चिरा परेको स्कूलमा विद्यार्थी, टेन्टमा बिरामी
बाढीपहिरोले तहसनहस बनाएका रोशी र पनौतीमा सरकारले दुई महीना बित्दा पनि जोखिमपूर्ण विद्यालयको स्थानान्तरण र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण थालेन।
काभ्रेपलान्चोकको पनौती नगरपालिका-२, नयाँ गाउँबस्तीस्थित फूलचोकी आधारभूत विद्यालयका शिक्षक-विद्यार्थीको मनमा अचेल पढाइ कम, डर ज्यादा छ। डरको कारण बनेको छ, चर्किएको कक्षाकोठा अनि छेवैको पहिरो। दुइटा कोठा त पूरै भत्किसकेकै छन्। आँगन चिराचिरा परेको छ।
गत असोजको भीषण बाढीपहिरोले काभ्रेका रोशी गाउँपालिका र पनौती नगरपालिकामा मान्छे मात्र बगाएन, भौतिक संरचनामा समेत व्यापक क्षति पुग्यो। स्थानीयका घरसँगै विद्यालय र स्वास्थ्यसंस्थाका भवन पनि भत्किए। घटनाको दुई महीना बित्यो, विपद्ले बिथोलिएको जनजीवन लयमा फर्किसकेको छैन। न त भत्किएका विद्यालय र स्वास्थ्य चौकी भवनको पुनर्निर्माण भएको छ।
पनौती नगरपालिकाका १७ वटा सामुदायिक र दुइटा निजी विद्यालय क्षतिग्रस्त छन्। बाढीपहिरोले कति विद्यार्थीका घरसँगै कापीकलम र पोशाक पनि बगायो। विद्यालय पुग्ने बाटो रहेन। त्यसैले दुवै ठाउँका विद्यालय एक महीनाभन्दा बढी बन्द रहे। फूलचोकी आधारभूत विद्यालयमा गत कात्तिक २९ देखि पुनः पढाइ थालिएको हो। प्रधानाध्यापिका विमला नेपालका अनुसार अभिभावकको भेला डाकेर उनीहरूले नै सुरक्षा जिम्मा लिएर छोराछोरीलाई विद्यालय पठाउने सहमति भएको छ। उक्त विद्यालयमा ४७ विद्यार्थी, आठ शिक्षक र एक कर्मचारी छन्। बाढीपहिरोपछि तीन विद्यार्थी आउन छाडेका छन्। “कक्षाकोठा भत्किएका भए पनि विद्यार्थी अन्यत्र सरेर नजाऊन् भनेर पढाइ शुरू गरेका हौं,” प्रधानाध्यापिका नेपाल भन्छिन्।
विद्यालय नखुल्दा विद्यार्थी कक्षा ८ को नगरपालिकास्तरीय वार्षिक परीक्षा नै छुट्ने हो कि भन्ने चिन्तामा थिए। “पहिरोले कक्षाकोठा लडेपछि भविष्य के होला भन्ने चिन्ता थियो,” कक्षा ८ मा अध्यनरत रञ्जिता बजगाईं भन्छिन्। अर्की छात्रा रीतिका बजगाईं विद्यालयले आन्तरिक परीक्षाको तालिका निकालेकाले अहिले त्यसको तयारी गरिरहेको बताउँछिन्।
कक्षाकोठा भत्किएपछि विद्यालयले कतिपय विद्यार्थीलाई पुस्तकालयमा राखेर पढाइरहेको छ। शिक्षक-विद्यार्थी मिलेर आँगन मर्मतसम्भार गरेका छन्। नगरपालिकाले टहरा बनाइदिने भनेको छ, तर काम शुरू भइसकेको छैन। दिवाखाजा पकाउने भाँडाकुँडा र खानेपानीको संरचना समेत बाँकी छैन। तत्काललाई स्थानीयको घरबाट पानी ल्याएर व्यवस्थापन गरिएको छ।
