ग्लोबल भोइसेज अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा
ग्लोबल भोइसेज अन्तर्राष्ट्रिय सम्मेलन २०२४ शुक्रबार काठमाडौंमा शुरू भएको छ।
दुई दिनसम्म चल्ने सम्मेलनमा डिजिटल मिडिया क्षेत्रका चुनौती र अवसरबारे ४० देशका ३०० भन्दा बढी लेखक, पत्रकार, अनुवादक, मानव अधिकार अभियन्ता, नीतिनिर्माता तथा प्राविधिक क्षेत्रका विज्ञ सहभागी छन्। सम्मेलनमा अभिव्यक्ति स्वतन्त्रता, सूचना प्रविधि तथा भाषिक विविधतासँग सम्बन्धित विषयमा छलफल भइरहेको छ।
ग्लोबल भोइसेज २० वर्षअघि स्थापना गरिएको सम्पादक, पत्रकार, अनुवादक र मानव अधिकार अभियन्ताको अन्तर्राष्ट्रिय बहुभाषिक संस्था हो। यो संस्थाले इन्टरनेट प्रयोग गरी सीमापारका कथाहरू सुनाएर आपसी समझदारी बढाउन सहयोग गर्छ। यसका सामग्री ५२ भाषामा अनुवाद र साझेदारी गरिन्छ, जसमा नेपाली पनि समावेश छ।
सन् २००६ यता ग्लोबल भोइसेज शिखर सम्मेलनले विश्वभरका नवीन डिजिटल अभियन्ता र नागरिक मिडिया नेटवर्कलाई एकै ठाउँमा जुटाएर छलफल गर्दै आएको छ। अघिल्ला सम्मेलन लन्डन, नयाँ दिल्ली, बुडापेस्ट, सान्टियागो डे चिली, नैरोबी, सेबु सिटी र कोलम्बोमा भएका थिए। काठमाडौं सम्मेलनका लागि ग्लोबल भोइसेजले हिमालमिडिया अन्तर्गतको नेपाली टाइम्ससँग साझेदारी गरेको छ।
त्रिनिडाड एन्ड टोबेगोकी पत्रकार र ग्लोबल भोइसेजकी प्रबन्ध निर्देशक ज्योर्जिया पोपलवेलले प्रत्येक सम्मेलनमा नागरिक मिडियाका लागि रणनीतिक महत्त्व भएका स्थान छनोट गर्ने गरेको उल्लेख गर्दै त्यसै क्रममा नेपाल रोजिएको बताइन्। उनले भनिन्, “देशको प्रेस स्वतन्त्रता र विभिन्न राष्ट्रियताका आगन्तुकहरूको पहुँच सजिलो हुने कुरामा विचार गरेर नेपाल सम्मेलनका लागि रोजाइमा परेको हो। नेपालमा गतिशील र फराकिलो मिडिया परिदृश्य तथा नेपालले अनुभव गरेका अवसर र चुनौतीहरूबाट बाँकी विश्वले धेरै सिक्न सक्छन्।”
सम्मेलन अन्तर्गत अन्तरक्रियात्मक सत्र, छलफल र बहसमा अभिव्यक्तिको स्वतन्त्रता, भाषिक विविधता र तिनलाई सहयोग वा बाधा पुर्याउने परिस्थितिहरू जस्ता जटिल मुद्दामा मन्थन भइरहेको छ। डिजिटल र इन्टरनेटमा अधिनायकवाद जोखिमबारे पनि सम्मेलनमा छलफलको कार्यक्रम छ। सम्मेलनमा अधिनायकवादी शासनमा मिडिया स्वतन्त्रतामाथि हुने खतरा, राजनीतिक सक्रियता र जलवायु न्याय जस्ता विषय पनि छलफलमा राखिएका छन्।
बिहीबार नेपालमा डिजिटल संवादको विगत, वर्तमान र भविष्य शीर्षकको छलफलबाट सम्मेलन शुरू भएको छ। जर्नालिज्म एकेडेमीका उज्ज्वल आचार्यले सञ्चालन गरेको सत्रमा हिमालमिडियाका प्रकाशक कुन्द दीक्षित सहितका सहभागीले नेपालमा परम्परागत मिडिया र र डिजिटल मिडियाका विविध आयाममा छलफल गरेका थिए। दीक्षितले आफ्नो तीन दशकभन्दा लामो पत्रकारिता यात्रामा प्रविधिले ल्याएको परिवर्तनलाई स्मरण गर्दै जुनसुकै माध्यम परिवर्तन भए पनि समाचार सामग्रीको गुणस्तर तथा तिनको सान्दर्भिकताले पत्रकारितालाई बचाउने विचार राखे।
ब्लगिङ, वातावरण पत्रकारिता, तथ्यांक प्रयोग, डिजिटल पहुँच, एआई र डीप फेक, इन्टरनेट सामग्रीमा राज्य नियन्त्रण, बहुभाषिक मिडिया आदि विषयमा पनि छलफल भएको छ। शनिबार खोज पत्रकारिता, तथ्यांकको उपयोग आदि विषयमा छलफल हुनेछ।
नेपालका समाचार पनि ग्लोबल भोइसेजका विभिन्न भाषामा अनुवाद हुने गरेका छन्। सम्मेलनका सत्रहरू अनलाइनमा पनि उपलब्ध हुनेछ र मुख्य झलकहरू एक्स, इन्स्टाग्राम, फेसबूक पेजमा पनि उपलब्ध हुने आयोजकले जनाएको छ।