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागले शुक्रबार साँझ हिउँदे मौसम सम्बन्धी विशेष बुलेटिन जारी गरी मंसीर २३ गते साँझदेखि २४ गते रातिसम्म देशका धेरै स्थानमा आंशिकदेखि साधारण बदली हुने प्रक्षेपण गरेको छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती र कोशी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
त्यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भूभागका धेरै स्थानमा तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको विभागको आकलन छ।
वर्षा र हिमपातका कारण तापक्रम समेत घट्ने विभागले जनाएको छ। जसले गर्दा चिसो बढ्ने सम्भावना छ।
वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई र यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने विभागले जनाएको छ। यसमा आवश्यक सतर्कता तथा पूर्व तयारी गर्न पनि विभागले सचेत गराएको छ।