‘सुदूरपश्चिम महोत्सव पर्व जस्तै भइसकेको छ’
‘सुदूरपश्चिमका मान्छेले वर्षभरि गरेको मिहिनेत देखाउन महोत्सव कुरेका हुन्छन्। स्थानीय उत्पादन, खानपान, सीप, कलाले महोत्सवमा प्रदर्शनका लागि अवसर खोजिरहेका हुन्छन्।’
सुदूरपश्चिमको विकासका लागि सरकारलाई घचघच्याउन २०६३ सालमा कैलाली उद्योग वाणिज्य संघले सुदूरपश्चिम महोत्सव आयोजना गरेको थियो। उद्घाटन समारोहमा सरकार प्रमुखलाई ल्याएर सुदूरपश्चिमको विकासका लागि २१ वटा माग राखिएको थियो।
यसरी महोत्सव आयोजना गर्न थालेको १८ वर्ष पुगेको छ। यो अवधिमा थुप्रै पटक सरकार फेरिएका छन्, प्रधानमन्त्री सुदूरपश्चिम पुगेका छन्।
सुदूरपश्चिम महोत्सवको १८औं संस्करण मंसीर २२ गतेदेखि पुस २ गतेसम्म धनगढीमा सञ्चालन हुँदै छ। तीन करोडको लागतमा सञ्चालन हुने महोत्सवमा १५ करोड रुपैयाँ बराबरको कारोबार हुने आकलन गरिएको छ। यसै सन्दर्भमा आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरसँग हिमालखबरका लागि उन्नती चौधरीले गरेको कुराकानी :
१८ वर्षदेखि सुदूरपश्चिम महोत्सव आयोजना गरिरहनुभएको छ। यस पटकको तयारी कस्तो छ?
सुदूरपश्चिम महोत्सवको अन्तिम तयारीमा छौं। सबै तयारी पूरा भइसकेको छ। यो वर्ष थारू समुदायको पहिचान झल्किने छुट्टै थारू गाउँको अवधारणा ल्याएका छौं। जहाँ थारू परिकार र थारू संग्रहालयको स्टल नै बनाएका छौं। यस वर्षको महोत्सवको आकर्षण थारू गाउँ हुन सक्छ।
यतिका महोत्सव भए। विगत र अहिलेको महोत्सवमा के फरक छ?
२०६३ सालदेखि सुदूरपश्चिम महोत्सवको आयोजना हुँदै आएको छ। यो महोत्सव सुदूरपश्चिमवासीका लागि एउटा पर्व जस्तै भइसकेको छ। महोत्सवमा हरेक वर्ष केही न केही फरक हुन्छ। जस्तै- स्थानीय कला, स्थानीय उत्पादन, स्थानीय खानपान। यसलाई विशेष महत्त्व दिइरहेका छौं।
महोत्सवको शुरूआत कर्भड हलमा भएको थियो। अहिले निजी जग्गामा महोत्सव सञ्चालन गरिरहेका छौं। विगतमा ४०० को हाराहारीमा स्टल हुन्थे भने यो वर्ष ५५० स्टल ‘बूकिङ’ भइसकेका छन्। महोत्सवको ‘क्रेज’ बढेको छ। महोत्सवले सुदूरपश्चिमवासीमा उत्साह बढेको पाएका छौं।
सुदूरको विकासका लागि सरकारसँग विभिन्न माग राखेर महोत्सव शुरू भएको थियो। १८ वर्षसम्म पनि माग पूरा भएका छैनन्। के सरकारले सुदूरपश्चिमलाई बेवास्ता गरेको हो?
शुरूआतमा सरकार प्रमुखसँग २१ बुँदे माग राखेका थियौं। जसमध्ये ११ वटा माग पूरा भएका छन् भने अझै १० वटा माग बाँकी नै छन्। सरकारसँग राखेकामध्ये अप्टिकल फाइबर, गेटा मेडिकल कलेज, कालोपत्रे लगायत माग पूरा भए, तर अझै पनि अन्तर्राष्ट्रिय सीमानाका व्यवस्थित बनाउनुपर्ने, औद्योगिक क्षेत्र स्थापना गर्नुपर्ने, प्रदर्शनीस्थल लगायत माग पूरा हुन बाँकी छन्।
विगतदेखि नै सरकारको कार्यकारी प्रमुखबाट महोत्सवको उद्घाटन गराउने र आफ्नो मागबारे प्रतिबद्धता जनाउन लगाउने गरेका छौं। तर देशको राजनीतिक परिवर्तनले प्रधानमन्त्रीको स्थायित्व नभएकाले हाम्रा माग पनि सम्बोधन हुन सकेका छैनन्।
पहिले संघीय सरकारलाई घचघच्याउन महोत्सवको बाटो प्रयोग गरिएको थियो। केन्द्रलाई मात्रै भन्नुपर्छ कि अब सुदूरपश्चिम सरकारलाई पनि घचघच्याउनुपर्छ?