शिक्षिका विन्दा न्यौपानेका अनुसार विपत्तिले दिएको मानसिक तनाव अझै गइनसकेकाले विद्यार्थीलाई पढाइमा ध्यान केन्द्रित गराउन निकै गाह्रो परेको छ। “बादल लागेपछि चिन्तित हुने, ठूलो आवाज सुन्दा तर्सिने, घरमा फोन लगाउन अह्राउने गर्थे, एक सातासम्म सबै जना स्मरणशक्ति हराए जस्ता देखिन्थे,” उनी भन्छिन्, “त्यसैले उनीहरूलाई सामूहिक रूपमा खेलाउने, कुराकानी गर्ने जस्ता गतिविधिबाट बिस्तारै पढाइमा ध्यान केन्द्रित गराइँदै छ।” विद्यार्थी नडराऊन् भनेर सकेसम्म चउरमा, नभए कम क्षतिग्रस्त कोठामा राखेर पढाइँदै छ।
आँगन चिरा परेको र भवनमुनिबाटै पहिरो गएकाले बर्खामा थप क्षति निम्तिन सक्ने नगरपालिकाले गरेको सर्वेक्षणले देखाएको छ। यही जोखिम देखेर समितिले सुरक्षित ठाउँमा विद्यालय सार्न सुझाव दिएको थियो। सोही अनुसार पालिकाको सहयोगमा जग्गा भाडामा लिएर अस्थायी भवन बनाउन विद्यालय व्यवस्थापन समिति लागिपरेको प्रधानाध्यापिका नेपाल बताउँछिन्। “प्रदेशको सामाजिक मन्त्रालय र युनिसेफले सघाउने वचन दिएका छन्,” उनी भन्छिन्।
विपद्को महीना दिनपछि सञ्चालनमा आएको छ, पनौती-१२ स्थित इन्द्रादेवी आधारभूत विद्यालय पनि। माथिबाट खसेको पहिरोले यो विद्यालयको आँगनसँगै ईसीडी कक्षा सञ्चालन हुने भवन पूरै भत्किएको छ। अर्को एउटा भवन चिरा परेको छ। बाढीले खोतल्दा चउर बगर जस्तो बनेको थियो। “चउरमा माटो भरेर विद्यालय सञ्चालनमा ल्याएका छौं,” प्रधानाध्यापक कृष्णप्रसाद हुमागाईं भन्छन्, “ईसीडी कक्षा चाहिं अझै बन्द नै छ।”
यहाँ पनि विद्यार्थीको त्रास हटेको छैन। कक्षा ५ का साजन मगर विद्यालय आउन डर लागिरहेको बताउँछन्। २०१७ सालमा स्थापित यो विद्यालयमा ९२ विद्यार्थी छन्। तीमध्ये सात जनाको बाढीपहिरोले घर बगाएकाले उनीहरू अरूका घरमा बस्दै आएका छन्।
देउसीभैलो र जनताको श्रमदानबाट बनाइएका भवन अब कसरी पुनर्निर्माण गर्ने भन्ने चिन्ता प्रधानाध्यापक हुमागाईं व्यक्त गर्छन्। “हामीले २०३८ सालको बाढी, माओवादीको सशस्त्र द्वन्द्व र २०७२ सालको भूकम्पमा पनि यस्तो विपत् भोगेका थिएनौं,” उनी भन्छन्। त्यहाँ पनि युनिसेफको सहयोगमा अस्थायी टहरा निर्माणको सम्झौता गरिएकामा काम अघि बढिसकेको छैन।
इन्द्रादेवीमा कक्षा ६ मा अध्ययनरत मन्जित तामाङका बुबा सूर्यबहादुर विद्यार्थीका लागि विद्यालय सुरक्षित नरहेको बताउँछन्। “छोराछोरीको चिन्ता भनेर साध्य छैन,” उनी भन्छन्। नगरपालिकाले गरेको अनुगमनमा रोशी र पनौतीमा विद्यालय जाने बाटाहरू बिग्रिएको, विद्यालय हाताभित्रका पानीका संरचना नष्ट भएको, शौचालय भत्किएको, भवनभित्रका बेन्च-डेस्क, ग्यास सिलिन्डर, पुस्तक, रजिस्टर समेत बाढीमा बगेको पाइएको छ।
इन्द्रादेवीबाट नजीकै छ, वडा सदस्य दुर्गा हुमागाईंको घर। उनका अनुसार उक्त वडाभित्र पहिला पाँच वटा आधारभूत विद्यालय थिए। बसाइँसराइ, गरीबी लगायत कारणले विद्यार्थी संख्या घट्दा तीन वटा विद्यालय दुई वर्षदेखि बन्द छन्। बाँकी रहेका इन्द्रावती र लड़्केश्वर आधारभूत विद्यालय पनि पहिरोले नाजुक स्थितिमा छन्। हुमागाईंका छोरीहरू भने पनौती बजारमा पढ्दै आएका छन्।
वडाध्यक्ष जयराम केसी (खत्री) नगरपालिकाले पहिले घर क्षति भएकालाई पुनःस्थापना र त्यसपछि विद्यालय मर्मतसम्भारलाई प्राथमिकतामा राखेको बताउँछन्। घर क्षति भएकाहरूलाई केन्द्र सरकारले ५० हजार र प्रदेश सरकारले १ लाख रुपैयाँ राहत घोषणा गरेका थिए। त्यो रकम पीडितका हातमा अझै पुगेको छैन। “पीडितको पुनःस्थापना र विद्यालय मर्मतमा स्थानीय सरकार र गैरसरकारी संस्था मात्र लागिरहेका छन्। केन्द्र र प्रदेश सरकारको उपस्थिति देखिएको छैन,” खत्री भन्छन्।
पनौती नगरको शिक्षा शाखाका अनुसार पहिरोमा परेर मृत्यु हुनेमा तीन विद्यार्थी समेत छन्। सामुदायिक बोर्डिङ स्कूलको कक्षा १०, श्रीराम मावि र काभ्रे इङ्लिस बोर्डिङ स्कूलका कक्षा १२ मा पढ्ने एक-एक विद्यार्थी आफ्नै घरमा पुरिएका हुन्।
त्यस्तै, रोशी गाउँपालिकामा बाढीले २२ वटा विद्यालयमा क्षति पुर्याएको छ। गाउँपालिका कार्यालयका अनुसार ६ वटा विद्यालयका २४ वटा कक्षाकोठा पूर्ण रूपमा क्षतिग्रस्त छन् भने १६ विद्यालयका ६८ वटा कक्षाकोठामा आंशिक क्षति पुगेको छ।
रोशीका वडा नम्बर १, २, ५, ८ र १० का क्रमशः डम्बर मावि, भूमेस्थान प्रावि, विद्याविकास प्रावि, देवीश्वरी प्रावि र महाभारत प्रावि पूर्ण क्षति भएकामा पर्छन्। त्यसैगरी, पाँच वटा विद्यालयका १० वटा शौचालय पूरै भत्किएका छन् त अन्य पाँच वटाका सात शौचालयमा आंशिक क्षति पुगेको छ। २३ वटा विद्यालयमा खानेपानीको संरचना पूरै मासिएको छ भने १० वटामा धारा र पाइप बगेको छ। अभिभावकको मृत्यु भएपछि दुई विद्यार्थी अनाथ भएका छन्। त्यस्तै, एक-एक विद्यार्थी-शिक्षकको अंगभंग भएको छ। बाढीपहिरोबाट कुल दुई हजार ९१३ विद्यार्थी प्रभावित छन्।
बिथोलिएको स्वास्थ्य सेवा