हामीले केन्द्र सरकारले पूरा गर्न सक्ने माग केन्द्रलाई र प्रदेश सरकारबाट हुने माग प्रदेश सरकारलाई राख्दै आएका छौं। यसमा दुवै सरकारलाई नै घचघच्याइरहेका छौं। हाम्रा मागमा दुवै सरकारले एकअर्काप्रति समन्वय पनि गरिराखेको पाएका छौं।
पछिल्लो केही वर्षयता देशभर नै महोत्सव आयोजना भइरहेका छन्। अन्य ठाउँको भन्दा सुदूरपश्चिम महोत्सव कसरी फरक छ?
मैले देशका सबैजसो ठूलासाना मेला-महोत्सवको अवलोकन गर्ने अवसर पाएको छु। ती सबैभन्दा फरक सुदूरपश्चिम महोत्सव हो। सुदूरपश्चिमका सम्पूर्ण उत्पादनको प्रदर्शनी हुन्छ। किसान, उद्यमीलाई निःशुल्क स्टल उपलब्ध गराउँछौं। उनीहरूको मिहिनेतलाई बजारीकरण गर्नेदेखि प्रवर्द्धन गर्नेसम्मको काममा ठूलो सहयोग पुगिरहेको छ।
विगतमा प्रायः स्टल खाली नै हुन्थे। यो वर्ष स्टल बुकिङ भइसके भनेर सूचना नै निकाल्नुपरेको छ।
सुदूरपश्चिमका मान्छे वर्षभरिको मिहिनेत लिएर महोत्सव कुरेका हुन्छन्। स्थानीय उत्पादन, खानपान, सीप, कलाले महोत्सवमा प्रदर्शनका लागि अवसर खोजिरहेका हुन्छन्।
महोत्सवमा स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने भनिन्छ, तर विदेशी उत्पादनकै बाहुल्य हुन्छ नि?
मान्छे नबुझेर यस्तो प्रचार गर्छन्। एक हिसाबले भन्दा हामीसँग केही पनि छैन। हामी प्रविधिसँगै अघि बढ्न खोजिरहेका छौं। तर साधनस्रोत केही पनि हुँदैन। त्यसैले बाहिरबाट पनि सामान ल्याउँछन्। यहीं बसोबास गर्नेहरूले त्यसको बिक्रीवितरण गरिरहेका हुन्छन्। यसले यहाँकै मान्छेको आयआर्जन भइरहेको छ।
यो महोत्सव सुदूरपश्चिमको विकासका लागि भनेर आयोजना गर्न थालिएको हो। अहिलेसम्म के फरक आयो?
सुदूरपश्चिम महोत्सव २०६३ सालमा शुरू भएको हो। जति वेला स्थानीय सरकार, प्रदेश सरकार थिएनन्। तैपनि महोत्सव सुपको विकासका लागि थुप्रै माग राख्दै यहाँसम्म आइपुगेको छ।
यो महोत्सवले सुदूरपश्चिमवासीको सीप, कला र खानपानको पहिचानसँगै प्रवर्द्धन गरिरहेको छ। त्यति मात्रै होइन, स्थानीय बासिन्दा जो व्यवसायीमुखी थिएनन्, उनीहरूलाई व्यवसायी र उद्यमी बनाउन सहयोग पुर्याएको छ।
१८ वर्षदेखि निरन्तर महोत्सव गरिरहनुभएको छ, यो अवधिमा केकस्ता चुनौती आए?
सुदूरपश्चिम महोत्सव सञ्चालन गर्दा मुख्य चुनौती नै ठाउँको अभाव हो। लगभग तीन करोड रुपैयाँको लगानीमा महोत्सव आयोजना गरिरहेका छौं। उपयुक्त ठाउँ नहुँदा सुरक्षाको पनि निकै चुनौती हुन्छ। साथै, प्रदर्शनीस्थलको अभाव भएकाले गाह्रो भइरहन्छ।
अन्त्यमा, सुदूरपश्चिमको विकासका लागि सरकारलाई दबाब दिन महोत्सवको मात्रै सहारा लिने कि अरू उपाय पनि अपनाउनुपर्छ?
महोत्सवको माध्यमबाट विभिन्न माग राख्दै आएका छौं। यससँगै सुदूरपश्चिमका व्यवसायदेखि सम्भावनाको उजागर गरिरहेका छौं। सुदूरपश्चिमका सम्भावनाबारे स्थानीयदेखि केन्द्रीय सरकारसँग समन्वय पनि गरिरहेका छौं। त्यसैले यसमा मात्रै केन्द्रित छैनौं, अन्य विकल्प पनि अपनाइरहेकै छौं।