विद्यालयकै जस्तो हालत स्वास्थ्य संस्थाको पनि छ। बाढीपहिरोले अस्पताल र स्वास्थ्य चौकी बगाउँदा बिरामी मर्कामा छन्। रोशी गाउँपालिका-१, फलामे साँघुस्थित रोशी अस्पताल र खहरेपाँगु स्वास्थ्य चौकी पूरै क्षतिग्रस्त रहेकाले सामान्य उपचार सेवा दिन समेत समस्या परेको स्वास्थ्यकर्मी बताउँछन्। त्यस्तै, वडा नम्बर ३ मा रहेको शिखर आम्बोटे आधारभूत स्वास्थ्य सेवा केन्द्र, वडा नम्बर ९ स्थित मंगलटार सामुदायिक स्वास्थ्य एकाइ, वडा नम्बर १ स्थित नारायणटार खोप केन्द्र, वडा नं ८ स्थित खार्पाचोक खोप केन्द्रमा आंशिक क्षति पुगेको छ।
गाउँपालिकाको अनुगमन समितिले अस्पताल, स्वास्थ्य चौकी भवन र स्वास्थ्य सामग्री सबै हिसाब गर्दा आठ करोड रुपैयाँ बराबरको क्षति भएको जनाएको छ। स्वास्थ्य सेवा नियमित गर्न दातृ र गैरसरकारी संस्थाहरूले केही सघाए पनि सरकारको पहल खासै देखिंदैन। रोशी अस्पतालकी कर्मचारी मेलिना खाइजूका अनुसार मंसीर १० गते विश्व स्वास्थ्य संगठनको टोलीले अस्पताल अनुगमन गरी कम्तीमा ६ महीना काम चलाउने गरी अस्थायी संरचना बनाउन प्रक्रिया अघि बढाएको छ। वान हार्ट वर्ल्डवाइड नामक संस्थाले दुई वटा अस्थायी टेन्ट राखिदिएको छ।
खहरेपाँगु स्वास्थ्य चौकीमा पनि टेन्टबाट सेवा प्रवाह भइरहेको त्यहाँ कार्यरत सन्दीप विक बताउँछन्। “तर टेन्टबाट बिरामीको स्वास्थ्य जाँच र अन्य सेवा दिन कठिन भइरहेको छ,” उनी भन्छन्। गाउँपालिकाका स्वास्थ्य शाखा अधिकृत गंगालाल श्रेष्ठ स्वास्थ्य संस्थाको सेवा प्रवाह चुस्त बनाउन स्थायी भवन आवश्यक रहेकाले त्यसका लागि प्रयास भइरहेको बताउँछन्।
त्यस्तै, पनौती नगरपालिका-१२ स्थित भूमिडाँडा स्वास्थ्य चौकी पूर्ण रूपमा क्षतिग्रस्त छ भने रयाले, उषादेवी र मलपी स्वास्थ्य चौकी तथा नयाँगाउँ खोप केन्द्रमा आंशिक क्षति पुगेको छ। नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत पुरुषोत्तम तिमल्सिनाका अनुसार आंशिक क्षति पुगेका स्वास्थ्य चौकीमा सामान्य मर्मतसम्भार गरेर उपचार सेवा सञ्चालन गरिए पनि भवन चिराचिरा परेकाले जोखिम कायम छ। पहिरोले पूर्ण क्षति पुर्याएको भूमिडाँडा स्वास्थ्य चौकीमा युनिसेफको सहयोगमा टेन्ट राखेर काम चलाइँदै आएको छ।
नगरपालिकाले विद्यालय र स्वास्थ्य चौकी भवनको पुनर्निर्माणमा सघाउन सार्वजनिक आह्वान गरेको छ। पनौतीमा बाढीपहिरोमा परेर २० जनाको मृत्यु भएको छ। ५०० घर पूर्ण रूपमा र ७१३ घर आंशिक रूपमा क्षतिग्रस्त छन्।